scheduleमगलवारफाल्गुन २५ गते, २०७७

ओलीको चुनाव विषको घैंटोमा अलकति अमृत हालेर पिउन दिएजस्तैः डा. भट्टराई

कैलाली, ७ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले घोषणा गरिएको चुनाव विषको घडाको मुखमा अमृत राखेर पिउन दिएजस्तै भएको बताएका छन् ।

संसद विघटनका विरुद्धमा जसपाद्वारा बुधबार देशका ७७ वटै जिल्लामा आयोजित जनसभा अन्तर्गत टिकापुरको जनसभालाई सम्बोधन गर्दै डा. भट्टराईले उक्त टिप्पणी गरेका हुन् ।

सम्बोधनको क्रममा उनले कांग्रेसलाई भने, ‘अब चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस नै पहिलो पार्टी हुन्छ र सरकार चलाउँछ भन्ने भ्रममा कांग्रेस नपरोस् ।’

उनले ओलीको सर्वसत्तावाद सासन कायम गर्नका लागि चुनावको घोषणा भ्रम मात्रै रहेको स्पष्ट पारे । ‘हिजो ज्ञानेन्द्र साहले पनि चुनाव घोषणा गरेका थिए । त्यो चुनाबमा तपाई हामीले भाग लिएनौं, पञ्चायतले पनि चुनाव घोषणा गरेको थियो हामीले भाग लिएनौं ,’ उनले भने, ‘यो चुनाव त विषको घैटामा माथि अलिकति अमृत राखेर पिएजस्तो केपी ओलीले आफूलाई सर्वसत्तावादी सासन कायम गर्ने हो । चुनाव त एउटा भ्रम मात्रै हो ।’

डा. भट्टराईले न्यायालयको सम्मान तथा आस गर्नुपर्ने भए पनि यसको ढाँचा परम्परावादी र प्रक्रियामुखी रहेकोले सत्य र न्यायको पक्षमा फैसला हुन्छ भन्ने ढुक्क रहन नसकिने टिप्पणी गरे ।

उनले भने, ‘त्यहि खबरदारी गर्नको निम्ति अनि सर्वोच्च अदालतका न्यायाधीशको कानमा पार्नका निम्ति पनि हामीले यो कार्यक्रम गरेका हौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भने, ‘हामी जनप्रतिनिधिहरु बसेर यो संविधान हामीले बनाएको हो । हामीलाई थाहा छ, संविधानका परिकल्पनाकार, मस्यौदाकार र संविधान समितिको सभापति भएकोले मलाई एक/एक अक्षर थाहा छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay