नेकपाका दुवै पक्षलाई आयोगले पत्र काट्यो
काठमाडौं, १५ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र प्रचण्ड- माधव दुवै समूहसँग छलफल गर्ने भएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन भनेको छ ।
आयोगले शुक्रबार विहान साढे ११ बजे दल दर्ता र निर्वाचन तयारी सम्बन्धी छलफलका लागि छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने हुन्छ, त्यसका लागि आयोगले सुचना प्रकासन गर्दैछ त्यो विषय र अर्को निर्वाचनको तयारी सम्बन्धी छलफलका लागि बोलाइएको हो ।’
पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयसँगै राजनीतिक र व्यवहारिक रुपमा फुटिसकेको नेकपालाई आयोगले मान्यता दिएको छैन ।
सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेपछि आयोगले दल दर्ता प्रक्रिया चाँडै नै सुरु गर्ने बताएको छ । नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धीमा शुक्रबार आयोगमा छलफल हुने बताइएको छ ।