ह्वाइटहाउसबाट विदाई हुँदै ट्रम्प, बाइडेनलाई दिए सफल कार्यकालको शुभकामना
काठमाडाैं, ७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भवनबाट विदाई हुन लागेका छन् । आफ्नो विदाई सम्बोधनको क्रममा उनले आजदेखि नयाँ प्रशासनलाई सत्ता सुम्पिँदै विदाई हुन थालेको उनले बताए ।
एक भिडियो सन्देशमार्फत् उनले आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको उल्लेन गरेका छन् । ट्रम्प चार वर्षे कार्यकाल पूरा गरी आज ह्वाइटहाउसबाट विदा हुन लागेका हुन् । ट्रम्पले नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न बनाउन सफल होस् भन्ने कामनासमेत गरे ।
छोटो सम्बोधनका क्रममा उनले आफ्नो चार वर्षे कार्यकालका उपलब्धीबारे पनि संक्षिप्तमा जानकारी गराए । सहयोगी राष्ट्रहरुलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गरेको, बलियो कूटनीतिका कारण मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौता गरेको र कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएको भन्दै उनले यसमा आफूलाई गौरव महसुस भएको पनि बताए ।