scheduleबिहिवारफाल्गुन २० गते, २०७७

यसरी तीव्र बन्यो ट्रम्प युगमा अमेरिकाको राजनीतिक क्षय

फ्रान्सिस फुकुयामा

सन् २०१४ को फोरेन अफियर्स मा मैले अमेरिकाको राजनीतिक क्षयको जरो र राजकीय संस्थाहरुको अकर्मण्यताप्रति अफशोस व्यक्त गर्दै लेखेको थिएँ, ‘बौद्धिक जडता र साँघुरो सोच भएका राजनीतिकर्मीहरुको एक संयोजनको कारणले यहाँका संस्थाहरुको सुधार रोकिएको छ । एउटा निक्कै ठूलो राजनीतिक झड्का विना स्थितिमा परिवर्तन आउने कुनै प्रत्याभूति छैन ।’

त्यो वर्ष मलाई लागेको थियो कि बर्नी स्यान्डर्स र डोनाल्ड ट्रम्पले अमेरिकी राजनीतिलाई त्यस्तो झड्का दिनेछन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका दौरान मैले अमेरिकी राजनीतिक क्षयको पक्षलाई पुनर्विचार गरेको थिएँ । मैले मतदातालाई यसरी सोच्न प्रेरित गरेको थिएँ, ‘राजनीतिक रंगावलीको दुवै पक्षमा भएका मतदाताहरुले एक भ्रष्ट र आत्मकेन्द्रित संस्थापन पक्षलाई भन्दा तिनीहरुको खिलाप कुनै त्यो वृत्तभन्दा बाहिरियालाई साथ दिऊन् ताकी शुद्धीकरणको प्रक्रियाले ठाउँ पाओस् ।’

साथै मैले यस्तो चेतावनी पनि दिएको थिएँ, ‘पपुलिष्ट जिहादीहरु यस्तो कार्यका लागि नादान र असहयोगी हुनेछन् । यदि त्यस्ता तत्वहरुले मौका पाए भने स्थिति शुद्धता र स्वस्थतातिर बढ्नुको साटो अझ खराब स्थितिको सामना गर्नुपर्ने हुन सक्दछ ।’ वास्तवमा अमेरिकी मतदाताहरुले त्यस्तै तत्वहरुलाई आत्मसात गरेका थिए, कम्तीमा डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस प्रवेश गराएर ।

र, स्थिति झनझनै नराम्रो हुँदै गयो । राजनीतिक गिरावटको प्रक्रिया यति छिटो र झनझन खराब हुँदै गयो कि त्यसलाई फिर्ता ल्याउने सहजता समेत बाँकी रहेन । अन्ततः त्यो जनवरी ६ को क्यापिटल हिलमाथि भीडले आक्रमण गर्ने स्थितिमा पुग्यो । अमेरिकी राष्ट्रपति आफैंले एक उपद्रो आमन्त्रण गरे ।

फ्रान्सिस फुकयामा

यसबीच यो स्थितिमा कुनै परिवर्तन आएको छैन । यस्तो संकट ल्याउने अन्तर्निहित कारणहरु अहिले पनि जस्ताको त्यस्तै छन् । अमेरिकी राज्य र सरकार केही शक्ति सम्भ्रान्तको वृत्तले कब्जा गरेको छ । उनीहरु राज्यका नीतिहरु आफ्ना हितमा मात्र परिमार्जन गर्दछन् । समग्रतामा शासनको वैधता कायम हुन सकेको छैन ।

अमेरिकी प्रणाली आफैंमा यति कठोर छ कि त्यसले आफूले आफैंलाई सुधार गर्ने क्षमता राख्दैन । दुई अनपेक्षित कुराले यो अवस्थालाई अप्रत्याशित रुपमा झनै खराब बनाइदिएको छन् ।

एक– नयाँ सूचना प्रविधिले लोकतान्त्रिक विवेचनाको आम तथ्यपरक प्रवृतिलाई गायब गरिदिएको छ । अर्को– कुनै समय रातो र नीलो समूहबीच नीतिगत भिन्नताहरु हुन्थे, आज ती सांस्कृतिक पहिचानको आधारमा कठोरतापूर्वक विभाजित छन् ।

सिद्धान्ततः दुवै पक्षका रिस, आक्रोश र विभाजनहरु अमेरिकी सम्भ्रान्त वृत्तद्वारा राज्य कब्जा गर्न सम्भव बनाउने एकताको आधार बनेका छन् । दुर्भाग्यपूर्ण कुरा यसको तारो वा लक्ष्य भने अन्यत्रै छ । वामपन्थी जनाधारका लागि सम्भ्रान्तहरुले पुँजीवादी स्वार्थ समूह र निगमहरु, तेल इन्धन कम्पनीहरु, वालस्ट्रिटका बैंकहरु, ठूलो धनराशी कब्जा गरेका खरबपतिहरु, रिपब्लिकन पार्टीका ठूला चन्दादाताहरुको कुरा उठाउँछन् ।

दक्षिणपन्थीहरुको घातक हमला हलिउडका साँस्कृतिक दलाल, मुलधार मिडिया, विश्वविद्यालय र धर्मनिरपेक्ष तथा बहुसाँस्कृतिक विचार फैलाउने संस्थाहरुमाथि हुन्छ । यस्ता संस्था र तिनका कार्यहरु अमरिकाको परम्परागत क्रिश्चियन मूल्य प्रणालीको विरुद्ध हुन्छ भनिन्छ ।

यसका अतिरिक्त केही साझा चिन्ताहरु पनि छन्, जुन दुवै पक्षले उठाउँछन् । जस्तो कि– भीमकाय हुँदै गएका प्रविधि कम्पनीहरुको डर दुवैतिर छ । नीलाहरु भन्छन् कि फेसबुक र ट्वीटरजस्ता कम्पनीहरुले षड्यन्त्र सिद्धान्त र ट्रम्पिज्मलाई प्रवद्र्धन गर्दैछन् अर्कोतिर राताहरुको आरोप हुन्छ कि यस्ता कम्पनीहरु अमेरिकी परम्परा, संस्कृति र सम्वर्द्धनवादप्रति पूर्वाग्रही छन् ।

अमेरिकी प्रणालीको जडता झनझन प्रष्ट र समस्याग्रस्त हुँदैछ तर यसका आफ्नै मूल्यहरु छन् । अमेरिकी संविधानको व्यवस्था नियन्त्रण र सन्तुलनले अझै काम गरिरहेको छ । ट्रम्पको निरन्तर प्रयासका बाबजुद देशका संस्थागत आधारशिला जस्तो अदालत, कर्मचारीतन्त्र र स्थानीय प्राधिकारहरुले ट्रम्पलाई धेरै खराब कार्यहरु गर्नबाट रोकेका छन् ।

यसको सबैभन्दा प्रष्ट प्रमाण ट्रम्पको सन् २०२० को राष्ट्रपतीय निर्वाचन परिणाम अस्वीकार गर्ने प्रयास हो । ट्रम्पले नै नियुक्त गरेका न्यायधिशहरु हुँदाहुँदै पनि न्यायिक प्रणालीले ट्रम्पका दर्जनौं न्यायिक मागहरु अस्वीकार गरेको छ । जर्जियाका राज्य सचिव ब्राड राफेनस्पेनगरले त्यहाँको निर्वाचन परिणाम उल्टाउन ट्रम्पले दिएको दवाबलाई अस्वीकार गर्दै नायकत्वपूर्ण कार्य गरेका छन् ।

तर, ट्रम्पलाई व्यवधान गर्ने त्यही सन्तुलनले नै अकर्मण्य प्रणालीलाई सुधार गर्ने भविष्यमुखी प्रयासलाई सीमित गर्दछ । रिपब्लिकनहरुले सबैभन्दा बढी फाइदा उठाएको पेचिलो संस्थागत त्रुटी भनेको निर्वाचक मण्डलको प्रणाली र सिनेटको बनौट हो । यी संवैधानिक प्रावधानले रिपब्लिकनहरुलाई लोकप्रिय मत प्राप्त नगरिकन राष्ट्रिय र प्रादेशिक तहमा शक्ति नियन्त्रण गर्ने अवसर दिन्छन् ।

अमेरिकी संविधानमा परिवर्तन जस्तै– निर्वाचक मण्डल हटाउने कुरा सामान्यतया कार्यसूचिमै छैन । संविधान संशोधन पारित र सम्पुष्टिकरणमा अग्ला तगाराहरु छन् । डेमोक्र्याट्सहरुको बिरल बहुमतमाथि रिपब्लिकनहरुको सिनेट भिटो हावी हुने गर्दछ । सामान्य सांसारिक सवाल जस्तो कि मन्त्री नियुक्ति, डिस्ट्रिक अफ कोलम्बियालाई प्रदेशको मान्यता दिने सवाल वा नयाँ मतदाताहरुको भोटिङ अधिकारजस्ता विषयमा समेत उनीहरु भिटो प्रयोग गर्न तयार हुन्छन् ।

जस्तो कि नयाँ आर्थिक स्टिमुलस प्याकेज वा पूर्वाधार संरचनामा खर्चजस्ता आधारभूत र महत्वाकांक्षाहीन कार्यक्रम लागू गर्न समेत निर्वाचित राष्ट्रपति जो बाइडेनले निक्कै ठूलो कौशल र भाग्यको साहारा लिनुपर्ने हुन्छ । संक्रमणकालीन संचरनात्मक सुधारका लागि डेमोक्रेट्सहरुले प्रतिनिधिसभामा प्रस्तुत गरेको प्याकेजको समेत केही अंशमात्र पारित हुन सक्ने छ ।

जस्तो कि सन् २०१६ को मेरो लेखमा मैले उल्लेख गरेको थिएँ– अमेरिकी राजनीतिको आधारभूत अकर्मण्यता नियन्त्रण र सन्तुलन सम्बन्धी संस्था र निकायहरुबीच राजनीतिक ध्रुवीकरण र निरन्तर विभाजनको झगडाबाट उत्पादित गतिरोधअनुरुप क्रियान्वयन हुनु हो त्यसयता ध्रुवीकरण अझै गहिरो र अझै खतरनाक भएको छ ।

विभाजनको एउटा कारण त प्रविधि आफैं बन्न पुगेको छ, जसले मूलधार मिडिया र सरकारबारेकोे सार्वजनिक विश्वास र धारणालाई संस्थागत पद्धतिमा बाँध्न सक्ने क्षमता गुमाएको छ । भर्खरैको एक सर्वेक्षणअनुसार ७७ प्रतिशत रिपब्लिकनहरु सन् २०२० को निर्वाचनमा कुनै ठूलो धोकाबाजी भएको हुनु पर्ने विश्वास गर्दछन् ।

ट्रम्प र उनका निकस्थहरुको एउटा समूहमा निरन्तर अधिनायकवादी सोच बढिरहेको कुरा सत्य हो, यस्तो चर्चा धेरैले गरिरहेकै हुन्छन् तर करोडौं मानिस अझै उनीहरुलाई भोट दिन मन पराउँछन् । ती मानिसले लोकतन्त्र मन नपराएर ट्रम्प र ट्रम्पका अनुयायीहरुलाई समर्थन गरेका हैनन्, बरु उनीहरुको हृदयमा गहिरो गरी के परेको छ भने डेमोक्रेट्सहरुले साँच्चै नै निर्वाचन परिणाम चोरेका हुन्, लोकतन्त्रको रक्षा गर्न ट्रम्पलाई साथ दिन जरुरी छ ।

आधुनिक सूचना प्रविधिको युगमा निर्माण हुन सक्ने यसप्रकारको समस्याको समाधान आउने समयका लागि निक्कै ठूलो चुनौति हुनेछ । जनवरी ६ को क्यापिटल हिल आक्रमणको सेरोफेरोमा ट्रम्पलाई बन्देज गरेर ट्वीटर र फेसबुकले राम्रो काम गरेका थिए । यस्तो निर्णय राष्ट्रिय आपतकालको बेला अल्पकालीन रुपमा बचाउयोग्य हुन सक्दछ । खुलेआम हिंसा आमन्त्रण गर्ने कुरालाई अभिव्यक्ति स्वतन्त्रताको अधिकारबाट भिन्न गर्नै पर्दछ ।

तर, दीर्घकालका लागि कुनै निजी कम्पनीले यस्तो गर्नु वैधानिक अधिकार मान्न सकिन्नँ । अभिव्यक्ति स्वतन्त्रताको अधिकारजस्ता प्रश्नमा कुनै निजी कम्पनीलाई निर्णायक बनाउन सकिन्नँ, र यो सधैँ सार्वजनिक नियमनको विषय नै हुन्छ । यस्ता मञ्चहरुलाई त्यस्तो अधिकार प्रयोग गर्न सक्ने गरी अधिकार दिनु देशका लागि ठूलो भूल हुनेछ ।

फोरेन अफेयर्सको एक लेखमा मैले मेरा दुई सहकर्मी लेखकहरुसँग बीचका कुनै ‘बिषय मोडरेट’ गर्ने निकाय प्रवर्द्धन गर्नुपर्ने प्रस्ताव गरेका छौं । ताकि त्यस्ता मञ्चहरुमा मानिसको अभिव्यक्ति स्वतन्त्रता पनि कुन्ठित नहोस् । प्रयोगकर्ताहरुले सामना गर्नुपर्ने नियन्त्रण र संकुचनबारे निर्णय लिने अधिकार निजी कम्पनीमा नभएर त्यस्ता संस्थाहरुमा होस् । यस्तो प्रयासले षड्यन्त्र सिद्धान्तको गुन्जाइसलाई समाप्त त गर्दैन तर त्यस्ता मञ्चहरुलाई प्रतिकूल लाग्ने कमजोर आवाजहरु दबाउने वा मौन गरिने कार्यहरु भने न्यूनीकरण हुनेछन् ।

दोस्रो विकासक्रम देशको गहिरिँदो विभाजनलाई पहिचानहरुको झगडाको साटो तर्कसम्मत पद्धतिमा ल्याउनु हो । सन् १९९० मा पहिचानमा आधारित ध्रुवीकरण भर्खरै शुरुवात मात्र भएको बेला दुई अमेरिकी खेमामा करका दरहरु, स्वास्थ्य बिमा, गर्भपतन अधिकार, बन्दुक राख्ने अधिकार र अन्तर्राष्ट्रिय मामिलामा अमेरिकी सेनाको प्रयोगबारे विवाद र विमति थिए ।

यी सवालहरुको अहिले पनि अन्त्य भएको छैन । तर, नश्ल, जातीयता, लिङ्ग वा अन्य सामाजिक संकेतक पहिचानहरुको प्रश्न प्रखर भएर आएको छ । राजनीतिक दलहरु राजनीतिक कविलाले हातमा लिएका छन् ।

यो कविलावादको सबैभन्दा धेरै उच्चारण रिपब्लिकन पार्टीमा देखिन्छ । ट्रम्पले यो पार्टीलाई पार्टीका आधारभूत राजनीतिक सिद्धान्तहरु परित्याग गराउँदै सजिलै प्रबन्धन गरे । जस्तै- स्वतन्त्र व्यापार, लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय समर्थन, अधिनायकवादलाई रोक्ने कुरा यस पार्टीका विश्वासहरु थिए । जब ट्रम्पको सनक र आत्मकेन्द्रण गहिरो हुँदै गयो, पार्टी पनि व्यक्ति जस्तै हुँदै गयो ।

ट्रम्पको राष्ट्रपतीय कार्यकालमा रिपब्लिकनहरुले ट्रम्पप्रतिको बफादारितालाई परीक्षाजस्तो बनाए । यदि कसैले थोरै मात्र ट्रम्पको आलोचना गर्यो वा विमति राख्यो भने सजिलै पार्टीबाट बाहिर पर्ने स्थिति बन्यो । पार्टीको राष्ट्रिय सम्मेलनको महत्वलाई समेत अर्थहीन मान्न थालियो ताकी ट्रम्पले जे चाहन्छन्, त्यही हुने अवस्था आयो । यहाँसम्मकी मास्क लगाउनु पर्ने कोभिड–१९ महाव्याधीको सामान्य स्वास्थ्य मापदण्ड समेत राजनीतिक विभाजनको ठूलो मुद्दा बन्न पुग्यो ।

यस्ता व्यापक भौगोलिक तथा जनसांख्यिक विभाजन सन् २०१६ देखि नै सतहमा आइसकेका थिए । जस्तो कि राजनीतिक वैज्ञानिक जोनाथन रोडनले ट्रम्प समर्थक र विरोधी मनोभावनाको जनसांख्यिक घनत्वसँगको सहसम्बन्ध व्याख्या गरिसकेका थिए । महानगर र शहरहरु नीलो हुँदै गएका थिए भने ग्रामिण क्षेत्रहरु रातो हुँदै गए । यो विभाजन सांस्कृतिक मूल्य प्रणालीमा आधारित थियो । यो अमेरिकाको मात्र नभएर संसारका धेरै देशसँग मिल्दोजुल्दो छ ।

तर, अहिले जे चिजहरु भइरहेका छन्, त्यसलाई संरचनात्मक तत्वहरुबाट मात्र विश्लेषण गर्न सकिँदैन । सर्वेक्षणहरुले के देखाउँछन् भने रिपब्लिकनहरु षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने मात्र हैन कि ‘शैतानहरुले उनीहरुको राजनीति र मिडियामाथि कब्जा जमाउँदै गएको’ धारणा राख्नछन् । रिपब्लिकन अब विचार र नीतिहरुमा आधारित राजनीतिक पार्टी मात्र नरहेर एक अन्ध बफादारिताको समूह बन्दैछ ।

कविलावादको भावना वामपन्थीहरुमा पनि छ तर तुलनात्मक रुपमा अलिक कम । पहिचानको राजनीति सन् १९६० र ७० को दशकको वामपन्थी राजनीतिबाटै शुरुवात भएको थियो । पहिचान आधारित राजनीतिक परिचालनको ध्येय नश्ल, जातीयता, लिङ्ग आदि समूहमाथि हुने विभेदका विरुद्ध सकारात्मक विभेदका क्रियाकलापहरुको मागबाट भएको थियो । तर ‘नीलो अमेरिका’ उनीहरुका प्रतिस्पर्धी ‘रातो अमेरिका’ भन्दा धेरै अर्थमा विविधिकृत छन् । बाइडेनको राष्ट्रपतीय शासनकालमा पनि यी मुद्दाहरुले ट्रम्पको रिपब्लिकनमा जस्तै डेमोक्र्याटिक पार्टीभित्र विभाजन बनाउँनेछन् ।

बाइडेनको सपथ ग्रहणपछि देश कतातिर जान्छ, कसैले अनुमान गर्न सक्दैन । पहिलो अनिश्चितता स्वयं रिपब्लिकन पार्टीभित्र छ । ट्रम्प र उनका अनुयायीहरुले जसरी क्यापिटल हिलमा हिंसात्मक हमला गरे सायद त्यसको सार्वजनिक विरोध हुनेछ । राजनीतिकरुपमा ट्रम्पको शासनकाल रिपब्लिकन पार्टीका लागि फलदायी रहेन । सन् २०१७ मा पार्टीसँग राष्ट्रपति र संसदमा बहुमत दुवै थियो । अहिले दुवै छैन ।

तर रिपब्लिकन पार्टीभित्र ट्रम्पको व्यक्तित्व पूजाको प्रवृति पनि कमजोर छैन । तसर्थ रिपब्लिकन पार्टीभित्र पुराना मूलधार रिपब्लिकनहरुले हतार गर्नुको साटो विस्तारै र सुनिश्चिततापूर्वक पार्टी प्राधिकारलाई पुनर्प्राप्ति गर्नेछन् । उनीहरुले पार्टी शक्तिको क्षय नहोस् र पार्टी समीकरण भविष्यका निर्वाचन परिणामका लागि सहयोगी होस् भन्ने कुरा अवश्य विचार गर्नेछन् ।

अर्कोतिरबाट हेर्दा ट्रम्पले पार्टीमाथिको नियन्त्रण कायमै राख्ने सम्भावना पनि छ । उनीले आफूलाई देशका लागि शहीद हुन समेत तयार एक बलिदानी भावनापूर्ण व्यक्तिका रुपमा प्रस्तुत गर्न सक्नेछन् । त्यस्तो बेला रिपब्लिकनभित्र एक अतिवादी, कट्टरपन्थी समर्थकहरु बलियो हुन सक्नेछन् । उनीहरुले बाइडेन प्रशासनलाई काम गर्न नदिन आतंकवादी क्रियाकलाप, हिंसा, सडक प्रदर्शन र हड्तालजस्ता कार्य गर्न सक्नेछन् ।

आगामी दिनमा अमेरिकी भूमिकाको कारण विश्व लोकतन्त्रको प्रवृत्ति समेत प्रभावित हुनेछ । ट्रम्प कार्यकालबाट रुसका पुटिन र चीनका सि जिन पिङजस्ता अधिनायकहरु हस्तान्तरित भएका छन् । अमेरिका आफैं विभाजित, आन्तरिकरुपमै व्यस्त र आफ्नै लोकतान्त्रिक मूल्यहरुप्रति बेमेलको अवस्थामा छ ।

अन्तर्राष्ट्रिय अडानको सवालमा संसदमा एक प्रष्ट बहुमतको साथ बाइडेन निर्वाचित हुनु मात्र अमेरिकाका लागि पर्याप्त छैन । सन् १९५० मा म्याकार्थिज्मलाई जस्तै अहिले ट्रम्पिज्मलाई जरैदेखि उलेखेर फ्याँक्न जरुरी छ । राष्ट्रिय मान्यताहरुमाथि आघात पुर्याएका राजनीतिक सम्भ्रान्त र संस्थाहरुले आफ्नो नैतिक प्राधिकारलाई पुनस्र्थापित गर्न सक्नु पर्दछ । के उनीहरु यो चुनौति सामना गर्न सक्लान्- यसैमा अमेरिका, यसका संवैधानिक संस्था र अझ बढी अमेरिकी जनताको भाग्य निर्भर गर्ने छ ।

(जनवरी १८ को फरेन अफेयर्सबाट साझापोस्टले गरेको संक्षेपीकरणसहितको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay