मुख्यमन्त्री राईको विवाह आज
काठमाडौं, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह समारोह काठमाडौंमा जारी छ । आफूभन्दा ३० वर्ष कान्छी युवतीलाई राईले भित्र्याउन लागेका हुन् ।
मिस मङ्गोल शेर्पा २०१८ की बिजेता २० वर्षीय जाङ्मु शेर्पा र ५० वर्षका राईबीच आज एलिस रिसेप्सन गैरीधारा बालुवाटारमा विवाह भइरहेको छ । अपरान्ह साढे ३ बजे उपस्थितिका लागि निमन्त्रणा गरिएको विवाहको निमन्त्रणा कार्डमा उल्लेख गरिएको छ ।
कोरोना महामारीका कारण सानो जमघटमा राईले विवाह गरेको पारिवारिक स्रोतले बताएको छ । विवाह समारोहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।
आफ्नो जातीय पोशाकमा सजिएका वर-वधुले परम्परागत विधिबाट विवाह सम्पन्न गरेका हुन् ।
राईको विवाहको चर्चा सामाजिक सञ्जालभरी फैलिएको छ । विभिन्न कोणबाट उनको विवाहबारे बहस भइरहेको छ ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि राईको मुख्यमन्त्री पद धरापमा छ । विवाहपछि प्रदेशसभाको बैठक बस्दैछ ।