रहमतको शतकमा आयरल्यान्डमाथि अफगानिस्तानको सहज जीत
काठमाडौं, ११ माघ । आयरल्यान्डविरुद्धको एकदिवसीय श्रृंखलाअन्तर्गतको दोस्रो खेलमा पनि अफगानिस्तानले जीत हासिल गरेको छ । आइतबार भएको खेलमा अफगानिस्तानले ७ विकेटको जीत निकालेको हो ।
आयरल्यान्डले दिएको २६० रनको विजयी लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा केवल ३ विकेटको क्षतिमा भेटाएको हो ।
अफगानिस्तानको जीतमा रहमत शाहले शतकीय पारी खेले । उनी १०३ रनमा अविजित रहे । १०९ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरेका थिए ।
त्यसैगरी हस्मतुल्लाह शाहिदीले ८२ र रहमनुल्लाह गुरबाजले ३१ रनको योगदान दिए । आयरल्यान्डका सिमी सिंह बेरी मेकर्थी र कर्टिस केम्फरले १ १ विकेट हात पारे ।
त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५९ रनको योगफल खडा गरेको थियो ।
आयरल्यान्डका पउल स्टर्लिङले पनि शतकीय पारी खेलेका थिए । उनले १२ चौका र ४ छक्काको मद्दतमा १२८ रन बनाएका थिए । त्यसैगरी कर्टिस केम्फरले ४७ र हेरी टेक्टरले २४ रनको योगदान दिए । अफगानिस्तानका नवीन उल हकले ४ मुजीब उर रहमानले ३ तथा गुलबादिन नाइब र राशिद खानले १ १ विकेट लिएका थिए ।
यस जीतसँगै अफगानिस्तानले एक खेल खेल्नुअगावै श्रृंखला जितेको छ । बिहीबार भएको पहिलो खेलमा पनि अफगानिस्तान १६ रनले विजयी भएको थियो ।