scheduleशनिवारफाल्गुन २२ गते, २०७७

माधवले भने- ओलीजी खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस्

काठमाडौं, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई खुरुक्क बालुवाटार छाड्न भनेका छन् । सोमबार प्रदेश २ का नेता कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।’

उनले दुवै समूहको दाबीलाई अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयबारे सकरात्मक प्रतिक्रिया दिए । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौं भनेको तर्क गर्दै दाहाल-समूहका नेताहरुले आफ्नो पक्षमा निर्णय आउने तर्क गरे ।

प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आयोगले स्वीकार गरेको ४४१ सदस्यीय केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको तर्क गर्दै भने, ‘निर्वाचन आयोगले मलाई अध्यक्ष नमानेपनि केही फरक पर्दैन ।’

आयोगले ४४१ सदस्यीय केन्द्रीय कमिटी र अनुशासनको कारबाही गर्ने पुरानो विधान लागू हुन्छ भनेको उनको तर्क थियो ।

यस्तो छ नेपालको सम्बोधनको अंश-

आयोगको पत्रमा के लेखेको छ भने २०७५ जेठ २३ को विवरण र विधान बाहेक अरु कुनै मानिने छैन । भनेपछि त्यो सडक छाप, धुलोछाप पार्टीको कुनै अर्थ छैन । क्लियर भएन ? उसले सिधै भन्छन्, ४४१ केन्द्रीय सदस्य, ४५ जनाको स्थायी कमिटी । ४५ जनामध्ये २८ जना हामीसँग हुनुहुन्छ । केपीको सानो झुण्डसँग थोरै मान्छे छन् । ४४१ केन्द्रीय कमिटी मध्ये ४३४ जना हुनुहुन्छ । केहीको मृत्यु भयो, केही राजनीतिक तथा संवैधानिक नियुक्तिमा जानुभयो । उनीहरु केन्द्रीय सदस्य हुनुहुन्न । चार जना अरु पार्टीबाट आएकाले (केन्द्रीय सदस्यको कुल संख्या) ४३४ भयो । उनीहरुमध्ये ३०० बढी हामीसँग छन्, ओलीसँग १०० सेरोफेरो छ । कहाँ ३००, कहाँ एक सय ! भनेपछि केपी ओलीसँग एक चौथाइ सेरोफेरोमा छ, हामीसँग ७० प्रतिशतभन्दा धेरै केन्द्रीय सदस्य छन् ।

निर्वाचन आयोगले पत्रमा लेखेको छ, ४४१ लाई आधार मान्छौं । त्यो ४५ लाई आधार मान्छौं । दुई अध्यक्षलाई मान्छौं पनि भनेको छ । माधव नेपाललाई मान्दिन पनि भनेको छ । तर केही भएको छैन । कमरेड प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधिकारिता रह्यो । केपी ओलीलाई त हामीले हटाइसकेका छौं, केपी ओली समाप्त । केन्द्रीय कमिटीले अध्यक्ष पदबाट निकालिसकेपछि … (आयोगले) अधिकार छ भनेर लेखेको छ । के लेखेको छ भने अनुशासनको कारबाही गर्ने त्यही पुरानो लागू हुनेछ ।

दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म त आउने नै भएँ । केपी ओलीजी केही चान्स छैन तपाईंको । अनेक सेटिङ मिलाउँछु, हाम्रो जित हुन्छ, सूर्य चिन्ह हाम्रै हुन्छ भन्नेको केही अर्थ छैन । खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay