सरकारले अख्तियारमा धूलो परेका फाइल निकालेपछि भ्रष्टाचारीहरु त्रसित छन्ः ज्ञवाली
गुल्मी, १० माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले धूलो लागेका भ्रष्टाचारसँग सम्बन्धित फाइलहरु निकाल्न थालेपछि भ्रष्टाचारीहरु त्रसित हुन थालेको बताएका छन् ।
शनिबार गुल्मीमा ओली समूहको पार्टी कार्यक्रममा बोल्दै ओली समूहका नेता समेत रहेका ज्ञवालीले सरकार सुशासन कायम गर्न दृढ रहेको जिकिर गरे । उनले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेसँगै भ्रष्टाचारीहरु त्रसित भएको बताए ।
ज्ञवालीको संकेत दाहाल-नेपाल समूहप्रति लक्षित थियो । उनले यही कारणले पार्टीभित्र नयाँ तरंग आइरहेको तर्क गरे । भ्रष्टाचारीलाई कारबाही गर्न खोजेपछि पार्टीमा विभाजन भएको संकेत उनको थियो ।
मन्त्री ज्ञवालीले भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने दावी गरे । उनले भने, ‘वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन् ।’
नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन पनि दिए । उनले भने, ‘अबको विकल्प सडक होइन, निर्वाचन हो, हामी जनताको फैसला स्वीकार्न तयार छौं, हारेर जंगल पस्दैनौं, जनताको सेवामा अविचलित भई निरन्तर खट्छौं ।’
सम्बोधनको क्रममा नेता ज्ञवालीले नेकपा अध्यक्ष प्रचण्डको चर्को आलोचना गरे । उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष जस्तो गरिमामय पदलाई दुरुपयोग गरेर पुष्पकमल दाहालले धोका दिए । उनी कार्यकारी अध्यक्ष भएपछि पार्टी काममा लाग्न छाडेर गुट बनाउँदै पार्टी एकताको म्यान्डेटविपरीत गतिविधि गरेर पार्टी विभाजन गरे ।’
दाहाल र माधव नेपाललाई पदका लागि बार्गेनिङ गरेको आरोप लगाएका ज्ञवालीले सरकारलाई बदनाम गराउन सडकमा पुगेर रोइकराई गरिरहेको उनको तर्क थियो । ‘पार्टीभित्र आफ्नो शक्ति आर्जन गर्ने र कुर्सीकै लागि दाहालले राजनीति गरे,’ उनले भने, ‘स्थिर सरकारको लागि जनतासमक्ष मागेको मतलाई कदर गर्ने काम पटक्कै भएन । कुर्सीका लागि पार्टीमा बबाल मच्चाउने काम दाहाल र नेपालले गरे ।’