संवैधानिक इजलासमा सुवास नेम्वाङले दिएको अभिव्यक्तिको चर्चा
काठमाडाैं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपनेता सुवासचन्द्र नेम्वाङले संसद विघटन सम्बन्धी विषयमा दिएको अभिव्यक्तिले संवैधानिक इजलासमा चर्चा पाएको छ ।
तत्कालिन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको अभिव्यक्ति दिएको भिडियोले इजलासमा चर्चा पाएको हो ।
करिब एक वर्ष अगाडि नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका थिए । उनको उक्त भिडियो अहिले चर्चामा आएको छ । नेम्वाङले भिडियोमा ‘प्रधानमन्त्रीलाई रिस उठ्दैमा संसद विघटन हुँदैन, ठ्याक्कै चुनाव ५ वर्षमा नै हुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम सोमबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले नेम्वाङको भिडियोलाई संसद विघटनको पक्षमा प्रमाणको रुपमा रहेको बताए ।
पोखरेलले बहसका क्रममा भने- ‘मौकामा बोलेको त प्रमाण लाग्छ नि श्रीमान्’, ‘यो कुरा सुवास नेम्वाङले भनेको होइन । संविधान सभाको चेयर पर्सनले भनेको हो ।’
प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले सर्वाोच्चमा निवेदन दायर गरेका थिए ।