कोरोनाविरुद्धको खोप अभियान सुरु : प्रधानमन्त्री ओलीले गरे शुभारम्भ
काठमाण्डाैं, १४ माघ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौं उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप अभियान सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको भर्चुअल शुभारम्भ गरेका हुन् । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाएका छन् ।
पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सक्ने र पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको खोप फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक,स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई दिइनेछ ।
आज मात्रै १२ हजार व्यक्तिले खोप लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप शुभारम्भ कार्यक्रममा जानकारी दिए ।