भट्टराईको प्रश्न- ओलीको लाज छोप्न अझै कति टालो जोहो गर्नुपर्ने हो ?
काठमाडौं, ९ माघ । नेकपाको दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले ओलीको लाज छोप्न अझै कति टालो जोहो गर्नुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशित नभएको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेपछि रातारात अपेडट गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै भट्टराईले उक्त प्रश्न गरेका हुन् ।
राजपत्रमा सूचना प्रकाशित गर्दाको मिति भने पुस ५ गतेकै राखिएको छ । तर राजपत्रमा शुक्रबार विहान ६ बजेर ५१ मिनेटमा मात्र अपडेट गरेको पाइएको छ । यो खबर सार्वजनिक भएसँगै शुक्रबार भट्टराईले भनेका छन्, ‘संविधानको कुनै धारा उल्लेख नगरी प्रतिनिधिसभाको विघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो, अर्को चिट्ठी ल्याएर फायलमा राखियो ।’
नेकपाको विरोधसभा जारी रहँदा उनले सामाजिक सञ्जालबाट सोधेका छन्, ‘अनि फेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा खै ? हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो, किर्ते काम ?’
भट्टराईले ओलीतर्फ संकेत गर्दै लेखेका छन्, ‘तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ? लज्जाबोध !’