सरकारी सञ्चार माध्यमद्वारा सम्प्रेषित खबरको वामदेवले गरे खण्डन
काठमाडौं, १३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सरकारी सञ्चार माध्यम राससद्वारा सम्प्रेषित खबरको खण्डन गरेका छन् । गौतमले विभिन्न सन्दर्भमा विभिन्न सञ्चार माध्यमबाट आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
राष्ट्रिय समाचार समितिको माघ १२ गते प्रकाशित बुलेटिनबाट सम्प्रेषित खबरमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षकमा खबर थियो जसलाई विभिन्न सञ्चार माध्यमले प्रकाशन प्रसारण गरेका थिए । नेकपाभित्र कुनै समूहमा नलागी पार्टी एकता राष्ट्रिय अभियानका संयोजक घोषणा गरेका गौतमको सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले उक्त आसयमा कुनै पनि कुरा व्यक्त नगरेको प्रष्टीकरण दिएको हो ।
गौतमले सचिवालयले उक्त समाचारबाट उनको विभिन्न किसिमबाट अपमान गर्ने, उनका विचार, अभियान र कार्यशैलीमाथि भ्रम सिर्जना गरिएको निष्कर्ष निकालेको छ ।
‘विगत केही समयदेखि क. वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो।’
‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी गौतमको नाममा भनाइ भनी छापिएको समाचार नेकपाको एकताको निस्वार्थ उद्देश्यमाथि प्रहार गरिएको सचिवालयले दाबी गरेको छ।