सरकार निर्वाचनको तयारीमा जुट्यो, निर्धारित मितिमै चुनाव हुन्छ : मन्त्री ठगुन्ना
काठमाडाैं, ७ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने दावी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको समेत बताए । उनले निर्वाचनमा सहभागी हुन आग्रह पनि गरे ।
भौतिक पूर्वाधारका थुपै कार्यक्रमहरु खानेपानी, विजुलीलगायत अभियानका कार्यक्रमहरु समावेशीकरण, उपेक्षित, अपांग, असहाय, एकल महिलादेखि वृद्धाहरुको सेवा सुविधाको बारेमा सरकारले आफ्नो कार्यक्रम अघि बढाउदै लगेको उनले बताए ।
ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तिव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको पनि मन्त्री ठगुन्नाले बताए ।
बलियो सरकार, स्थिर सरकार, प्रगतिशील सरकार आफ्नो सार्वभौमसत्ता रक्षा गर्नको लागि सक्षम हुने उल्लेख गर्दै वर्तमान सरकार नेपालको भौगोलिक अखण्डता रक्षा गर्न पनि सक्षम भएको धारणा राखे।
उनले अहिले सरकारको विरुद्धमा सडकमा जानुपर्ने अवस्था नै नभएको जिकिर गरे । वर्तमान सरकारले सिमामा सरक्षाको राम्रो प्रबन्ध गरेको पनि उनको भनाई छ ।