scheduleबिहिवारफाल्गुन २० गते, २०७७

‘यो लडाई सर्वकालीक हो, अन्तिम जीत कहिले हुन्छ, निश्चित छैन’

जो बाइडेन

प्रधानन्यायधीश रोबर्टस, उपराष्ट्रपति ह्यारिस, सभामुख पेलोसी, लिडर स्चुमर, लिडर म्याककोलेन, उपराष्ट्रपति पेन्स र मेरा विशिष्ट पाहुनाहरु ! मेरा अमेरिकी मित्रहरु !

आजको दिन अमेरिकाको दिवस हो । यो दिन लोकतन्त्रको दिन हो । यो दिन इतिहास र आशा, नवीकरण र संकल्पको दिन हो । युगौंदेखिका जटिलताको माध्यमबाट अमेरिकाको नयाँ ढंगले परीक्षा भएको छ । अमेरिकाका चुनौतिहरु बढिरहेका छन् ।

आज हामी यो विजय उत्सव उम्मेद्वार भएकाले हैन, विभिन्न कारणहरूले मनाउँदैछौं । त्यो कारण लोकतन्त्र हो । त्यो कारण अमेरिकी जनता हुन् । जनताको आवाज सुनिएको छ । जनताको इच्छामा ध्यान दिइएको छ । फेरि एकपटक हामीले यो सिकेका छौं कि लोकतन्त्र अनमोल छ । लोकतन्त्र नाजुक छैन । मलाई के लाग्छ भने मित्रहरू लोकतन्त्र फेरि एकपटक प्रवल भएको छ ।

केही दिनअघि यो पवित्र भूमिमा, यो क्यापिटल हिलमा हिंसाले यसको जग हल्लाउने प्रयत्न गरेको थियो । हामी भगवानको तहत एक राष्ट्रका रुपमा सँगै रह्यौं, शान्तिपूर्ण सत्ता हस्तान्तरण जो हाम्रो दुई शताब्दिभन्दा लामो प्रचलन हो, यसमा अविभाज्य रह्यौं ।

व्यग्र, सबल, आशावादी र राष्ट्रका लागि निर्धारित दृष्टिकोण हाम्रो अमेरिकी अद्वितीयताको तरिका हो, छौं र हुनुपर्दछ । आज यहाँ उपस्थिति हुनु भएका दुवै पार्टीका मेरा अग्रजहरूलाई म धन्यवाद दिन चाहन्छु । म उहाँहरूलाई मेरो हृदयको गहिराईदेखि धन्यवाद भन्न चाहन्छु । हाम्रो संविधानको सवलता र लचिलोपना हाम्रो राष्ट्रको शक्ति हो । जस्तो कि गए राति मैले कार्टरसँग कुरा गरेको थिएँ, अहिले उहाँ यहाँ आउन सक्नुभएन तर राष्ट्रका लागि उहाँले गर्नु भएको सेवाको म अभिनन्दन गर्दछु ।

अहिले भर्खरै मैले त्यही पवित्र सपथ लिएको छु जुन ती प्रत्येक देशभक्तहरूले लिएका थिए । यो सपथ पहिलोपटक जर्ज बासिङ्टनले लिए । तर अमेरिकी कथा हामी मध्ये कोही एकमा हैन, हामी मध्ये केहीमा हैन, हामी सबैमा निर्भर गर्दछ । हामीमा जोसँग एक पूर्ण संघको खोजी छ । यो एक महान राष्ट्र हो । हामी असल जनता हौं । शताब्दिऔं लामो आँधी र स्तब्धता, शान्ति र युद्ध हुँदै हामी यहाँसम्म आयौं र हामीलाई अझै अगाडि जानुछ ।

तीव्र गति र आतुरताका साथ हामीले आफूलाई अगाडि लानुछ । हाम्रा अगाडि निक्कै ठूला संकटहरू छन्, धेरै महत्वपूर्ण सम्भावनाहरू छन्, यी दुवैको बीचमा हामीले धेरै चीज गर्नुछ । धेरै चिज सम्हाल्नु छ । धेरै चिज पुनस्थापित गर्नुछ । धेरै चिज उपचार गर्नुछ । धेरै कुरा बनाउनु छ । धेरै उपलब्धी प्राप्त गर्नुछ ।

हाम्रो देशको इतिहासमा केही मानिसले ठूलो चुनौति सामना गर्नु परेको छ । यो समय आफैंमा चुनौतिपूर्ण छ । शताब्दि कै सर्वाधिक कष्टकर भाइरसले त्यतिधेरै मानिसलाई लगेको छ, जो दोस्रो विश्वयुद्धमा पनि भएको थिएन । लाखौंले आफ्नो रोजगारी गुमाएका छन् । सयौं हजार व्यवसायहरू बन्द छन् । करिब ४०० वर्ष यताको नश्लीय न्यायको प्रश्न जीवन्त छ । सबैका लागि न्यायको सपना अझै लामो समय टार्न सकिन्न ।

हाम्रो धर्ती आफैं अस्तित्व संकटको अनुनय गर्दैछ । यस्तो अनुनय यसभन्दा बढी हतास र स्पष्ट हुन जरुरी छैन । राजनीतिक अतिवाद, गोरा सर्वोच्चता र घरेलु आतंकवादलाई हामीले सामना गर्नै पर्छ र पराजित गर्नैपर्छ । यी चुनौतिउपर विजय हासिल गर्न अमेरिकाको आत्मलाई पुनःस्थापित र भविष्यलाई सुनिश्चित गर्न शाब्दिक निष्ठा मात्र पर्याप्त हुँदैन । यसका लागि लोकतन्त्रका सबै मायावी अवयवहरू एकताबद्ध हुनु पर्दछ । त्यो भनेको हाम्रो एकता नै हो ।

यस्तै एउटा जनवरीमा, सन् १८६३ को नयाँ वर्षको दिन अब्राहम लिंकनले मुक्तिको उद्घोषणमा हस्ताक्षर गरेका थिए । कागजमा आफ्नो कलम राख्दै राष्ट्रपति लिंकनले भनेका थिए– यदि इतिहासमा मलाई कुनै कामका लागि जस दिइयो भने यही कामका लागि दिइयोस् । यसमा मेरो सम्पूर्ण हृदयको बास छ । मेरो पुरै आत्म यसैमा छ ।

आज एउटा अर्को जनवरीको दिन मेरो आत्मा अमेरिकालाई एक साथ ल्याउने काममा बसेको छ । जनतालाई एकताबद्ध गर्नुछ । राष्ट्रलाई एकताबद्ध गर्नु छ । यो काममा सँगै रहन म सबै अमेरिकीलाई अनुरोध गर्दैछु । हाम्रो एकता यी चिजहरूको विरुद्ध लड्नका लागि हुनु पर्दछ, जो हामी सामना गरिरहेका छौं, ती हुन्– आक्रोश, असन्तुष्टि र घृणा । अतिवाद, कानुनविहीनता, रोग र व्यवसाय र आशाविहीनता ।

एकतामार्फत् हामीले धेरै महत्वपूर्ण चिज गर्नु छ । गल्तीलाई सच्याउनु छ । मानिसलाई राम्रो रोजगार व्यवसाय दिलाउनु छ । हाम्रा बालबच्चालाई सुरक्षित स्कुलहरूमा पढाउनु छ । हामीले यो घातक भाइरसलाई जित्नु छ । हामीले काम गर्नेहरूलाई पुरस्कृत–प्रसंशित गर्नु छ । मध्यम वर्गको पुनरुत्थान गर्नु छ । सबैका लागि सुरक्षित स्वास्थ्य सेवा दिनु छ । हामीले नश्लीय न्याय दिन सक्नै पर्दछ । फेरि एकपटक हामीले अमेरिकालाई असल विश्वका लागि नेतृत्वदायी शक्ति बनाउनु छ ।

मलाई थाहा छ, मैले गरिरहेको एकताको कुरा अहिले मुर्खतापूर्ण स्वैरकल्पनाजस्तो प्रतीत हुन सक्दछ । मलाई यो पनि थाहा छ कि मलाई विभाजित गर्ने शक्तिहरू गहिरा र वास्तविक होलान् तर नयाँ हैनन । हाम्रो देशको इतिहासमा सर्वथा अमेरिकी आदर्शका लागि संघर्ष भएका छन् । एकातिर हामी सबै बराबर हौं भन्ने भावना छ । अर्कोतिर कठोर, खराब, नश्लवाद, भय, स्थानीयता र दानवीकरण छ । यो लडाई सर्वकालीक हो, अन्तिम जीत कहिले हुन्छ, निश्चित छैन ।

गृहयुद्ध, महामन्दी, विश्वयुद्ध, सेप्टेम्बर ११ सँग हामीले गरेको संघर्ष, बलिदान र असफलताहरूले हाम्रो दैविकतत्वलाई प्रवलीकरण गरेको छ । यी प्रत्येक क्षणहरूमा हामी पर्याप्तरुपले एकताबद्ध भएका छौं र हामीले आफूलाई अगाडि बढाएका छौं । इतिहास, विश्वास र जरुरतले मार्गदर्शन, एकताको मार्गदर्शन गर्दछ । हामीले एक अर्कालाई शत्रु वा प्रतिस्पर्धीका रुपमा हैन, छिमेकीका रुपमा ग्रहण गर्दर्छौ । एकअर्कासँग सम्मान र इज्जतको व्यवहार गर्दछौं । हामीले एकताबाट त्यस्तो शक्ति निर्माण गर्दछौं जसले बन्दुक चलाउने प्रवृति रोक्नेछ र तनावहरूलाई न्युनीकरण गर्नेछ ।

यहाँ एकता विना शान्ति हुँदैन । केवल तिक्तता र आवेशले प्रगति हुँदैन । केवल नैराश्यतापूर्ण असन्तोषले राष्ट्र बन्दैन, एक उपद्रवी राज्य मात्र बाँकी रहन्छ । हामी त्यो ऐेतिहासिक संकट र चुनौतिको क्षणमा छौं, यहाँ एकता मात्र हाम्रो अगाडि जाने बाटो हो । यदी हामी यसो गर्‍यौं भने म ग्यारेन्टी गर्न सक्दछु हामी असफल हुने छैनौं । जब हामीले एकताबद्ध भएर काम गरेका छौं, अमेरिका कहिल्यै असपल भएको छैन ।

आज फेरि एकपटक यही क्षण र यही ठाउँबाट त्यो काम प्रारम्भ गरौं । हामी एकअर्कालाई सुनौं, एक अर्कालाई बुझ्न खोजौं । एक अर्कालाई देखौं र सम्मान गरौं । राजनीति गर्नु भनेको सबै बाटोमा आगो लगाउनु हैन । प्रत्येक असहमतिहरू युद्ध, अस्वीकार र झगडाका कारण बन्न जरुरी छैन । हामी यस्तो संस्कार र संस्कृतिलाई अस्वीकार गर्न सक्दछौं ।

मेरा मित्र अमेरिकीहरू ! हामी त्योभन्दा फरक हुनै पर्छ । अमेरिका त्यो भन्दा राम्रो हुनै पर्दछ । मलाई विश्वास छ अमेरिका यो भन्दा राम्रो अवश्य हुनेछ । जहाँ अहिले हामी छौं, यो क्यापिटल हिल गुम्बजको छाया, यो गृहयुद्धपछि संघ शक्तिको सन्तुलनका रुपमा निर्मित भयो ।

तैपनी हामी टिक्यौं, हामी अडियौं, हामी रह्यौं । आज हामी त्यही उभिएका छौं जहाँबाट मार्टिन लुथर किङले आफ्नो सपना सुनाएका थिए । करिब १०८ वर्ष अगाडि यहाँ एउटा अर्कै प्रकारको उद्घाटन भएको थियो । हज्जारौं प्रदर्शनकारीले महिला मताधिकारका लागि बहादुरीपूर्वक लडेका थिए । र, परिणाम आज सामुन्ने छ । कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित हुनु भएको छ । ह्यारिस अमेरिकी राष्ट्रिय जीवनमा पहिलो महिला उपराष्ट्रपति निर्वाचित हुनु भएको छ ।

केही पनि परिवर्तन भएको छैन भन्ने नठानौं । यहाँबाट नजिकै अर्लिङटन कब्रिस्तान छ, जहाँ हाम्रा कयौं राष्ट्रिय नायकहरू परम शान्तिको भावमा समाधिस्थ छन् । र, यही केही दिनअघि केही उपद्रवी भीडले त्यो शान्तिलाई भंग गर्ने, हाम्रो लोकतन्त्रलाई काम गर्न नदिने प्रयत्न गरे । उनीहरूले हामीलाई पीडाप्रद मैदानतिर लतार्न खोजे । तर, त्यो सम्भव भएन । त्यसो हुन सकेन । आज मात्र हैन भोलि पनि त्यसो हुन सक्ने छैन । कहिल्यै त्यसो हुन सक्ने छैन ।

हाम्रो अभियानमा जोडिनु भएका सबै समर्थकहरूप्रति म सविनय आभार व्यक्त गर्दछु । जसले हामलाई समर्थन गर्नु भएन, मलाई यो भन्न दिनुस् कि अगाडिका क्षण हामी एकअर्काको हृदयको आवाज सुन्ने छौं । तपाईहरू अझै हामीप्रति असहमत हुनुहोला, हुनुस्, हुन पाउनु हुन्छ, त्यही त लोकतन्त्र हो, त्यसैको लागि त अमेरिका हो । शान्तिपूर्वक आफ्नो असहमति व्यक्त गर्ने अधिकार यो राष्ट्रको सबैभन्दा ठूलो सबलता हो । तपाईहरूको विमति सुनेर मैले एकताको भावमा कुनै कमी ल्याउने छैन । म यो भन्न चाहन्छु म सबै अमेरिकीहरूको राष्ट्रपति हुन चाहन्छु, सबै अमेरिकीहरूको राष्ट्रपति हुँ । म यो प्रतिज्ञा गर्न चाहन्छु, म मलाई समर्थन नगर्नेहरूका लागि उत्तिकै दृढतापूर्वक लड्ने छु, जति मलाई समर्थन गर्नेहरूका लागि लड्ने छु ।

शताब्दिऔं अगाडि सेन्ट अगष्टइन, मेरो चर्चका एक सन्तले लेख्नु भएको थियो कि जनताको साझा वस्तुता उनीहरूले प्रेमले परिभाषित गरेको साझा वस्तुता हो । हामी अमेरिकीहरू केलाई साझा वस्तुता ठान्छौं ‌? हाम्रो प्रेमको परिभाषामा हामी किन अमेरिकी हौं ? मलाई लाग्छ कि हामीलाई यो प्रश्नको उत्तर थाहा छ । त्यो हो– अवसर, सुरक्षा, सम्मान, स्वतन्त्रता, गरिमा, इमान र सत्य ।

बितेका केही हप्ता र महिना हामीले केही पीडापूर्ण पाठहरू सिकेका छौं । जहाँ सत्य हुन्छ, त्यहाँ झुठ पनि हुन्छ । झुठले शक्ति र मुनाफा मात्र बोल्छ । यीभन्दा बाहिर हामी अमेरिकी नागरिकहरूको अर्को कर्तव्य र उत्तरदायित्व पनि छ त्यो हो, इमानपूर्वक संविधान र राष्ट्रको रक्षा गर्नु, सत्यको बचाउ गर्नु र झुठलाई पराजित गर्नु ।

म यो बुझ्छु कि मेरा अमेरिकीहरूमा भविष्यलाई लिएर चिन्ता र घबराहट छ । म बुझ्छु कि रोजगारको चिन्ता छ । मेरो पिताले राति ओछ्यानमा पल्टिएर घरको छतलाई हेर्दै परिवारको भोलीबारे सोचेजस्तै म बुझ्छु कि यहाँको स्वास्थ्य सेवा र यहाँको धितो जमानी प्रक्रियाबारे चिन्ता छ । अमेरिकीहरू आफ्नो परिवारको भोलिबारे सोचिरहेका छन्, मेरो सोच यसभन्दा बाहिर अरु के हुन सक्दछ ?

यो रातो र नीलो, ग्रामिण र शहरीया, कन्जरभेटिभ र लिवरलको झगडा अब हामीले अन्त्य गर्नु पर्दछ । हामी त्यतिखर यो काम गर्न सक्ने छौं, जब हामी हाम्रो हृदयलाई कठोर पार्नुको साटो आत्मलाई खुल्ला बनाउँने छौं । यदि हामीले अलिकति मात्र सहिष्णुता र विनम्रता देखाउने हो भने हामीलाई दुर्भाग्यहरूले पछ्याउन सक्ने छैनन् । आज मैले तपाईको हात माग्न सक्छु, भोली मैले तपाईलाई मेरो हात दिन सक्छु । यदि हामीले यसो गर्‍यौं भने हाम्रो देश अझ बलियो, अझ समृद्ध हुनेछ । असहमितकै बीच पनि हामी भविष्यको शानदार यात्रा गर्न समर्थ हुनेछौं ।

अहिले हामी भाइरसको सबैभन्दा उच्च र घातक अवधिमा छौं । यतिखेर हामीले केही समय राजनीतिलाई पन्छाएर महाव्याधीको सामना गर्नु पर्दछ । यसबाट हाम्रो राष्ट्रलाई जोगाउनु पर्दछ । यो काम एक्लाएक्लै गर्नै सकिन्न, सँगसँगै भए अवश्य गर्न सकिन्छ ।

आज हाम्रो हाउस र सिनेटले के गर्दैछ भनेर विश्वले हेरिरहेको छ । ती सबैलाई मेरो सन्देश छ कि अमेरिका फेरि एकपटक परीक्षा पार गरेर झन बलियो भएको छ । हामी हाम्रा गठबन्धन र सहकार्यहरूसँग पुनश्चः जोडिने छौं । हामी हिजोका विश्वका चुनौतिहरूका लागि हैन, आज र भोलिका चुनौतिहरूका लागि विश्वसँग सहकार्य गर्नेछौं । हामी हाम्रो शक्तिको दृष्टान्तले हैन, हाम्रो दृष्टान्तको शक्तिले नेतृत्व गर्नेछौं । हामी शान्ति, प्रगति र सुरक्षाको बलियो र भरपर्दो साझेदार हुनेछौं ।

राष्ट्रपतिका रुपमा मेरो पहिलो कामना हुनेछ, केही क्षण हामी मौन प्रर्थाना गरौं, ती ४ लाख बढी मानिसको सम्झनामा जसले बितेको एक वर्षमा महाव्याधीबाट ज्यान गुमाए । ती अमेरिकीहरू हाम्रा बुबा, आमा, पत्नी, पति, छोराछोरीहरू साथी, छिमेकी र सहकर्मीहरू थिए । ती महान आत्महरू यो राष्ट्रका जनता भएको सम्मान हामी दिइरहेने छौं । आफू गुमेर पनि उनीहरूले यो देशका लागि छोडेका योगदानहरू हामी भुल्ने छैनौं ।

आज पनि अमेरिका परीक्षामा छ । हामीले लोकतन्त्रमाथिको, सत्यमाथिको आक्रमण सहनु परेको छ । हामीले भाइरसको संक्रमण, बढ्दो आर्थिक असमानता, प्रणालीगत नश्लवादको डंका, संकटग्रस्त जलवायु, अमेरिकाको विश्व भूमिका आदि प्रश्नमा अमेरिका परीक्षण मै छ । यी मध्ये कुनै एक मात्र पनि हाम्रा लागि पर्याप्त ठूला चुनौति हुन् । एक राष्ट्रको रुपमा यी सबै चुनौति एकमुष्ट सामना गर्न हामीले गम्भीरतम् जिम्मेवारी एक मतले निर्वाह गर्नुछ ।

हाम्रो परीक्षाको अर्थ अब हामी कस्ता कदम चाल्ने छौं भन्ने हो । यो हामीले बलियो निर्णय लिने र साहस गर्ने समय हो । निश्चय नै हामी त्यो गर्ने छौं । म तपाईहरूलाई वचन दिन्छु कि यो युगका यति संटकपूर्ण समस्या हल गर्न के गर्नु पर्दछ, त्यसमा हामी सल्लाह गर्नेछौं, र कार्यस्थालमा पनि सँगै हुनेछौं ।

यो प्रश्न उठ्न सक्छ, यति कठिन कुरा सामना गर्ने महारथ हामीले प्राप्त गरौंला ? के हाम्रा बालबच्चाका एक लागि अझ राम्रो संसार रचना गर्ने दायित्व पुरा गर्न सकौंला ? मलाई विश्वास छ कि हामी सक्छौं । यो काम हामी राम्रोसँग गर्न सक्छौं । जब यो दायित्व हामी पुरा गर्ने छौं अमेरिकाको इतिहासमा एक अर्को महान अध्याय लेखिने छ ।

धन्यवाद ।

(अमेरिकन राष्ट्रपति जो बाइडेनको पहिलो राष्ट्रपतीय सम्बोधनको संक्षेपीकरणसहितको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay