scheduleशनिवारफाल्गुन २२ गते, २०७७

अब राज्यले साहसी आरोहीलाई अवार्ड दिन्छः प्रधानमन्त्री ओली

काठमाडौं, १३ माघ । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा हिउँद याममा आरोहण गरी कीर्तिमान कायम गरेका निर्मल पूर्जासहित नेपाली आरोहीहरुको टोलीलाई सरकारले सम्मान गरेको छ ।

मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोही टोलीलाई सम्मान गरेका हुन् । निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु आरोहण गरेर मंगलबार नै स्वदेश फर्केको हो ।

सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने बताए ।

त्यस्तै उनले अब राज्यले साहसी आरोहीलाई अवार्ड दिने घोषणा गरे । हिमाल आरोहणको अनुभवलाई सामान्य रुपमा लिन नहुने भन्दै आरोहीबाट सबैले प्रेरणा लिन सक्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले माउन्ट केटु आरोहणमा आफूलाई मन लागेको तर त्यो दुस्साहस आफूले नगरेको धारणा राखे ।

त्यस्तै केटु हिमाल आरोही टिमको नेतृत्व गरेका निर्मल पुर्जाले नेपालको नाम विश्वमा चिनाउने उदेश्यका साथ हिमाल आरोहणमा गएको बताए । उनले आरोहण टोलीलाई राज्यले उचित सहयोग गर्नुपर्ने धारणा राखे ।

यसअघि स्वदेश फर्के लगतै आरोहण टोलीलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाले उपत्यकाका विभिन्न स्थानको परिक्रमा गराएको थियो । म्याग्दीका पुर्जासहित नेपाली आरोही टोलीले माघ ३ गते दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay