scheduleआइतवारफाल्गुन २३ गते, २०७७

ट्रम्प बहिर्गमनको विश्व-सन्देशः लोकतन्त्रको अपराजयता कायमै छ

साझापोष्ट सम्पादकीय

आखिर डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्नै पर्‍यो । जतिसुकै अनिच्छा भए पनि, जस्तोसुकै उपद्रो मच्चाए पनि शान्तिपूर्ण सत्ता हस्तान्तरणको करिब २५० वर्ष लामो परम्परा उनले टार्न सकेनन् । बुधबार बिहान उनी ह्वाइट हाउसबाट निस्किए । भलै कि नयाँ राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण कार्यक्रममा उनी बसेनन् ।

तर, ट्रम्प कार्यक्रममा सामेल नहुँदैमा बाइडेनको सपथ ग्रहण र सत्ता हस्तान्तरण प्रक्रिया रोकिएन । अमेरिकी कर्मचारीतन्त्रले संविधान, राष्ट्र, नागरिक र लोकतन्त्रप्रतिको दायित्व पुरा गर्‍यो । ट्रम्पको उदयसँगै अमेरिकी लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष शान्तिपूर्ण सत्ता हस्तान्तरणमा कुनै समस्या आउने हो कि भन्ने जुन विश्वव्यापी आशंका थियो, त्यसो भएन । अमेरिकी लोकतन्त्र र संविधानवादको परम्परा सामु ट्रम्पले घुँडा टेक्नै पर्‍यो । अमेरिकी ‘अपवादवाद’ (एसेप्सनालिज्म) को अपराजित परम्परा कायमै रह्यो ।

अमेरिकी लोकतन्त्रको इतिहासमा ट्रम्पको जतिको खराब शासनकाल सायदै कुनै राष्ट्रपतिको थियो । विश्वस्तरमा उनी उत्तिकै बदनाम रहे । तथापि ट्रम्प सर्वाधिक मत प्राप्त गर्ने पराजित उम्मेदवारको रेकर्ड कायम राख्न सफल भए । अमेरिका जस्तो देशको इतिहासमा ट्रम्पजस्ता राष्ट्रपतिको उदय किन भयो ? यसको ‘दिक–काल सम्बन्ध’ के थियो ? जाँदाजाँदै फेरि ट्रम्पले कसरी ७ करोड ५० लाख लोकप्रिय मत हासिल गर्न सके ? उनको खराब र बदनाम छविका बाबजुद त्यति धेरै अमेरिकी मतदाताले उनलाई किन पत्याए ? यी निश्चय नै विश्लेषण योग्य प्रश्नहरू हुन् ।

भनिन्छ– पात्र र प्रवृति, इतिहास र व्यक्तिको सम्बन्ध द्वन्द्वात्मक हुन्छ । विना पात्र प्रवृति प्रकट हुन सक्दैन । ठीक त्यसै गरी विना प्रवृति पात्रको उदय हुन सक्दैन । विना इतिहास व्यक्तित्व बन्दैन । विना व्यक्तित्व इतिहास प्रकट हुँदैन ।

ट्रम्पको उत्थान र पतनमा पनि यो नियमले काम गरेको हुनु पर्दछ । ट्रम्पको जुन सनकी, झोक्की, हक्की, अहंकारी र आत्मकेन्द्रित स्वभाव थियो सायद इतिहासले पनि त्यस्तै पात्र खोजिरहेको थियो । छोटो समयका लागि किन नहोस् अन्यथा ट्रम्पको व्यक्तित्व इतिहासका लागि स्वीकार्य हुने थिएन । तर इतिहासको एक सानो कालखण्डमा लागि खलपात्रका रुपमा ट्रम्पले इतिहासलाई जुन गति दिए, त्यो उनको व्यक्तित्वको विशिष्ठता पनि हो ।

भनिन्छ– पहिलो विश्वयुद्धको पीडाले फासीवाद र मुसोलिनी, नाजीवाद र हिटलर जन्मेका थिए । उनीहरूले मानव जातिको आधुनिक इतिहासमा जुन क्षति पुर्‍याए, त्यो सायदै विस्मरणीय हुनेछ । निश्चय नै ट्रम्पले पनि थुप्रै क्षति गरे, तर मुसोलिनी र हिटलरको तहमा इतिहासले उनले उनलाई पत्याएन । ट्रम्पका इच्छाहरू के के थिए, कुन हदसम्म उनी जान चाहन्थे, त्यो आफ्नो ठाउँमा छन्, तर अन्ततः उनी लोकतन्त्रले निर्धारित गरेको एउटा सीमाभित्र बस्न बाध्य भए । कयौं खराबीका बावजुद लोकतन्त्र कम खराब प्रणाली हो भन्ने चर्चिलको भनाई फेरी एकपटक पुष्टि भयो ।

ट्रम्पको उदय यथार्थमा सन् १९९० पछिका नवउदारवादी खराबीहरूको सञ्चिती थियो । सन् १९९० को दशकमा सोभियत संघ र पूर्वी युरोपको पतनपछि जुन ‘उदार लोकतन्त्रको दिग्विजय’ को डंका पिटियो, त्यो यथार्थभन्दा बढी भावावेशपूर्ण थियो । नवउदारवादले सञ्चित गरेका खराबीहरूले सन् २०१० तिर आइपुग्दा अझ दक्षिणपन्थी मोड लिए, ट्रम्प त्यसैका सह–उत्पादन थिए ।

सोभियत संघको पतन भएर भ्लादिमिर पुटिन, पूर्वी युरोपको पतन भएर भिक्टर अर्वान वा लुकाशेन्कोजस्ता नयाँ तानाशाहहरूको उदय हुनु कुनै अर्थमा पनि लोकतन्त्रको दिग्विजय थिएन । लोकतन्त्रलाई केवल चुनावका रुपमा मात्र हेर्ने कि राजनीतिक प्रवृतिहरूको मानवीयकरणको मापदण्डबाट पनि हेर्ने त्यो प्रश्न कायमै थियो । सन् २०१० को दशकपछि विश्वव्यापीरुपमा उदय भएको नवफासीवादको चरित्र मानवीय थिएन, भलैकी त्यो निर्वाचित थियो ।

नवउदारवादी भूमण्डलीकरणका पक्कै केही दोषहरू थिए । विश्व आप्रवासन तीव्र भएको थियो, जसले रैथाने समुदायहरूमा भय र राष्ट्रवादको भावना बढेको थियो । सूचना–प्रविधिले सूचनामाथिको पहुँचलाई बढाएको थियो तर गम्भीर मूल्य बोध र सौन्दर्यकेन्द्रित विश्लेषण र ज्ञान उत्पादन प्रक्रिया कमजोर भएको थियो । सुविधाको दृष्टिकोणबाट मानिसको जीवनस्तर उस्किदै गएको थियो तर आर्थिक असमानता र मानसिक तनाव उत्तिकै बढेको थियो ।

विश्वव्यापार संगठनजस्ता नयाँ संस्थाहरू उदित भएका थिए तर त्यसको लाभ साना र अल्पविकसित देशहरूलाई भन्दा उदयमान आर्थिक शक्तिहरूलाई पुगेको थियो । मानिसका भाषिक साँस्कृतिक पहिचानहरू निरन्तर अतिक्रमित भएका थिए, जसले नश्लीयतामा आधारित बर्चश्वको भावनालाई तीव्रत्तर बनाएको थियो ।

यही ‘दिक’ ले नयाँ ‘काल’ लाई जन्म दियो, जसलाई राष्ट्रवादको युग वा नवफासीवादको युग भन्न सकिन्छ । ट्वीटर र फेसबुकजस्ता ‘माइक्रो ब्लग’ कम्पनीहरूले मानव जीवनका सर्वाङ्गिक पक्षहरूलाई भन्दा कुनै एक पक्ष आधारित सूचना र विचारलाई तीव्रता दिए । मानव मनोविज्ञान एकांकी हुँदै गयो । ट्रम्पको उदयमा जतिधेरै फेसबुक र ट्वीटरको भूमिका थियो, सायदै विश्वमा यी वेब ब्लगहरूको त्यतिधेरै प्रयोग अरु कसैले गरेको होस् ।

विचारधाराको सन्तुलन कायम हुन आम सोचको सन्तुलन कायम हुनुपर्दछ । मानिसहरू एकाङ्की र तनावग्रस्त हुँदै जाँदा समाज र राष्ट्रहरू मात्र सन्तुलित भइरहन सम्भव थिएन ।

उदारीकरणसँगै आएका निजीकरण र उदारीकरणको वृहत्त आयामबारे सोच्ने फुर्सद कसैलाई थिएन । एकातिर बर्चश्ववादी सोच बढदै थियो अर्कोतिर प्रतिरोध आन्दोलनका रुपमा प्रतिबर्चश्ववादी सोच उत्तिकै तीव्र थियो । साँचो अर्थको समावेशी, सहभागितामूलक, समन्यायिक र सामञ्जस्यतापूर्ण समाज निर्माण गर्ने प्रयत्नहरू कमजोर भएका थिए ।

भूमण्डलीकरण वा स्थानीयकरण एकअर्काका बिल्कुल प्रतिस्थापक अवधारणा थिएनन् । बरु यी दुईबीच एक गतिशील सन्तुलनको आवश्यकता थियो । सन् १९९० पछिको करिब २ दशकले स्थानीयकरणको मर्म र भावनालाई बेवास्ता गर्‍यो र एकहोरो भूमण्डलीकरणमा जोड दिन थाल्यो, जसले दुर्भाग्यपूर्ण क्षण निम्त्याउनु स्वभाविक हुन्थ्यो ।

यद्यपि काला र गोराको द्वन्द्व अमेरिकी समाजमा नयाँ थिएन । यो अमेरिकाको स्थापनाभन्दा पुरानो समस्या हो । अमेरिकी आदिवासीहरूमाथि दमन र अफ्रिकीमूलका काला जातिहरूको शोषण गरेर अमेरिकी सभ्यता, वैभव र गौरवको आधारशीला खडा भएका थिए । भूगर्भमा रहेका प्लेटहरू खजमजिँदा धर्तीमा भूकम्प गएजस्तो जगमा रहेका आधारशीलाहरू खजमजिँदा राष्ट्रमा भूकम्प जानु अस्वभाविक हुँदैनथ्यो ।

तर भूमण्डलीकृत अमेरिकामा काला र गोराको मात्र प्रश्न आज छैन । ब्ल्याक र ह्वाइटसँगै त्यहाँ अर्को कलरको जन्म भइसकेको छ, जसलाई ‘ब्राउन’ भन्ने गरिन्छ । अमेरिकी समाजका लागि एशियन, चिनियाँ, हिस्पानिक आदिहरू न त काला हुन न त गोरा । ‘ब्राउन’ हरूको एउटा भिन्नै संसार त्यहाँ बन्दै थियो, जो गोरा सर्वोच्चताको खिलाफ थिए र बर्चश्ववादका विरुद्ध लड्न कालाहरूसँग सहकार्य गर्न इच्छुक र आतुर थिए । जो बाइडेन र कमला ह्यारिसको जीतमा ह्वाइट, ब्लाक र ब्राउनहरूको एक साझा र समावेशी चरित्र प्रकट हुन्छ ।

अमेरिकामा मात्र हैन, सन् २०१० पछि राष्ट्रवादको नाममा नश्लवाद, नवफासीवाद व बर्चश्ववाद एक नयाँ ‘फेनोमेना’ बनेका छ । त्यसको प्रतिरोधमा समावेशिताको अर्को मनोविज्ञान तयार भएको छ । बर्चश्ववाद विरुद्ध समावेशिता र आत्मसम्मानको लडाई विगत दशकको मुख्य चरित्र बनेको छ । यो लडाईमा ट्रम्पको हारबाट बर्चश्ववाद कमजोर भएको र समावेशिताको सोच फेरि एकपटक हावी भएको अर्थमा लिन सकिन्छ ।

एकल राष्ट्रिय राज्यको सोच अहिले विश्वव्यापी रुपमा संकटमा परेको छ । चीन जस्तो एकछत्त हान साम्राज्यमा समेत उइगुर, तिब्बत र इनर मंगोलियाका समस्याहरू छन् । सन् १९९० पछि इथियोपिया, नाइजेरिया, बेल्जियम, नेपाललगायत कयौं देशहरू विविधतालाई आ-आफ्नै प्रकारले स्वीकार गर्दै संघीयकरण भएका छन् । यो यथार्थलाई समेत आत्मसात गर्ने हो भने ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ जस्ता अवधारणाहरू उदय हुनु कुनै आश्चर्य थिएन ।

अमेरिकाका ट्रम्प, भारतका मोदी, रुसका पुटिन, हंगेरीका अर्वान, टर्कीका एर्गोगान, ब्राजिलका बोल्सोनारो वा चीनका सि जिन पिङ उपरोक्त ‘दिक’ भन्दा बाहिरका ‘काल’ थिएनन् । तथापि उनीहरूले आफ्नै व्यक्तित्वबाट आफ्नै समय निर्माण गरे । उनीहरूलाई कसैले माया गरेर त्यहाँ पुर्‍याएको हैन । ती आफै दौडिएर गएर ती देशको सत्ताको टुप्पोमा बसेका पनि हैनन् । यी सबै आ-आफ्नो देशको राजनीतिक प्रणाली, प्रक्रिया, संविधान र समाजको मनोविज्ञानसँग एकाकार भएर उदित भए ।

ट्रम्पको ‘पपुलिज्म’ र ‘डेमागोजी’ प्रारम्भमा धेरैलाई प्रेरणाको बिषय बन्यो । कुनै नयाँ प्रवृति उदाउँदै गर्दा मानिसमा आशा जाग्नु स्वभाविक थियो । राजनीतिक जीवनको प्रारम्भमा मुसोलिनी र हिटलरले पनि जनसमुदायमा ठूलो आशा सृजना गरेका थिए । गलत आशाहरू त्यतिखेर मात्र निराशा र वितृष्णामा परिणत हुन्छ जब त्यसले खराब र अनपेक्षित परिणाम सामुन्ने ल्याउँछ ।

ट्रम्पको बर्हिगमनले समकालीन विश्व प्रवृतिका यी आयामहरू केही कमजोर भएका छन् । तर पूर्णत पराजित भएका छैनन् । समयअनुरुपको व्यक्तित्व भएन भने समय मर्न सक्दछ । व्यक्तित्व अनुसारको समय भएन भने व्यक्तित्व मर्न सक्दछ । ट्रम्पको बर्हिगमन समयको मृत्यु हो वा व्यक्तित्वको पतन अझै यसै भन्न सकिन्न । आज पनि बर्चश्ववाद, नश्लवाद, साँघुरो राष्ट्रवाद वा नवफासीवादका संकेतहरू सर्वत्र छन् । ट्रम्पले पाएको करिब ७ करोड ५० लाख भोट त्यसैको जिउँदो जाग्दो प्रमाण हो ।

ट्रम्पको बर्हिगमनले नेपाललाई दिने शिक्षा पनि उत्तिकै प्रष्ट छ । नेपाल पनि अहिले तिनै समस्याहरूमा छ । भौतिक विकास भर्सेस् आर्थिक असमानता, बर्चश्ववाद भर्सेस् समावेशिता, भूमण्डलीकरण भर्सेस् स्थानीयता, क्रोनी क्यापिटालिज्म भर्सेस् समतामूलक अर्थतन्त्र, शक्तिको केन्द्रिकरण भर्सेस् सम्मानजनक सहभागिताको चाहना समकालीन विश्वको जस्तै नेपालको पनि यथार्थ र अपेक्षा हो ।

नेपालको ओलीज्म सानो आकारको ट्रम्पिज्म हो भन्ने विश्लेषणमा विश्वास गर्नेहरू अहिले पनि यहाँ धेरै छन् । झट्ट हेर्दा राजनीतिक पूर्वाग्रहको गन्ध समेत आउने यो विश्लेषण पद्धति आधारहीन भने छैन । जनवरी ६ मा जसरी लोकतन्त्रको मन्दिर भनिने क्यापिटल हिलमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आक्रमण गरेका थिए, केही फरक परिदृष्यसहित प्रधानमन्त्री ओलीले प्रनिनिधीसभा गैरसंवैधानिक ढंगले विघटन गरी लोकतन्त्रको मन्दिरमाथि हमला गरेकै छन् ।

बुधबार बिहान ह्वाइट हाउसबाट ट्रम्पको बर्हिगमनसँगै अमेरिकी द्विविधाले निकास पाएको छ । यहाँको दुविधा र अन्यौलको अन्त्य कसरी हुन्छ अहिल्यै भन्न सकिन्न । अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर होस् वा सडकबाट कुनै सहमति खोजेर वा नयाँ निर्वाचन भएर जुनकुनै बाटोबाट ओलीको बहिर्गमन अत्यावश्यक देखिन्छ । अन्यथा राजनीतिक द्विविधा, अन्यौल र गतिरोधले निकास पाउने सम्भावना छैन ।

८ माघ २०७७

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay