scheduleमगलवारफाल्गुन १८ गते, २०७७

राष्ट्रपतिलाई बन्धक बनाएका ओलीसँग अब केवल साइबर स्यालहरु मात्र बाँकी छन्ः नेता भुसाल

काठमाडौं, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीलाई बन्धक बनाएको आरोप लगाएका छन् । राष्ट्रपति जस्तो सम्माननीय संस्थालाई ओलीले व्यक्तिगत जस्तो बनाएको उनको आरोप छ ।

प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा आयोजना गरेको शक्ति प्रदर्शनमा बोल्दै नेता भुसालले भने, ‘प्रधानमन्त्रीसँग नेपाली जनताले धेरै ठूलो अपेक्षा राखेका थिए, तर प्रधानमन्त्री केपी ओलीले त्यसको वेवास्ता गर्दै संसद विघटन गरेर राष्ट्रपतिसम्मलाई बन्धक बनाएर बसेका छन् ।’

नेता भुसालले अब केपी ओलीसँग केवल साईबर स्यालहरु मात्र बाँकी रहेको बताए । उनले सिंगो मुलुक नै एकातिर लागेको र प्रधानमन्त्री ओली मात्रै एकातिर रहेको निष्कर्ष सुनाए ।

अब ओलीसँग आस्थावान नेता कार्यकर्ता भन्दा सेटिङ मिलाएका सदस्यहरु मात्र बाँकी रहेको बताए । नेता भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएकाले तत्काल सच्चिन आग्रह गरे । उनले प्रधानमन्त्री ओली पहिले पनि गलत बाटोमा हिँडेको र अहिले थप गलत गर्न लागिरहेको टिप्पणी गरे ।

‘कमरेड प्रधानमन्त्री, कमरेड ओली गलत हुनुहुन्थ्यो । गलत हुनुहुन्छ । समय छँदै फर्किनुस्,’ भुसालले चेतावनी दिँदै भने, ‘नत्र इतिहासको कठघरामा उभिनुपर्छ ।’

उनले ओली अज्ञानताको निन्द्रामा रहेको भन्दै बिउँझन र गलत बाटोबाट फर्कन सार्वजनिक आह्वान गरे । उनले भने, ‘कमरेड ओेली बिउँझनुस्, फिर्ता हुनुस् ।’

भुसालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताए । उनले यतिबेला सबैले प्रधानमन्त्री ओलीले सबैतिर सेटिङ मिलाएका छन् भनेर भन्ने गरे पनि त्यसो हुन नदिइने चेतावनी दिए ।

‘अब केपी ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुन दिइनेछैन । सबैले केपी शर्मा ओलीले सेटिङ गरिरहेका छन् भन्ने गरेका छन्,’ उनले भने, ‘तर अब केपी ओलीको सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुन्छ ।’

उनले अगाडि थपे, ‘२१औं शताब्दीमा सेटिङ मिलाएर अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ । यसै कारण तपाईं भोलि पराजित हुनुहुनेछ ।’

भुसालले सम्बोधनका क्रममा ओलीले संविधानलाई बन्धक बनाएर केपी ओली तान्डव नाँचिरहेको बताए । ‘विभिन्न जालझेल गरेर भए पनि आफूले जित्ने निश्चित नभएसम्म केपी ओलीले चुनाव गराउनुहुन्न,’ उनले भने, ‘कसैले चुनावको अपेक्षा गरेका छन् भने त्यो भ्रम हो । चुनाव हुनेवाला छैन ।’

त्यस्तै भुसालले अहिले देशका सामु लोकतन्त्र पराजित हुने वा केपी ओली पराजित हुने भन्ने दुइटा विकल्प मात्रै रहेको पनि बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay