scheduleआइतवारफाल्गुन १६ गते, २०७७

बाइडेनले अमेरिकी राष्ट्रपति पदको शपथ लिए

एजेन्सी, ८ माघ । अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा निर्वाचित जो बाइडेनले बुधबार शपथ लिएका छन् । अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जीत हात पारेका बाइडेनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले शपथग्रहण गराएका हुन् । शपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण शपथग्रहण समारोहमा सीमित व्यक्तिलाई मात्र प्रवेश दिइएको थियो भने दुई साताअघि भएको हिंसात्मक प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

यसपटकको शपथग्रहण समारोह भने यसअघिको भन्दा फरक देखिएको थियो । समारोहमा पदमुक्त भएका डोनाल्ड ट्रम्प सहभागी भएनन् । ट्रम्पले यसअघि नै यो समारोहमा सहभागी नहुने घोषणा गरिसकेका थिए । आगामी राष्ट्रपतिको शपथग्रहणमा सहभागी नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । पछिल्लो १५० वर्षको इतिहासमा भने उनी पहिलो राष्ट्रपति हुन् ।

बुधबार भएको शपथ ग्रहण समारोहमा लेडी गागाले अमेरिकाको राष्ट्रिय गान गाएकी थिइन् । जेनिफर लोपोजले पनि सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पछि पार्दै बाइडेन विजयी भएका थिए । उक्त निर्वाचनको नतिजामा ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए । तर ट्रम्पका समर्थकहरूको विरोधका बाबजुद अमेरिकी संसदले बाइडेनलाई विजयी घोषणा गरेको थियो ।

बाइडेनभन्दा पहिला उपराष्ट्रपतिमा कमलादेवी ह्यारिसले सपथ लिएकी थिइन् । ह्यारिस अमेरिकाको पहिलो महिला एव‌ं अश्वेत उपराष्ट्रपति हुन् ।

शपथग्रहण समारोहमा बोल्दै बाइडेनले यो दिन अमेरिकाको लागि इतिहास र आशाको दिन रहेको बताए । उनले आफू सबैको राष्ट्रपति बन्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले अहिले अमेरिकाले सामना गरिरहेको समस्या सबै मिलेर समाधान गर्ने बताए ।

उनले आफूले राष्ट्रपतिको रूपमा सकेसम्म राम्रो काम गर्ने बताए । उनले संविधान, प्रजातान्त्रिक पद्धति र अमेरिकाको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay