scheduleमगलवारफाल्गुन २५ गते, २०७७

पूर्वजनमुक्ति सेनालाई ओलीले भने- जनयुद्धमा तपाईंहरुको त्यागप्रति सम्मान छ, म धोका दिन्नँ

काठमाडौं, १० माघ । प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा पूर्वजनमुक्ति सेनाका केही कमाण्डरहरुको भेला गरेका छन् ।

शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै प्रम ओलीले प्रचण्ड लगायतका नेताहरुले जस्तो पूर्वजनमुक्ति सेनालाई आफूले धोका नदिने प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले जनयुद्धको नेतृत्वले जनमुक्ति सेनाको भावनाको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

ओलीको भनाई उद्धृत गर्दै थापाले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूकाे याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाकाे दुरूपयाेग गर्‍यो ।’

ओलीले नेतृत्वले धोका दिएको बुझेर आफ्नो पक्षमा लागेको भन्दै उनीलाई धन्यवाद दिएका थिए । ‘याे तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयाे, याे एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहाेस्, हामी राजनीतिक रूपमा समस्याकाे वास्तविक समाधान गर्छाैं,’ ओलीले भने ।

ओलीको भनाई थियो, ‘नेतृत्वबाट विगतमा जस्ताे धाेका पाउनुहुने छैन ।’ ओलीले जनमुक्ति सेनाप्रति देखाएको भावना नक्कली भएको प्रचण्डले शनिबार जनसभामा सम्बोधन गर्दै बताएका थिए ।

कालीबहादुर खामको प्रसंग उठाउँदै उनले भनेका थिए, ‘आमाको दूध चुसेर भएन, बाबुको घुँडा ।’ ओलीले पनि पछिल्ला सम्बोधनहरुमा प्रचण्डले आफ्नो परिवारका लागि मात्रै ध्यान दिएको र जनमुक्ति सेनाका विचल्ली भएको बताउँदै आएका छन् ।

भेलापछि ओलीले कमाण्डरहरुसँग सामूहिक फोटो पनि खिचाएका छन् । भेलामा गृहमन्त्री रामबहादुर थापा लगायत पूर्वमाओवादी समूहमा अधिकांश मन्त्रीहरु भने अनुपस्थित थिए ।

तस्बिरहरुः प्रधानमन्त्रीको सचिवालय

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay