scheduleबुधवारबैशाख ८ गते, २०७८

कमरेडहरु ! निम्नकोटीको गालीगलौज कम्युनिष्टहरुको नियति र संस्कृति नै हो ?

सुदर्शन खतिवडा

राम्रो हो वा नराम्रो हो, आवश्यकता हो वा रहर, वस्तुगत हो वा आत्मगत त्यसको समीक्षा इतिहासले गर्दै गर्ला, यथार्थ के हो भने नेपाली राजनीतिमा ‘कम्युनिष्ट समूह’ सधै उल्लेखनीय संख्या हुने गरेको छ । जुट्नु र फुट्नु कम्युनिष्ट समूहहरुका लागि चुड्कीको खेल जस्तो देखिन्छ ।

त्यसमाथि जुटभन्दा फुट नै बढी भएको पाइन्छ । जब कुनै व्यक्ति नेताको रुपमा स्थापितजस्तो देखिन थाल्दछ, उसले आफ्नो भिन्नै समूह वा पार्टी बनाउने प्रयत्न गरिहाल्छ । नेकपा (ओली), नेकपा (प्रचण्ड–माधव), नेकपा (मसाल), नेकपा (वैद्य), नेकपा (विप्लव) नेकपा (माले), नेमकिपा गरी ७ वटा समूह देखिने गरी अझै रहेछन् । आहुति, गोपाल किराँती, ऋषि कट्टेललगायतका समूहहरु समेत यसमा जोड्ने हो भने एक दर्शन बढी कम्युनिष्ट समूहहरु अहिले पनि छन् ।

कम्युनिष्ट समूहका केही साझा विशेषता छन् । यी सबैले एकअर्कालाई गुट बन्दछन्, आफूलाई मूल पार्टी । अरुलाई नक्कली कम्युनिष्ट भन्दछन् आफूलाई खाँटी कम्युनिष्ट । यो ‘नक्कली’ र ‘खाँटी’ बीचको भेद के हो ? मानक के हो ? त्यो कसैले भनेको पाइन्न । सबैको आँखामा आफ्नो विचार र लाइन ठीक, अरुको गलत भन्ने हुन्छ । तर, यिनीहरुको विचार, सिद्धान्त, एजेण्डा, कार्यशैली र पार्टी संस्कृति बीच तुलनात्मक अध्ययन गर्ने हो भने खासै भिन्नता पाइन्न ।

जब यी मिल्छन्– त्यसअघिका सबै विश्लेषण, ठहर र आरोपप्रत्यारोप बिर्सिन्छन् । एकअर्कालाई लगाइएका ‘ट्याग’ हरु सहर्ष ‘मेडल’ स्वीकार गर्दछन् । ‘महान एकता’ भन्न थाल्दछन् । जब यी टुट्छन्- एकअर्कालाई सत्तोसराप गर्न थाल्दछन् । तल्लोस्तरमा ओर्लिएर एकअर्कालाई गाली, निन्दा र भर्त्सना गर्न थाल्दछन्– बोल्नेलाई भन्दा सुन्नेलाई लाज लाग्ने स्थिति बन्दछ । गाली गर्ने र गाली खानेलाई भन्दा त्यसभन्दा बाहिरका शरमले मुख छोप्नु, कान थुन्नुपर्ने हुन्छ ।

यस्ता आरोपप्रत्यारोपलाई कम्युनिष्ट समूहहरुले ‘अन्तर्संघर्ष’ भन्ने गर्दछन् । अन्तर्संघर्ष निर्मम, कठोर र अभद्र हुन सक्दछ भन्ने आम स्वीकृति हुन्छ । अन्तर्संघर्षको क्रममा भनिएका, बोलिएका कुराको कुनै ऐतिहासिक जवाफदेहिता वा उत्तरदायित्व हुँदैन । बोल्यो र बोलेपछि सकियो । त्यसपछि त्यो कुरा कसैले उठायो भने चुप लाग्यो, सकियो ।

यो नेपालका कम्युनिष्टहरुको मात्र हैन, विश्व कम्युनिष्ट आन्दोलनकै मूल चरित्रमध्ये एक हो । सोभियत संघमा लेनिन र मार्तोभको विवाद होस् वा स्टालिन, त्रोतस्की र बुखारिनको, त्यो यस्तै थियो । अझ त्यहाँ त भौतिक सफाया गर्नेसम्मको काम हुन्थ्यो । अन्तर्संघर्ष कै क्रममा स्टालिनबाट त्रोतस्की र बुखारिन मारिएका थिए । कतिको साँचो हो थाहा भएन, चुनुवाङ बैठकअघिको अन्तर्संघर्षको क्रममा डा. बाबुराम भट्टराईलाई मार्ने प्रयास भएको भन्ने सुनिएको हो ।

चीनमा माओ र लि स्याओची, देङ र चियाङ चिङबीचका विवाद उत्तिकै तिक्त थिए । माओले साओचीलाई सडकमा नाङ्गै पारेर हिंड्न लगाए । देङको उदयपछि उनले चियाङ चिङसँग प्रतिशोध साँधे, उनले जेलमै आत्महत्या गरिन् । पछिल्लोपटक सि जिन पिङ र बो सिलाईबीचको व्यक्तित्व टकरावले उत्तिकै तिक्त रुप लियो । सीका प्रतिस्पर्धी मानिएका बो अहिले जेलमा छन् । युगोस्लाभियामा टिटोका प्रतिस्पर्धी दजिलासले लामो जेल जीवन बिताउनु परेको थियो ।

सुदर्शन खतिवडा

नेपालको कम्युनिष्ट आन्दोलनले विश्वको वैचारिक विरासत मात्र भित्र्याएन, त्यसका कु–संस्कृति पनि संगसंगै भित्र्यायो । २००६ सालमा पार्टी स्थापनासँगै गुटहरु बीचको आरोपप्रत्यारोप शुरुवात भइसकेको थियो । २०१२ सालपछि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी, मोहनविक्रम सिंह र तुल्सीलाल अमात्यका गुटहरुबीच आरोपप्रत्यारोपको अन्त्यहीन श्रृङ्खला शुरुवात भयो । यही क्रममा ‘गद्धार पुष्पलाल’ जस्तो ‘महान कृति’ मोहनविक्रम सिंहले उत्पादन गरे । यथार्थमा त्यो लेनिनको पुस्तिका ‘गद्धार काउत्स्की’ बाट सापटी लिइएको शीर्षक थियो ।

त्यसपछिका सबै फुटफुट, विग्रह, विभाजन र अन्तर्संघर्षका क्रमका यस्ता आरोपप्रत्यारोप भएको देखिन्छ । २०५४ मा माले–एमालेको विभाजन हुँदा त्यो क्रम उत्कर्षमा थियो । प्रदीप नेपालले खुल्लामञ्चमा आमसभा गरेर वामदेव गौतमलाई देशकै ‘एक नम्बरको भ्रष्टाचारी’ घोषणा गरेका थिए । कम्युनिष्टहरुको बहुमत रहेको लेखा समितिले वामदेव गौतमले गृहमन्त्री हुँदा एयरपोर्टबाट ‘सेटिङमा सुन तस्करी’ गराएको प्रतिवेदन दिएको थियो ।

तर, त्यो प्रतिवेदनमाथि न कुनै कार्बाही भयो न त्यसपछि कुनै कम्युनिष्ट नेताले यो सवाल उठाए न वामदेव गौतमले नै कुनै नैतिक उत्तरदायित्व बहन गरे ।

अर्कोतिर वामदेव पक्षले माधव–केपी समूहलाई ‘राष्ट्रघाती महाकाली सन्धी’ गरेको, त्यसका लागि भारतीय गुप्तचर संस्था ‘रअबाट पैसा लिएको’ आरोप लगाएको थियो । दासढुंगा हत्याकाण्डमा माधव–केपीको हात रहेको कथा वामदेव पक्षका केशवलाल श्रेष्ठले टिएन प्रधान र रमेश प्रधानको नक्कली नामले धाराबाहिक लेखे । घनश्याम भुसाल, योगेश भट्टराई जस्ता जल्दाबल्दा युवा नेताहरुले ‘एमालेका १०१ अपराधहरु’ भन्ने पुस्तिका प्रकाशित गरेका थिए । यी सबै आरोपप्रत्यारोपप्रति पछि कसैले कुनै जवाफदेहिता लिएको पाइन्न ।

माओवादी जनयुद्ध शुरुवात भएपछि माओवादी र एमालेबीच फेरि त्यही क्रम शुरु भयो । दुवै समूहले एकअर्कालाई भित्तासम्म पुर्‍याएर गाली मात्र गरेनन्, एकअर्का विरुद्ध भौतिक सफायामा नै उत्रिए । माओवादीले दर्जनौं एमाले कार्यकर्तामथि सुराकीको आरोप र जनकार्बाहीका नाममा भौतिक दमन र हत्या गर्‍यो । एमालेले माओवादीमाथि दमन गर्न आतंककारी नियन्त्रण ऐन र संकटकालको समर्थन गर्‍यो । एमालेले माओवादी कार्यकर्तालाई ‘सेल्टर र खुराकी’ नदिन पार्टी पंक्तिमा परिपत्र नै गरेको थियो ।

त्यो अवधिमा प्रचण्ड र ओली एकअर्काको ज्यानी दुश्मनजस्तो देखिए । ओली प्रचण्डलाई ‘रोल्पाली बिरालो’ र ‘माँकाफुई’ जस्ता शब्दले गाली गर्थे । प्रचण्डले ओलीलाई ‘कम्युनिष्ट आन्दोलनभित्रको सूर्यबहादुर थापा’ भन्ने गरेका थिए । ओलीको ‘मानसिक सन्तुलन ठीक नभएको’ भन्दै ३३ दलीय मोर्चाले ओलीको मानसिक स्वास्थ्य जाँच गर्न राज्यसँग सार्वजनिक आव्हान गरेको थियो ।

जब एमाले र एमाओवादी बीच एकता भयो प्रचण्ड र ओली दुबैले ‘महान एकता’ भन्न भ्याए । दुवैले एकअर्कालाई ‘महान क्रान्तिकारी’ भनेर अंगालो हाले । ओली र प्रचण्डको एकताले जनयुद्ध र जनसंघर्ष बीच फ्युजन भयो भनियो ।

भित्री स्वार्थको कथा भने फरक थियो । यथार्थमा ‘आलोपालो प्रधानमन्त्री खाने’ सम्झौतापछि सबै पुराना पाप, अन्तर्विरोध र आरोपप्रत्यारोप पखालिएका थिए । ओली र प्रचण्डबीचको गैरवैचारिक, अपारदर्शी र स्वार्थकेन्द्रित सम्झौता ‘घिउ बेचुवा र तरबार बेचुवाबीचको सौदाबाजी’ जस्तो भएको र यसले निकट भविष्यमा ठूलो समस्या ल्याउन सक्ने आंकलन त्यतिखेरै भएका थिए । त्यतिखेर नेकपा पंक्तिले यो यथार्थलाई ढाकछोप गरेर राखेको थियो ।

अहिले त्यो आंलकन पुष्टि भएको छ । नेकपाका दुई गुट ओली र प्रचण्ड–माधव बीच फेरि उस्तै आरोप शुरुवात भएको छ । गज्जब त के छ भने कार्यकर्ताहरु यो वा त्यो ध्रुवमा विभाजित भएर आनन्दले ताली पिटिरहेका छन्, त्यस्तो तालीको कारण कस्तो राजनीतिक संस्कृतिले प्रोत्साहन पाइरहेको छ भन्ने तिर कसैले मतलब गरेका छैनन् ।

अहिले पनि ओली र प्रचण्ड–माधव गुटबीचका अधिकांश आरोपप्रत्यारोप गैरवैचारिक छन् । निम्नकोटीको गालीगलौज, निन्दा, भत्र्सना र व्यक्तिगत कुन्ठामा आधारित छन् । प्रचण्ड–माधव समूहले बैठकमा ओलीले कत्रा र कस्ता कुर्सी कतातिर राखिदिएजस्ता कुरा गर्दैछन्, जसको खासै महत्व छैन । मन्त्री र राजदूत ओली पक्षले एकलौटी खायो भन्ने गुनासो गर्दैछन्, त्यो कुनै ठूलो राजनीतिक सवाल हैन ।

उनीहरु करिब ३ वर्ष सँगै रहँदा ओलिज्मको जन्म, विकास र त्यसले निम्याएको विनाशबारे देशमा जुन सार्वजनिक बहस थियो, त्यसबारे उनीहरु मौन थिए । ओलीका यो वा त्यो कदमलाई उनीहरुले यो वा त्यो तरिकाले सार्वजनिक पुट दिएका थिए । २०७६ मंसिर ४ अघिसम्म ‘महान राष्ट्रवादी ओलीको जयगान’ प्रचण्ड–माधवको मुखारविन्दबाट कायमै थियो । संविधान निर्माण गर्दा बखतको मधेश असन्तुष्टिलाई दमन गर्ने कुरामा उनीहरु एक मत थिए । राज्य पुनर्संरचना, प्रदेश सीमांकन र नामांकनबारे ओलीतन्त्रका धारणाहरु प्रचण्ड–माधवले पनि काँध हालेर बोकी रहेका थिए ।

अहिले ओली प्रचण्डलाई १७ हज्जारको ज्यान उड्किंदैछन् । बाँदरमुँडे घटना सम्झाउँदैछन् । चितवनमा च्यातिएको मतपत्र सम्झाउँदैछन् । सिराहा मतगणनामा बत्ती निभाइएको सम्झाउँदैछन् । हेग लैजाने भनेर धम्काउँदैछन् । परिवारवादको पक्षपोषण गरेको, पूर्वलडाकुहरुको पैसा खाएको जस्तो आरोप लगाउँदैछन् ।

यी वा यस्ता घटना हुँदा ओलीका कुनै नैतिक दायित्व थिएनन् ? हिजो मिल्दा यी कुरा ओलीलाई थाहा थिएन ? प्रचण्डलाई १७ हजाार भनेर आरोप लगाउँदा आफ्नो राजनीतिक उदय ‘नक्सलवादी गोरिल्ला’ का रुपमा भएको र आफू र आफ्नो समूहले २०२७ सालको झापा विद्रोहमा घरमा सुतेका निशस्त्र १३ जना निर्दोष नागरिकको घाँटी रेटेको ओलीले बिर्सन मिल्छ ? नैतिक मापदण्डका दृष्टिकोणले ओलीले यो उठाउँनै नमिल्ने कुरा हो । तर, जबरजस्त उठाइरहेका छन् ।

दुःखको कुरा के छ भने यस्ता अनेक आरोपप्रत्यारोप बीच कुनै वैचारिक सैद्धान्तिक तथा एजेण्डागत बहस छैन । ओलीतन्त्र किन र कसरी जन्मियो ? आफ्नै पार्टी र सहकर्मीहरुलाई नटेर्ने बिन्दूमा त्यो कसरी पुग्यो ? ओलीतन्त्रका वैचारिक विशेषता र कार्यशैलीगत चरित्र केके हुन ? मानौं कि ओलीतन्त्र पराजित भयो, प्रचण्ड–माधव समूहसँग के त्यस्तो कुरा छ, जसले देशलाई ओलीतन्त्रले भन्दा राम्रो परिणाम दिन सक्दछ ? हिजो झण्डै दुईतिहाईको बहुमत हुँदा प्रचण्ड–माधव समूहले किन कहिल्यै थाँती बसेका सवाल र संविधान संशोधनको मुद्दा उठाएनन् ? यस्ता पक्षमा कसैलाई मतलव छैन ।

ओलीले एक प्रकारको भीडतन्त्रलाई प्रोत्साहित गरिरहेका छन् । उनलाई माक्र्सवाद–लेनिनवाद, जनवादी केन्द्रियताको सिद्धान्त, जनवादी वा समावजादी क्रान्ति, पार्टी विधान र पद्धतिप्रति कुनै मतलब छैन । प्रचण्ड–माधव गुटले ‘प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई हटाउन खोजेका थिए, प्रतिनिधिसभा विघटन गरेर मैले उनीहरुको षड्यन्त्र असफल बनाइदिएँ’ भन्नु बाहेक ओली पक्षसँग न कुनै तर्क छ, न कुनै वैचारिक पद्धति छ । तथापि भीडले ताली पिटेकै छ ।

प्रचण्ड–माधव समूह पनि देशका वास्तविक समस्याप्रति मौन छ । ओली गुट बलियो हुने डर बाहेक उनीहरुसँग अरु कुनै भावुकता, कल्पनाशिलता र भविष्यचिन्तन देखिन्नँ । शासकीय स्वरुप र निर्वाचन प्रणालीको प्रश्नमा उनीहरु त्यही छन्, जहाँ ओलीतन्त्र छ । संघीयता, प्रदेश सीमांकन, नामांकन र वित्तिय संघीयताको प्रश्नमा उनीहरु त्यही छन्, जहाँ ओलीतन्त्र छ ।

कर्मचारीतन्त्रको पुनर्गठन, संवैधानिक निकायमा हुने नियुक्ति प्रणाली, निष्पक्षता र तटस्थताको प्रश्नमा उनीहरु त्यही छन्, जहाँ ओलीतन्त्र छ । ओलीतन्त्रभन्दा फरक उनीहरुसँग न कुनै सुशासनको योजना छ, समृद्धिको । नेतृत्व हस्तान्तरणको पद्धति र मान्यतामा पनि उनीहरु ओलीभन्दा खासै फरक छैनन् ।

ओलीतन्त्र र उनीहरुको बीचमा सीमित वैचारिक, कार्यक्रमिक तथा नीतिगत भिन्नता छन् । त्यो एउटा प्रतिनिधिसभाको विघटन हो । ओली नयाँ चुनाव चाहन्छन् । उनीहरु पुनस्र्थापना चाहन्छन् । यतिसम्म कुरा ठीकै छ । त्यसबाहेक कुनै नविनता छैन । मानौं कि विघटित प्रतिनिधिसभा पुनस्र्थापना भयो, देशका राजनीतिक, आर्थिक संकटहरु कसरी हल हुन्छन्, त्यसबारे उनीहरुसँग कुनै परिकल्पना छैनन् ।

ओलीको भीडतन्त्रविरुद्ध उनीहरु अर्को प्रकारले भीडतन्त्रलाई प्रोत्साहित गरिरहेका छन् । उही सत्तोसराप, उस्तै आरोपप्रत्यारोप, उही विचार र एजेण्डाहीन गालीगलौज र निन्दा भर्त्सना, आवेश, आक्रोश र कुण्ठा ।

गज्जब त त्यतिखेर लाग्छ जब कम्युनिष्ट कार्यकर्ताहरु यो वा त्यो छोरमा उभिएर गाली सुन्नु र ताली पिट्नुलाई नै आफ्नो ज्ञान, चेतना, विवेक, संस्कार र संस्कृतिको सीमा ठानिरहेका हुन्छन् । समाजिक रुपान्तरणको प्रक्रिया कहाँनेर पुगेको छ, विद्यमान अन्तर्विरोध र समस्या के हुन ? तिनीहरुलाई समाधान गर्ने उपाय के हो ? कसरी सभ्य, सुशासित र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ ? यसका वैचारिक तथा कार्यक्रमिक पक्षतिर घोत्लिएर अन्तर्विरोधलाई मौलिक अर्थ र अन्तर्संघर्षलाई सार्थक मोड दिनुको साटो ‘जसोजसो बाहुनबाजे, उसैउसै स्वाहा’ गरिरहेका हुन्छन् ।

बाटो नमिल्दा निम्नकोटीको गालीगलौजमा उत्रिने कम्युनिष्ट प्रवृति कम्युनिष्टहरुको मात्र मामिला हो भनेर आँखा चिम्लिन सकिन्न । त्यसले राष्ट्रिय राजनीतिको संस्कृतिलाई नै प्रभावित गर्ने सम्भावना हुन्छ । कुनै दलमा देखिएका प्रवृति र संस्कृतिहरु अरु दलमा पनि सर्न सक्दछन् । स्वार्थकेन्द्रित टुटफुट, विचारहीन, अर्थविहीन गालीगलौजको कम्युनिष्ट संस्कृतिबाट देशको राजनीतिक संस्कृतिलाई मुक्ति दिन सबै पक्षबाट सार्थक पहलकदमी अत्यावश्यक छ ।

शासकीय सोच, कार्यशैली र शासनप्रणाली २०१७ सालतिर फर्किएको छ । उस्तै भाष्यका फेरि बजाउन थालिएको छ । युगले हामीलाई पुनः यस्तो दोबाटोमा उभ्याइदिएको छ जहाँ अगाडी बढ्नु वा पछाडि हट्नु जीवनमरणको सवाल बनेको छ । केवल बुख्याचा बनेर ‘कम्फर्ट जोन’मा उभिन पाइनेछैन ।

समयले सबैको मकुन्डो उतार्दैछ । एक भाषा, एक भेषको अहंकारवाद चिहानबाट उठ्न थालेको छ । आन्दोलनको राप र चापले बलजफ्ती गणतन्त्रवादी भएकाहरु राजतन्त्रवादी बन्नेछन् । धार्मिक असहिष्णुहरुको पुनर्जन्म हुन थाल्नेको छ । गोरखापत्रमा व्यक्ति प्रसंशाका दस्तावेजहरु छापिन थालेको छ । रेडियो नेपालबाट बिस्तारै प्रधानमन्त्री र राष्ट्रपतिको महावाणी पालैपालो बज्न थालेछ भने पनि अचम्म लाग्नेछैन ।

समाजका अन्तरविरोधहरु उत्कर्षमा पुगिरहेका छन् । यतिबेला विभिन्न पात्रहरु विभिन्न प्रवृत्तिको नेतृत्वमा पुग्छन् । प्रवृत्ति मिल्नेहरुको एकता हुनथाल्छ । अहिले जसले ओलीको कदमको विरोध गरिरहेका छन्, उनीहरुले पनि ओलीको भन्दा फरक संस्कार र संस्कृति पस्किन सकिरहेका छैनन् । उही गाली गलौज, उही विगतको व्याख्या । उही इतिहासको ब्याज खाने रहर ।

बिडम्बना, उनीहरुको पछि लाग्ने भीडले पनि उस्तैगरी ताली पिटिरहेका छन्, जसरी ओलीको गालीमा उनका समर्थकहरुले ताली पिटिरहेका छन् । प्रतिगमनविरुद्ध आन्दोलनमा उत्रिनेहरुको एजेन्डाको भिजिबिलिटी पनि त्यत्तिकै अस्पष्टता छ । ओलीले अहिलेको समस्या जन्माएका हुन् कि ओलीलाई अहिलेको समस्याले जन्माएको हो ? शासकीय स्वरुप, निर्वाचन प्रणाली, संघीयता, मुर्त समावेशिता, कर्मचारीतन्त्रकाे पुनर्गठन, राजनीतिक संस्कृति र कार्यशैली, अर्थतन्त्रको ढाँचा आदिमा के कस्ता परिवर्तन किन आवश्यक छ भन्ने बहस नेताहरुको भाषणमा कहिँकतै सुन्न पाइँदैनन् । जसले बोलिरहेका छन्, उनीहरु सुनिन्नन्, जो सुनिन्छन्, उनीहरु बोल्दैनन् ।

कम्युनिष्ट नियतिका निमित्त नायक मात्र रहेका ओलीलाई ओलीकै शैली र संस्कार पछ्याएर न विस्थापन गर्न सकिन्छ, न विस्थापन गरे पनि प्रगतिशील विकल्प निस्कन्छ । देशलाई समग्र विकल्प चाहिएको छ। त्यो विकल्प सिद्वान्त, विचार, एजेन्डा, नीति, याेजना र शक्तिमै हुनुपर्छ । यो गालीमाथि ताली पिट्नेहरुले बिगारेको देश हो । ताली खोज्न र पिट्न छाडेर विकल्पका लागि घोत्लिने कि ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay