उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा
वासिङ्टन, ६ माघ । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् ।
उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् ।
‘मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,’ उनले ट्वीटरमा लेखेकी छन् ।
अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनि उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्ने भएकी छन् ।
सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको उनले बताएकी हुन् । अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०-५० जना सदस्य रहेका छन् ।
ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनिसँगै उनकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । दुवै जनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लागेका छन् । सिन्ह्वा