कृषिमा वैदेशिक लगानी आवश्यक छः कृषि सचिव घिमिरे
काठमाडौं, ६ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताएका छन् ।
सर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि वैदेशिक लगानी आवश्यक हो वा होइन भन्ने चर्चा चलिरहेकै अवस्थामा सरकारको तर्फबाट सो धारणा राखेका हुन् । एशोसिएशन अफ नेपाली अग्रीकल्चर जर्नालिस्ट्स (अनाज) र राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालले काठमाडौँमा आयोजना गरेको बहस कार्यक्रममा प्रवक्ता घिमिरेले सम्बन्धित सरोकारवालासँग यथेष्ट बहस र गृहकार्यपछि मात्र वैदेशिक लगानी भित्र्याइने जानकारी दिए ।
सरकारले डेरी उद्योग, पशुपन्छी, मत्स्य, तथा मौरीपालन, फलफूल, तरकारी र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) खुला गर्ने निर्णय पुस २० गतेको नेपाल राजपत्रमा प्रकाशित गरेको छ । सचिव घिमिरेले मुलुकको आर्थिक क्षेत्रमा एक तिहाइ कृषि क्षेत्रको योगदान रहेको भन्दै राज्यले प्रत्याप्त बजेट छुट्टाउन नसकेको तर्क गरे ।
कार्यक्रममा डेरी उद्योग सङ्घका महासचिव प्रह्लाद दाहाल, राष्ट्रिय किसान आयोगका प्रवक्ता रवीन्द्र केसी, गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, नेपाल उद्योग वाणिज्य महासङ्घ वस्तुगततर्फका संयोजक अरनिको राजभण्डारीले बहुसङ्ख्यक किसानको हितमा हुने गरी वैदेशिक लगानी भित्र्याउनुपर्ने बताएका छन् ।