बाइडेनको शपथ समारोह आज, २० हजार सेना सुरक्षाका लागि तैनाथ
काठमाडाैं, ७ माघ । अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज जो बाइडेनले शपथ ग्रहण गर्न लागेका छन् । ७८ वर्षका बाइडेनले स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोहमा शपथ ग्रहण गर्नेछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नवनिर्वाचित राष्ट्रपति बाइडेनले मात्र ३५ शब्दको शपथ ग्रहण गर्नेछन् ।
यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य नहुने बताइएको छ । यसपटकको समारोहमा एक हजारदेखि १२ सय जनासम्म मानिसहरु मात्रै सहभागी हुनेछन् । यसपटकको अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा अन्य वर्षको भन्दा कडा सुरक्षा निगरानीमा हुन लागेको छ । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारे पनि सहज रूपमा स्वीकार गर्न नसक्दा उनका समर्थकहरुले विरोध प्रदर्शन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी यसपटक विशेष सुरक्षा तयारी गरिएको छ ।
यसअघि अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकहरुले आक्रमण गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो । सोहि घटनालाई ध्यानमा राखी शपथ समारोहका लागि अमेरिकी संसद् भवनको सुरक्षाका लागि २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् ।