scheduleबुधवारबैशाख ८ गते, २०७८

हिटलर उदयको कथाः लोकतन्त्रमा यसरी हुन्छ तानाशाहको उदय

जीम पोवेल

तानाशाही अक्सर अनपेक्षित हुन्छन् । ती सुरक्षित ठानिएका युरोप, एशिया र दक्षिण अमेरिकाका समृद्ध, शिक्षित र सुसंस्कृत जनताको बीचबाट समेत पैदा भएका छन् ।

एकक्षण जर्मनीकै बारेमा विचार गरौं– त्यो सबैभन्दा विरोधाभाषपूर्ण र नाटकीय घटनाक्रममध्ये एक थियो ।

१९ औं शताब्दिको उत्तरार्धमा जर्मनीको शिक्षा प्रणाली संसारकै सबैभन्दा राम्रो मानिन्थ्यो । यदि कुनै शिक्षाले बर्बरताबाट समाजलाई बाहिर निकाल्न सक्थ्यो भने जर्मनीको प्रणाली त्यो मार्गको नेतृत्वदायी थियो ।

त्यहाँ शिशुकक्षा, किन्डरगार्डेन र माध्यमिक शिक्षामा सांस्कृतिक प्रशिक्षणलाई जोड दिइन्थ्यो । जर्मनहरूले आधुनिक अनुसन्धानमुलक विश्वविद्यालयहरू विकास गरेका थिए । जर्मनहरू विज्ञानको विकास र उपलब्धिका लागि विशेष र महत्वपूर्ण थिए ।

कार्ल बेन्जले ग्याँसोलिन अटोबोमाइल आविष्कार गरे । रुडोल्फ डिजेलले कम्प्रेसन इन्जिन आविष्कार गरे । हेनरिख हर्जले विद्युतीय–चुम्बकीय तरंगको अस्तित्व फेला पारे । विल्हेम कोनार्ड रोन्टगर्नले एक्स–रे आविष्कार गरे । फ्रेडरिख अगस्ट केकुलेले रसायनिक संरचना सिद्धान्त विकास गरे । पौल एलरिचले पहिलोपटक भिरिङ्गी औधषीजन्य उपचार प्रणाली प्रयोग गरे ।

प्रष्टै छ कि अल्बर्ट आइस्टाइन सैद्धान्तिक भौतिकशास्त्रका ठूला विज्ञानी थिए । १९ औं शताब्दिमा अमेरिकाका ठूला विद्वानहरू आफ्नो डिग्रीमा लागि जर्मन विश्वविद्यालयहरू जानुलाई कुनै आश्चर्य मानिंदैनथ्यो ।

पहिलो विश्वयुद्ध पछि जर्मन विश्वविद्यालयहरूको भर्नादर तीव्र रुपमा बढ्यो । युद्ध अघि वार्षिक ७३ हजार थियो, सन् १९३१ तिर १२० हजार पुग्यो । सरकारले गरिब विद्यार्थीहरूका लागि पूर्ण क्षमतामा छात्रवृत्ति उपलब्ध गराउँथ्यो ।

एक इतिहासकारका अनुसार छात्रवृत्ति पाएका विद्यार्थीले फि तिर्नु पर्दैनथ्यो । पाठ्यपुस्तक निःशुल्क थिए । विद्यार्थीले खरिद गरिरहनु पर्ने चिजहरू जस्तै– पोशाक, औषधि, यातायात साधन, थियेटर तथा सांगीतिक समारोहका टिकटमा उल्लेखनीय मूल्य छुट पाउँथे । उनीहरूको शरीर र आत्मलाई स्वास्थ्य राख्न पर्याप्त हुने खाद्य सुविधा दिइन्थ्यो ।

१९ औं शताब्दिको उत्तरार्धतिर जर्मनीमा केही विरोधी भावना र आन्दोलनहरू पनि थिए तर ति धेरै बढ्न सक्ने सम्भावना भने थिएन । रुसमा दशकौंदेखि यहुदी विरोधी दङ्गा र उत्पीडन भइरहन्थे । रुसको बोल्शेभिक शासन कार्ल मार्क्सको सिद्धान्तप्रति समर्पित थियो ।

त्यसले ‘बुर्जुवा’ हरूलाई घृणा गर्दथ्यो । उनीहरूलाई समाज खराब तत्वका रुपमा चित्रण गरिन्थ्यो । लेनिन र उनका उत्तराधिकारी स्टालिनले यो दर्शनलाई अझ अगाडि बढाए । एउटा आफ्नो गाई भएको किसानलाई समेत ‘धनी’ भन्दै घृणा गर्ने अतिवाद त्यहाँ देखिन थालेको थियो ।

त्यस्तो बेला उच्च शिक्षित जर्मनीहरू एडोल्फ हिटलरजस्तो पागललाई आत्मसात गर्न किन र कसरी तयार होला ? छोटोमा भन्दा खराब नीतिहरूले आर्थिक, सैनिक र राजनीतिक संकटहरू निम्त्याएको थियो । त्यो समय आततायीहरूका लागि अनुकुल थियो ।

त्यसले जर्मनीको स्थितिलाई झनै खराब बनायो । जब मानिस अलिक धेरै रिसाउँछन्, आक्रोशित र निराश हुन्छन्, उनीहरूले त्यस्तो मान्छे मन पराउन थाल्छन्, जो सामान्य अवस्थाका लागि आकर्षक हुँदैन । त्यस्तो मान्छेलाई समर्थन गर्न थाल्दछन् जो अलिक बढी नै ‘क्रेजी’ हुन्छ ।

युद्धका अरु संघर्षरत पक्षहरू जस्तै जर्मनी पहिलो विश्वयुद्धमा युद्ध जित्ने अपेक्षाका साथ समेल भएको थियो । युद्ध जितेपछि युद्धको लागत पराजितहरूबाट पुर्ताल गर्ने सोचमा थियो । जर्मन सरकारले जनतालाई विश्वास दिलाउने प्रयत्न गर्‍यो कि उनीहरू युद्ध जित्दैछन् । तर जब सत्य बाहिर आयो, सबै चकित भए ।

अमेरिकी राष्ट्रपति विल्ड्रो बिल्सनले तेजिलो दिमागले जर्मनसँगको शान्ति सम्झौताका १४ बुँदाहरू पढे । तर अमेरिकी युद्ध साझेदार बेलायत र फ्रान्स आफ्ना क्षतिहरूको बदला लिन दृढ संकल्पित थिए । जर्मनीमाथि प्रतिशोधपूर्ण शर्तहरू मान्न बाध्य पार्न उनीहरूले जोड दिए ।

जर्मनहरूले अपमान र धोकाको अनुभूति गरे । जर्मनीको मुख्य सैन्य नेतृत्वले त्यस्तो सम्झौतामा हस्ताक्षर गर्नु भनेको घृणाको पात्र हुनु हो भन्ने अनुभूति गर्दै राजीनामा दिए । एक गैरसैनिक अधिकारीलाई हस्ताक्षार गर्न लगाइयो, जसको तुरुन्तै हत्या भयो । परिणामस्वरुप वाइमर गणतन्त्र, जर्मनीको नाजुक लोकतन्त्र तुरुन्तै बदनाम भयो ।

हिटलर वाइमर सरकार विरुद्धका प्रदर्शनकारीमध्ये एक थिए । सन् १९२० को फेब्रुअरीमा उनी जर्मन वर्कर्स पार्टीमा प्रवेश गरे । त्यसैलाई पछि जर्मन वर्कर्स नेशनल सोसलिष्ट पार्टी अर्थात् नाजी भन्न थालियो । यसले राष्ट्रवाद, समाजवाद, प्रति–पुँजीवाद, प्रति–संदेहवादको ढ्याङग्रो ठटाउन थाल्यो । जर्मनीका एक ख्यातिनाम इतिहासकार ओस्वर स्पेङगर समेत प्रारम्भमा नाजीवादबाट प्रभावित भए जसलाई ‘पर्सियन समाजवाद’ भनिन्थ्यो ।

हिटलरको सबैभन्दा राम्रो वा ठूलो क्षमता भनेकै राम्रो भाषण गर्नु थियो । हिटलर जताततै भाषण गर्दै, युद्धको परिणामबाट तिक्त र अन्यौलपूर्ण मानिसलाई अपिल गर्दै हिंड्न थाले । उनले जर्मन महानताको पुनःस्थापनाका लागि यहुदी, पुँजीवादीहरू र यिनीहरूका अन्य मतियारहरू बाधक रहेको भन्दै तिनको निन्दा गरे ।

इतिहासकार इयान केरशाँका अनुसार यदि जर्मनहरूमा पराजित युद्ध, क्रान्ति र राष्ट्रिय अपमानको गहिरो भावना हुँदैन्थ्यो भने हिटलरको कुनै माने हुँदैनथ्यो ।

त्यसमाथि मुद्रा स्फितिको संकट आयो । विजेता साझेदार राष्ट्रहरूले जर्मनले त्यत्रो पैसा एकैपटक कहाँबाट ल्याउँला भन्ने विचारै नगरी विना मोहलत भुक्तानीका दबाब दिन थाले । निर्यात व्यापार गरेर पैसा कमाउने जर्मन कम्पनीहरूका लागि व्यापारिक व्यवधान झनै कडा बनाइयो । युरोपमा त्यतिखेर भन्सार शुल्क तेब्बर भएको थियो । त्यसअघिको भन्दा ८०० प्रतिशतसम्म बढी हुन पुगेको थियो ।

जर्मन सरकार पुनप्र्रदान सम्झौता पुरा गर्न चुक्न थाल्यो । बेलैमा पैसा भुक्तान गर्न नसकेको निहुँमा फ्रान्सले सन् १९२३ को जनबरीमा रुहर क्षेत्रमा सेनाको टुकडी पठायो, जहाँ अधिकांश जर्मन उद्योगहरू थिए । जर्मन सरकारले ती उद्योगहरूलाई अनुदान दिन थाल्यो जसले फ्रान्सेली आक्रमणको निस्क्रिय प्रतिरोध गरे । अन्ततः सरकारको बजेट घाटा झनै बढ्यो ।

एकातिर पुनःप्रदान सम्झौताको पैसा तिर्न थियो, अर्कोतिर जर्मन सरकारमाथि कल्याणकारी राज्यको अवधारणा लागू गर्न वित्तिय दवाब थियो । जर्मन सरकारको आम्दानीको करिब ९० प्रतिशत ठूलो कर्मचारीतन्त्रको तलब भत्ता, सामाजिक कार्यक्रम, घाटामा गएका राष्ट्रिय व्यवसाय र अन्य अनुदानहरूमा खर्च हुन्थ्यो । सरकारले नगरपालिकाहरूलाई बजेट दिनै पर्थ्यो । सरकारलाई पेन्सन र सामाजिक सुरक्षा रकम दिन हम्मेहम्मे पर्न थालेको थियो ।

लाखौं जनताका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालित थियो । पेन्सन पाउने १५ लाख बढी जेष्ठ नागरिक थिए । कला क्षेत्रलाई समेत सरकारले अनुदान दिने चलन थियो । सरकारबाट अनुदान पाउने थुप्रै थिएटर र अपेराहरू थिए । सरकारी स्वामित्वको रेलवे सेवामा घाटा भइरहेको थियो । सरकार घाटामा भएका आँटा र मासु उद्योगलाई अनुदान दिन बाध्य थियो ।

जीम पोवेल

यी सबै रकम भुक्तानी गर्नका लागि जर्मन केन्द्रीय बैंक अतिरिक्त कागजी नोटको मुर्खतापूर्ण छपाई गर्न थाल्यो । सन् १९२३ मा मुद्रास्फिति पराकाष्ठमा पुग्यो । जर्मन सरकारको कुल खर्चको १.३ प्रतिशत मात्र कर तथा राजस्व आयले धान्न सक्यो । परिणम यो आयो कि ५ वर्षभित्रै १००० गुणा बढीले मूल्यवृद्धि भयो । मुद्रास्फितिले धेरथोर सबैलाई हानी पुर्‍यायो ।

बैंक बचतहरू पुनर्मूल्यांकन भए, मूल्यहीन बन्न पुगे । बेरोजगार कोइलाखानीका उत्खनकहरूले गाउँगाउँमा लुटपाट गर्न थाले । किनकी मूल्यहीन बनेको कागजी नोटसंग कृषि उपजको व्यापार गर्न गाउँका किसानले अस्वीकार गर्न थालेका थिए । सरकारले नयाँ लगान ऐन जारी गर्‍यो जसले जमिन्दारहरूलाई आफ्नै खर्च धान्न गाह्रो पर्थ्यो भने भू-सम्पति व्यापारीहरू निरुत्साहित हुन बाध्य हुन्थे । ती शहरीया घरजग्गा व्यवसायीहरू जसले विदेशीहरूबाट थप हाउजिङ कोलनी बनाउनका लागि ऋण लिएका थिए, ती सबै डुबे ।

टिकट बेचेको पैसाले पुस्तकालय वा संग्राहलय समेत नचल्ने अवस्था आयो । वित्तिय सहयोगको अभावमा वैज्ञानिक अनुसन्धान असम्भव भएको थियो ।

इतिहासकार कोर्नड हैडेनका अनुसार– ‘सन् १९२३ का शुक्रबारहरूको मध्याह्न, जर्मन फ्याक्टरी, विभागीय भण्डार, बैंक र कार्यालयहरूको अगाडि श्वेतरंगी कामदारहरूको लामो लाइनले पर्खिरहेको हुन्थ्यो ।’

उनीहरूले एक झोला कागजी पैसा प्राप्त गर्थे । यसरी उनीहरूले प्राप्त गर्ने पैसाको मात्रा प्रति महिना, प्रति दिन बढ्दै गइरहेको थियो । मानिसहरू त्यसपछि नजिकको खाद्य भण्डारमा जान्थे । त्यहाँ अगाडिदेखि नै लामो लाइन लागिसकेको हुन्थ्यो । जब उनीहरू पर्खेर सामना पाइने काउन्टरनेर पुग्थे, थोरै सामान पाउँथे, तर झोलाभरिको पैसा त्यही दिनु पर्थ्यो ।

हिटलरले त्यस्ता मानिसलाई अपिल गर्दै भाषण गर्थे । उनीहरूलाई हिटलरले ‘भोका खर्बपतिहरू’ भन्ने संज्ञा दिएका थिए । उनीहरूसँग अरबौंको कागजी पैसा हुन्थ्यो, तर एक टुक्रा रोटी पाउन गाह्रो थियो । यस्तो मुद्रास्फितिको बेला हिटलरले ५० हजार नाजी सदस्यहरू बनाए र सबैले चिन्ने राजनीतिक शक्ति बन्न पुगे । अर्थशास्त्री कन्स्टान्टिनो तुरानीले हिटलरलाई ‘मुद्रास्फितिले कोरलेको चल्ला’ भनेका थिए ।

सन् १९२३ को नोबम्बर ८ मा हिटलरले एक असफल कुको प्रयत्न गरे । उनी जेल परे । उनी आफ्ना केही नजिकका अनुयायीसँगै थुनिएका थिए । त्यही उनको ख्यातिनाम आत्मकथा ‘माई क्याम्फ’ लेखियो जो नाजीहरूको बाइबल सरह भयो ।

सन् १९२८ को चुनाबमा नाजीहरूले भाग लिए । केवल २.६ प्रतिशत मात्र भोट पाए । यदि जर्मनको राष्ट्रिय जीवन राम्रो तरिकाले अगाडि बढ्थ्यो भने हिटलरलाई सबैले बिर्सिसकेका हुने थिए । राजनीतिक शक्ति हासिल गर्न उनलाई अर्को संकट पर्खिनु पर्ने आवश्यकता थियो । गलत नीतिहरूको परिणाम स्वरुप अर्को संकट आयो । महान्दीको संकट ।

सरकारले अवमूल्यनका नीति लिएको थियो । यो नीतिले उपभोक्ताहरूको क्रय क्षमतामा ह्रास ल्याउँथ्यो । बजारमूल्यभन्दा माथि मूल्य निर्धारित भएका थिए तर ज्याला दर बजारमूल्यभन्दा तल थियो । सरकार प्रबर्दित कर्टेलिङले बजार प्रतिस्पर्धा कमजोर भएको थियो । उच्च कर दरले गर्दा आम्दानी, उपभोग र बचतबीच सन्तुलन मिलेको थिएन । मानिसलाई थोरै बचत गर्न पनि धेरै गाह्रो थियो ।

उच्च भन्सार दरले व्यापार थला परेको थियो । वैदेशिक मुद्रा र विनियमा सरकारको अतिनियन्त्रणका कारणले निर्यातक उद्योगहरूले बेलैमा भुक्तानी पाउँदैनथे । यी सबै कारणले गर्दा आर्थिक वृद्धि हुन सकिरहेको थिएन ।

मन्दीले बेरोजगारी जतिजति बढ्दै गयो, नाजी पार्टीको सदस्य संख्या र भोट पनि उत्तिउत्ति बढ्दै गयो। हिटलरले आक्रोश र विद्रोहको ज्वाला बाल्ल छोडेनन् । उनी देशभरि घुमिरहन्थे, भाषण दिइरहन्थे । उनी आफ्ना विरोधीहरूलाई सिध्याउन चाहन्थे, उनीहरूलाई दानवीकरण गर्दै गाली गर्थे । उनी विरोधीहरूलाई धोकेबाज भन्थे । नाजी पार्टीले एसए र एसएस नामका दुई जनमिलिसिया संगठन बनाएको थियो । तिनका सदस्यहरूले विरोधीहरूमाथि घातक हमला गरिरहन्थे । उनीहरू भीडमा पसेर हिंसा मच्चाउँथे ।

प्रत्येक दिन, प्रत्येक रात नाजीहरूको जुलुस, र्याली र सभा हुन्थ्यो । हिटलरका अनुयायीहरूले नाजी अखबर, नाजी सिनेमा, नाजी दस्तावेज, प्रतिवेदन, पुस्तिका उत्पादन र वितरण गर्थे । सन् १९३३ को जनवरीको चुनावमा नाजी देशकै सबैभन्दा ठूलो राजनीतिक दल भयो । हिटलर जर्मनीको चान्सलर, सरकार प्रमुख बने । के भइरहेको हो भन्ने कुरा अरुले राम्ररी ठम्याउन नसक्दै उनले राज्यशक्तिलाई आफू वरिपरि सुसंगठित गरिसकेका थिए ।

हिटलरले अब शक्ति पृथकीकरण, अधिकार प्रत्यायोजनसहितको एउटा सानो सरकार मात्र हैन, एक विशाल कल्याणकारी राज्य कब्जा गरेका थिए । जर्मनीका यस्तो विशाल राज्यसंगठन निरंकुश चान्सलर ओटोभान विस्मार्कले खडा गरेका थिए । पहिलो विश्वयुद्धको दौरान यसको अझ विस्तार भएको थियो । त्यस दौरान अर्थतन्त्रमाथि राज्यको नियन्त्रण बढेको थियो । खरखजनाका सबै कारखानाहरू सरकारीकरण भएका थिए । त्यस्ता सबै निजी कारोबारहरू बन्द गरिएका थिए, जसलाई सरकारी अधिकारीहरू अनावश्यक ठान्थे ।

त्यहाँ बलात श्रमको प्रचलन थियो, सरकारी अनुमति विना कसैले पनि रोजगार परिवर्तन गर्न पाउँदैनथ्यो । मानव सभ्यतामै पहिलोपटक ‘युद्ध समाजवाद’ को समाजवादी अर्थतन्त्र प्रकट भएको थियो, जसलाई पछि लेनिन र कम्युनिष्ट सिद्धान्तकारहरूले नमुनाका रुपमा उपयोग गरे । युद्ध गठबन्धन राष्ट्रहरूको चुनौतिको कारण जर्मनीको युद्ध संयन्त्र ध्वस्त भएको थियो तर सरकारी स्वामित्वको अर्थतन्त्र जीवितै थियो ।

हुन त हिटलरले ४ बर्षे आवधिक केन्द्रीकृत आर्थिक योजना मार्फत् सोभियत मोडेलेको सिको गर्न खोजेका थिए तर त्यो एक पूर्ण बाह्यमुखीभन्दा पनि एक प्रकारको निसासिएको तरिका थियो । त्यतिखेर नाम मात्रको निजी स्वामित्व थियो । अर्थतन्त्रका सबै क्षेत्र सरकारी नियन्त्रणमा थिए । बेरोजगारी हल गर्न हिटलर महिला, पुरुष सबैलाई बलात श्रमको नीतिमा सामेल गरे । अर्थतन्त्रमा सरकारी नियन्त्रणको कारण उनको शासकीय शक्तिलाई चुनौति दिन कसैका लागि पनि संभव थिएन । हिटलर गुप्तचरी, मृत्यु शिविर बनाए । युद्ध संयन्त्रलाई फेरि जगाए ।

हिटलरका त्यसपछिका कृत्य र विश्व मानवताले व्यहोरेको क्षतिबारे भनिरहनु नपर्ला । तर, आज पनि हिटलरको उदयको कथाबाट हामीले केही शिक्षा लिन सक्दछौं । पाठ सिक्न सक्दछौं ।

गलत आर्थिक तथा विदेश नीति संकटका कारण बन्न सक्दछन्, त्यसबाट खतरनाक राजनीतिक श्रृंखलाको शुरुवात हुन सक्दछ । राजनीतिज्ञहरू सामान्यतया राष्ट्रिय विपतहरूलाई हल गर्न राजनीतिक शक्तिको पुनःस्थापनालाई अनिवार्य ठान्दछन् तर खराब शासनको कारणले सृजित गलत नीतिहरूले निर्माण गर्ने समस्याहरू अझ गहिरा हुन्छन् ।

अप्ठ्यारो समयमा मानिसहरू त्यस्तो बाटो हिड्न र समर्थन गर्न मन पराउँछन्, जुन सामान्य, सजिलो र राम्रो अवस्थामा कल्पना पनि गरिन्न । तानाशाही शासन उदयको एउटा पाटो आर्थिक संकट र बर्बादी पनि हुन्छ, राज्यले उचित आर्थिक नीति, कर प्रणाली, खर्च व्यवस्था गर्न सकेन भने अर्थतन्त्र सखाप हुन सक्दछ ।

खराब मानिसलाई शासनमा पुग्नबाट रोक्ने सहज क्षमता लोकतन्त्रसँग पनि हुँदैन । शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा संवैधानिक प्रक्रियाको विचलनलाई बेवास्ता गर्नु हुँदैन । स्वतन्त्रता र लोकतन्त्रको रक्षा त्यतिखेर मात्र गर्न सकिन्छ, जब स्वयं नागरिकमा यसप्रतिको मोह हुन्छ ।

(करिब ७ वर्ष अघि फोर्ब्समा प्रकाशित एक लेखको सम्पादनसहितको अनुवाद)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay