यस्तो छ वामदेवको पार्टी एकता राष्ट्रिय अभियानको अवधारणापत्र
काठमाडौं, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित भएर दुई धार बने पनि आफ्नो एकता अभियान नरोकिने बताएका छन्। ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन् ।
उनले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको भए पनि अझै कानुनी रुपमा नफुटेको बताउँदै ओली समूहका अध्यक्ष केपी शर्मा ओली बाहेक सबै पार्टी एकताको पक्षमा रहेको बताएका छन्।
नेता गौतमले आफूहरुले नयाँ पार्टी बनाउन नलागेको बताए । तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे । ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ उनले भने । गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे।
पार्टी एकतामा नै जुट्ने बताएका गौतमले प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने जिकिर गरे ।