सत्तारुढ नेकपाले मदन भण्डारीभन्दा केपी ओली लोकप्रिय देखेको हो ?
साझापोष्ट विश्लेषणकाठमाडौं, २४ माघ । ‘शुक्रबार काठमाडौंमा आयोजित आमसभामा सवा २ लाख मानिस उपस्थित थिए । अहिले केपी शर्मा ओलीको जस्तो क्रेज अरु कसैको पनि छैन । कुम जोडेर बस्ने कमरेडहरुले दायाँ फर्किँदा बायाँले हान्ने, बायाँ फर्किँदा दायाँले हान्ने गरेर प्रताडना पारिरहेको एउटा अध्यक्षले त्यो मास, जसले प्रत्येक बोलीमा आइ लभ यू भन्दै थियो । त्यसबाट उहाँ भावुक हुनुभयो । उहाँ अडिनु भयो, आँशु पुच्छु भयो र तपाईहरुसँग म छु भन्नुभयो । यसले देशमा प्रधानमन्त्री ओलीभन्दा बढी क्रेज अरु कसैको छैन भन्ने प्रष्ट भएको छ ।’
यो बुझाई हो प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको । शनिबार नुवाकोट काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा उनले व्यक्त गरेको विचारले बालुवाटारको बुझाई प्रतिनिधित्व गर्छ नै ।
बालुवाटारको यो बुझाई शनिबारको नारायणहिटी गेटको कार्यक्रममा पनि अभिव्यक्त भएको थियो । आफूलाई जबजको उत्तराधिकारी ठान्ने प्रधानमन्त्री केपी ओली र उनको विचार समूहले मदन भण्डारीलाई ब्यानरको एउटा सानो कुनामा लुकाएका थिए । जहाँ मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको पनि साना तस्बिरहरु थिए । ब्यानरको एउटा सानो कुनामा बाहेक अरु सबैतिर केवल केपी ओली नै ओली थिए । पुत्लामा ओली थिए, पोल र पोस्टरहरुमा ओली थिए । ज्याकेटमा ओली थिए र फेटामा ओली थिए थिए ।
कतिपयले ज्ञानेन्द्र शाहको शासनकालमा जस्तै ओलीको देवत्वकरण र व्यक्ति पूजा भइरहेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी पनि गरिरहेको पाइन्छ । यो टिप्पणी सत्यको नजिक किन पनि छ भने विष्णु रिमालदेखि स्कूले केटाकेटीसम्म जो ओली समूहसँग आवद्ध छन्, उनीहरु पनि ‘आई लभ यु केपी ओली’ भनिरहेका छन् ।
ओली मञ्चमा आउँदा कार्यक्रम सञ्चालक ओलीलाई राष्ट्रनायक भनेर नारा लगाइरहेका थिए । ओलीलाई समावेशी प्रजातन्त्रका धरोहर (कार्यक्रम सञ्चालक आनन्द पोखरेलले समावेशी लोकतन्त्र नभनेर समावेशी प्रजातन्त्र भनिरहेका थिए) भनेर चिच्याइरहेका थिए । दर्शकदिर्घाबाट हुटिङ आइरहेको थियो ।
आमसभाका लागि तय गरिएका नाराहरुमा पनि ओली धेरै ठाउँमा भेटिन्थे । ‘केपी ओली राम्रो होः सूर्य चिन्ह हाम्रो हो’, ‘नेपाली जनता के भन्छन्ः केपी ओली ले भन्छन्’, ‘आज होइन भोलीलाईः १० वर्ष ओलीलाई’ जस्ता नाराहरु नै तय गरिएको थियो ।
यी सबै दृश्य र घटनाक्रम नियाल्दा प्रश्न जन्मिन्छ- के अब बालुवाटारलाई मदन भण्डारीभन्दा केपी ओली बढी लोकप्रिय छन् भन्ने लागेको हो ? ओली नजिकका मानिसहरुले यस्तै सन्देश दिइरहेका छन् ? ओलीले यो कुरा पत्याइरहेका छन् ? कि ओलीलाई पनि भित्रैदेखि यही कुरा लागिरहेको छ ?
यसका सोलोडोलो दुई उत्तर हुन्छन् । पहिलो- ओली मदन भण्डारी र मनमोहन अधिकारीभन्दा बढी लोकप्रिय छन् । दोस्रो- अवस्था यस्तो होइन तर, ओलीलाई यस्तो भ्रम पारिएको छ र उनले विश्वास गरिरहेका छन् ।
शुक्रबार नै धादिङबेसीमा नेकपाको दाहाल-नेपाल समूहको विरोधसभामा नेता योगेश भट्टराईले भने यसलाई मण्डले प्रवृत्तिको संज्ञा दिए । नेता भट्टराईले आई लभ यु ओली भन्दै मण्डले प्रवृत्ति देखाइएको टिप्पणी गरे । उनले कम्युनिष्टहरुको दर्शन भक्ति दर्शन बनाउने प्रयास ओली समूहले गरेको बताए । ‘केपी ओली अन्त हुँदा ओली मात्र होइन, ओली प्रवृत्ति नै अन्त्य हुन्छ, आइ लभ यु केपी ओली भन्ने मण्डले प्रवृत्ति यो देशबाट सदाका निम्ति अन्त्य हुनेछ,’ उनले भने, ‘कम्युनिष्ट पार्टीको दर्शन भौतिकवादी दर्शन हो कि भक्ति दर्शन हो ? आज केपी ओलीको जयजयकार भइरहेको छ, खुट्टा धुन थालिएको छ ।’ उनले हिजोका राजा महाराजाले जस्तो केपी ओलीको पोस्टर टाँग्न थालिएको बताए ।
नेकपा नेता राम कार्की भन्छन्, ‘ओली समूहमा मार्क्स, लेनिन, माओ, पुष्पलाल, मदन भण्डारी, मनमोहन कसैको पत्तो छैन । पुष्पलालको प्रसिद्ध भनाई छ- नेता होइन, नीति प्रधान हुन्छ ।’
कार्की नारायणहिटीको सभा सम्झाउँदै अगाडि भन्छन्, ‘हिजो देख्नुभयो काठमाडौंमा । ठूलाठूला हनुमानको जस्तो मूर्ति राखिएको थियो ओलीको । मार्क्स, लेनिन, माओ, पुष्पलाल, मदन भण्डारी, मनमोहन कोही छैनन्, केवल ओली छन् ।’
ओली समूह एकेश्वरवादी अर्थात् एउटै ईश्वर मान्ने समूहमा परिणत भएको उनको टिप्पणी थियो । धर्ममा पनि पन्थ हुने बताउँदै उनी भन्छन्, ‘वैष्णवमा ठाडो टिका लगाउने कि तेर्सो टिका लगाउने भन्ने हुन्छ । मुस्लिममा सिया कि सुन्नी । क्रिश्चियनहरुमा क्याथोलिक कि प्रोटेस्टेन्ट । दुई मत त छ ।’
यस्तै ओलीमा पनि दुई मत भएको उनको बुझाई छ । ‘एउटा बावादी र अर्को कमरेडवादी । त्यो पार्टी पनि एकढिक्का चाहिँ छैन । ओली हिजो जेल परेको थाहा पाएका, ओलीको इतिहास थाहा पाएका उनीहरुले ओलीलाई कमरेड भन्छन्, नाम बोलाउँदा पनि कमरेड ओली भन्छन् । ती चाहिँ पछौटे र सोझा हुन्,’ बौद्धिक नेताको छवि बनाएका उनी भन्छन्, ‘अर्काथरी असाध्यै बाठा छन्, तिनले कामरेड नभनेर बा भन्छन् । बावादी । अहिले ओली समूहभित्र सबै फुर्तिफार्ती बावादीको छ ।’
ओली समूहभित्रको बावादीहरु आफ्नै बालाई नमाने पनि, सम्मान नगरे पनि ओलीलाई चाहिँ गरिरहेको नेता कार्की टिप्पणी गर्छन् ।
नेता भट्टराई र कार्की ओलीको अध्यक्षतामा एउटै झण्डामुनि लामो समय सहकार्य गरेका नेताहरु हुन् । पार्टी विभाजनको पीडा र फरक समूहमा रहेका कारण उनीहरुको टिप्पणीमा केही आग्रह पनि मिसिएका हुनसक्छन् । तर, सडकको दृश्य भने यस्तै देखिएको छ जो उनीहरु भनिरहेका छन् ।
बालुवाटारमा पनि ओलीलाई बा भन्नेहरुको बाहुल्यता रहेको र त्यहाँ सिनियर र लजिकल नेताहरुको तर्क नसुनिने गरेको खबरहरु बाहिर आइ नै रहेका छन् । नेता सुवास नेम्वाङसम्मलाई थाहा नदिई संसद विघटन गरिएको खबर नेकपाका अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमा बताउँदै आइरहेका छन् । प्रदीप ज्ञवालीले त मन्त्रिपरिषद बैठकमै संसद विघटन गर्न नहुने भन्दै प्रधानमन्त्रीलाई रोक्न खोजेको खबर त्यतिबेलै बाहिरिएको थियो ।
आमसभाका मञ्चहरु बनाउनेदेखि नेतृत्व स्थापित गर्ने कामहरुमा ओली समूहभित्र राम कार्कीकै भाषामा कामरेडवादी भन्दा बावादीहरुको बाहुल्यता भएको व्यवहारले नै देखाइरहेको छ । यसबाट ओलीलाई पार्टी बावादीहरुले प्रभावित बनाइरहेका छन् र ओली पनि आफू लोकप्रिय रहेको र मदन र मनमोहनहरु मात्र होइन, मार्क्स पनि ल्याउन आवश्यक छैन भन्ने निष्कर्षमा पुगेका हुन सक्छन् ।
अहिले सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्षमा माकुराको जालो लागिरहेको बिम्ब प्रयोग गरेर सञ्चारमाध्यमले खबर लेखिरहेका छन् । देश बालुवाटारको साँघुरो कोठा र ओली समूहका केही खास मान्छेहरुबाट चलिरहेको छ । बालुवाटारका साँघुरा कोठाहरुमा केही थान मानिसहरुले चलाएर ओली चलिरहेका छन् र उनलाई अब मदन भण्डारी पनि बेच्न आवश्यक छैन जस्तो लागिरहेको छ भने अरुले के भन्न सक्छन् र ? समयले नै साँचो झूटोको फैसला गर्ला ।