scheduleआइतवारफाल्गुन १६ गते, २०७७

ट्रम्पको त्यो फूर्ति, यो नियति

नारायण पौडेल

‘वासिङटन तेस्रो कार्यकालका लागि मसँग चुनाव लड्ने भए उनीपनि मसँग हार्थे । मेरो अप्रुभल रेटिङले आकाश चुम्दै थियो । यहीबेला यो चाइनिज भाइरस आयो । यो भाइरस ठेगान लाग्नेछ । फेरि अमेरिका महान बन्नेछ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिना पहिले दिएको अभिव्यक्ति हो यो । राष्ट्रपिताकारुपमा अति पूज्य वासिङटनसँग आफूलाई तुलना गर्ने दुस्साहस सायदै कोही अमेरिकन राजनीतिज्ञले कहिलै गरेको होस् । तर, ट्रम्प सजिलै गर्दिन्थे । ट्रम्प आफ्नो कार्यकालमा भएका प्रगतिका सूची प्रस्तुत गर्थे । र, भन्न छुटाउँदैनथे–इतिहासमा यस्तो कहिलै भएको थिएन ।

तर, ट्रम्पलाई पराजित गर्न स्वर्गवासी वासिङटन आउनुपरेन । ट्रम्पकै शब्दमा लुते बाइडन नै उनलाई तह लगाउन काफी भए । ४ वर्षे कार्यकालमा ट्रम्पले सानाठूला गरी तीस हजार झूट बोलेको बताइन्छ । सबैभन्दा सफेद झूट उनले आफू पराजित भएपछि बोले । आफैँले गराएको निर्वाचनमा आफू विरुद्ध धाधली भएको, नक्कली मतपत्रमार्फत बाइडनलाई बिजयी बनाइएको रटान लगाइरहे । रिपब्लिकन पार्टीको सरकार रहेका राज्यको मत परिणाम उल्टाउन अनेक तिकडम गरे । आफूप्रति बफादार तीन न्यायाधीश नियुक्त गर्न सफल ट्रम्प अदालतबाट आफ्नो पक्षमा निर्णय हुने आशामा थिए । सेटिङबाटै संवैधानिक प्रावधान मिल्काउन सकिने उनको आशामा तुषारापात भयो । ट्रम्पका तर्फबाट निर्वाचन परिणाम उल्टाउने आशयका साथ दायर गरिएको रिट सर्वोच्वले खारेज गरिदियो ।

निर्वाचन परिणाम अस्विकार गरेसँगै ट्रम्प राजनीतिकरुपमा एक्लिदै गएका थिए । उनका महान्याधिबक्ता विलियम बारले निर्वाचनमा धाँधली नभएको सार्वजनिक वक्तव्य दिए र पदबाट बिदा भए । एकपछि अर्को रिपब्लिकनले बाइडेनलाई बधाइ दिए । सबैतिरबाट निर्वाचन परिणाम उल्टाउने प्रयास असफल भएपछि ट्रम्पले उपराष्ट्रपति पेन्सलाई मोहरा बनाउने जुक्ति निकाले ।

नारायण पौडेल

बहालवाला उपराष्ट्रपतिको अध्यक्षतामा बस्ने सिनेटको बैठकले राष्ट्रपति निर्वाचनको परिणामलाई प्रमाणिकरण गर्दछ । चार वर्षसम्म आफूप्रति बफादार रहेका उपराष्ट्रपति पेन्सलाई ट्रम्पले सार्वजनिकरुपमा आह्वान गरे– पेन्सले राज्यबाट आएको मत परिणाम पुनः रुजु गर्न राज्यमा फिर्ता गरिदिनुपर्छ, बाइडेनलाई कुनै हालतमा विजयी घोषित गरिनु हुँदैन ।

पेन्स ट्रम्पले तय गरेको बाटो हिड्न तयार भएनन् । उनले संसदलाई चिठी लेखेरै भने–मत परिणाम उल्टाउने अधिकार आफूसँग छैन । निर्वाचन मत परिणामको प्रमाणिकरण नियमित प्रक्रियाअनुसार नै हुनेछ ।

रिसले चूर भएका ट्रम्पले आफू समर्थकलाई प्रमाणिकरण रोक्न समर्थकलाई आह्वान गरे । पेन्सको अध्यक्षतामा सिनेटको बैठक बस्ने दिन अर्थात जनवरी ६ का दिन दशौँ हजार ट्रम्प समर्थक वासिङटन डिसीमा भेला भए । ह्वाइटहाउस अगाडि जम्मा भएका समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भनिदिए- जानुहोस् क्यापिटल हिल (सिनेट हल) र न्वारनदेखिको बल लगाएर अन्तिम लडाइ लड्नुहोस्, जितिएको निर्वाचन लुटिनबाट जोगाउनुहोस् ।

त्यसपछि के भयो जगजाहेर छ । २०२४ मा पुनः उम्मेदवार भइ ह्वाइटहाउस फर्किने ट्रम्पको सम्भाबना लगभग सकिएको छ । सिनेटबाट महाअभियोग प्रमाणित हुने र पूर्वराष्ट्रपतिका रुपमा प्राप्त हुने बिरासत गुमाउने सम्भावना छ । दर्जनौं प्रकृतिका छानबिन र मुद्दामामिला गुजार्दैमा ट्रम्पको बाँकी जीवन व्यतित हुने बताइन्छ ।

असफल कूको प्रयाससँगै ट्रम्प अमेरिकी इतिहासको अर्को पाटो भएका छन् । दुई पटक महाअभियोग लाग्ने एकमात्र राष्ट्रपतिको इतिहास रचेका उनी पदबाट बाहिरिएसँगै जेलसमेत पर्न सक्ने विश्लेषण हुँदै आएको छ ।

ठीक यहीबेला एउटा प्रश्न धेरैको मानसपटलमा उब्जिएको छ- वासिङटनको ठाउँमा ट्रम्प अमेरिकाकोसंस्थापक राष्ट्रपति भइदिएको भए अमेरिकी राजनीति के हुन्थ्यो होला ?

बेलायती उपनिवेशबाट अमेरिका स्वतन्त्र भएपछि मुक्ति सेनाका प्रमुख जर्ज वासिङटन जे बन्नपनि सक्थे । इतिहासकारहरुका अनुसार स्वयंलाई राजासमेत घोषणा गर्न सक्ने शक्ति उनमा निहित थियोे । तर, उनले राजनीतिबाट अवकाश लिने र पुख्यौली खेतीपाती गरेर शान्त जीबन जिउने ईच्छा व्यक्त गरे । अमेरिकाको भविष्य कसरी अगाडि बढाउने भन्नेबारे धेरै कोणबाट छलफल भयो । जताबाट छलफल गरेपनि वासिङटनले नेतृत्व नगरी अमेरिकी मनोविज्ञानलाई एकढिक्का पार्न नसकिने निष्कर्षमा संस्थापक नेताहरु पुगे । वासिङ्टन सन् १७८९ मा सर्बसम्मत अमेरिकाको पहिलो राष्ट्रपति भए ।

अमेरिकी संविधान लेखनका बखत वासिङटनलाई केन्द्रीत गरी विभिन्न प्रावधान राख्न खोजियो । अलेक्जेन्डर ह्यामिल्टनले राष्ट्रपति जीवनभर बन्न पाउने प्रस्ताव गरे । जोन एडम्सले राष्ट्रपतिलाई महाराजधिराज भनेर सम्बोधन गर्नुपर्ने सुझाए । व्यक्ति हेरेर संविधान बनाउने कुराप्रति वासिङटन सहमत भएनन् । हिज म्याजेस्टीका ठाउँमा राष्ट्रपतिलाई मिस्टर भनेपुग्ने विधि बसाले । मन्त्रीपरिषद्मा विपरित खेमाका प्रतिनिधित्व गर्ने ह्यामिल्टन र टामस जेर्फसनजस्ता विद्धानलाई समावेश गरे ।

पहिलो कार्यकाल सकिनै लाग्दा वासिङटनले राजनीतिबाट सन्यास लिने तयारी थाले । बिदाइ मन्तब्य पनि तयार भइसकेको थियो । तर, समकक्षी सबैले अबिभाज्य अमेरिकाका लागि भन्दै अनुनय गरेपछि दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन उनी राजी भए ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएका राज्यहरु मिलाएर बनेको सयुक्त राज्य अमेरिकाले गणतन्त्रात्मक संघीय राज्य प्रणाली अबलम्बन गरेको थियो । राजतन्त्रात्मक बेलायतमा अमेरिकी कदमका बारे विषेश चासो हुने नै भयो । राजा जर्ज तेस्रो वासिङटनबारे विभिन्न कोणबाट जानकारी लिइरहन्थे । अमेरिकी कलाकार वेन्जामिन वेष्टले राजालाई सुनाए- वासिङटन अब राजनीतिबाट बिदा भइ खेतिपातीमा लाग्छन् । अविश्वास गरेको शैलीमा जर्ज तेस्रोले उद्षोष गरे- त्यसो गरे उनी विश्वकै महान कहलिने छन् ।

संविधानले रोकेको थिएन, प्रतिष्प्रर्धी कोही थिएन । तर, सत्ताका लागि सर्वस्विकार्य वासिङटनले तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न इन्कार गरे । आठ बर्षसम्म देशको नेतृत्व गरेका वासिङटन १७९७ मा राजधानी नजिकैको पुख्यौली माउन्ट वेर्ननमा किसानका रुपमा फर्किए । खेतीपातीमा सक्रिय भएकै बखत उनको १७९९ को डिसेम्बरमा निधन भयो ।

वासिङटनको पदचापलाई उनीपछिका राष्ट्रपतिले अनुशरण गरे । जस्तै लोकप्रिय भएपनि तेस्रो कार्यकालका लागि राष्ट्रपति हुने लालचा देखाएनन् । वासिङटनले नगरेको काम मबाट हुन्न भन्दै पन्छिए । राष्ट्रपतिबाट बिदा भएपछि राजनीतिक दाउपेचमै रहलिने भन्दा पुख्यौली वा आफूले विगतमा गर्दै आएको व्यवशाय गर्ने थिति बस्यो ।

अमेरिकी इतिहासमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुने एकमात्र व्यक्ति हुन्–रुजभेल्ट । दोस्रो विश्वयुद्ध र अमेरिकाको गन्जागोल स्थितिलाई कारण देखाउँदै रुजभेल्ट चौथो कार्यकालसम्म राष्ट्रपति भए । सोसँगै अमेरिकामा बहश सशक्तरुपमा छेडियो । र, दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने गरी संविधान संशोधन गरियो ।

संविधानका अक्षरभन्दा पनि संविधान निर्माताका आशयले अर्थ राख्छन् । संविधानको कार्यान्वयनमा संविधान निर्माणकर्ताको कथनी र करणीले दीर्घकालसम्म प्रभाव पार्दछ ।

अमेरिकामा आजपनि संविधानमा प्रष्ट नलेखिएका कतिपय सवाल खडा भएमा संस्थापकको आशय के थियो भन्ने लेखाजोखा गर्ने प्रचलन छ । झण्डै सवा दुई सय बर्ष अघिको आशयले आजको उत्तराधुनिककाललाई डोर्‍याउने गर्दछ । राजनीति साझा मैदान हो । अनेक प्रवृत्ति र पात्र आउँछन् जान्छन् ।

आशन र शासन उही भएपनि पात्र र प्रवृत्तिको योगदान र लेखाजोखा उही हुँदैन । उदाहरणका लागि सबैले कर गर्दागर्दैपनि राष्ट्रपति छाडेर कृषि कर्ममा लाग्ने वासिङटन र पराजित भएरपनि कु गर्न तम्सिने ट्रम्पलाई हेरे पुग्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay