मुलुकभर पश्चिमी वायुको प्रभाव, तराई सूर्य हरायो
काठमाडौँ, १३ माघ । मुलुकभर आज पनि पश्चिमी वायुको सामान्य प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईमा भने बाक्लो हुस्सु लागेकोले सूर्य देख्न मुस्किल देखिएको छ । बाँकी भू-भागको मौसम सामान्यतय सफा रहेको छ ।
आज दिउँसो गण्डकी प्रदेश र प्रदेश नं. १ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।
यसैबीच, काठमाडौंको न्यूनतम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । सोमबार काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो ।
काठमाण्डौको न्यूनतम अझै घट्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । रातको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम घटेको हो ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
माघ १३ गते (मंगलबार)
दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ १४ गते (बुधबार)
दिउँसो प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ ।
राति : प्रदेश न. १, बागमती प्रदेश, गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ १५ गते (बिहिबार)
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।
राति : प्रदेश न. १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।