वैशाखको निर्वाचन सर्न सक्ने गृहमन्त्री बादलको संकेत
कालिकोट, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्वाचनको मिति सर्न सक्ने संकेत गरेका छन् ।
गृहमन्त्री बादलले भने,’ निर्वाचन वैशाखमा हुने नहुने विषयमा अदालतको फैसलाले निर्धारण गर्छ । अदालतले छिटो फैसला गरे वैशाखमा ढिलो फैसला गरे केही मिति पर सर्ने सम्भावना पनि रहेको बताए ।’
प्रधानमन्त्री केपी ओली नेतृत्वमा रहेको नेकपा कालिकोटले आयोजना गरेको आमसभामा सहभागी हुन कालिकोट आएका गृहमन्त्री बादलले प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अदालतमा अहिले भइरहेको बहसले फैसला ढिलो हुने सम्भावना पनि रहेको बताउँदै निर्वाचनको दिशामा मुलुक होमिसकेको बताए ।
गृहमन्त्री थापाले सरकारले वैशाखमै चुनाव गर्ने गरी व्यापक तयारी थालेको बताउँदै भने, ‘निर्वाचनका लागि अदालतले छिटो फैसला गरे सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय तयारीमा जुट्छ ।’
उनले फरक प्रसंगमा सरकारद्वारा प्रतिबन्धित विप्लव समूह पनि राजनीतिक मुलप्रवाहमा आउने धारणा राखे । उनले विप्लव समूहलाई राजनीतिक तथा प्रशासनिक रुपमा नियन्त्रण गर्न सरकारको नीति यथावथ नै रहेको बताउँदै छिट्टै विप्लव समूह पनि राजनीतिक मुल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताए ।