scheduleशुक्रवार आश्विन १ गते, २०७८

पत्रकार महासंघ प्रदेश नं. २ ले विधानविपरित काम गरेको आरोप

एसपी यादव/सर्लाही, २४ माघ । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सात जिल्लाका शाखा अध्यक्षहरुको बैठक शनिबार जनकपुरमा सम्पन्न भएको छ ।

शाखा अध्यक्षहरुको बैठकले नेपाल पत्रकार महासंघ प्रादेशिक समिति-२ ले नयाँ सदस्यता वितरण र नवीकरणको सन्दर्भमा गरेको निर्णय त्रुटिपूर्ण रहेको ठहर गर्दै त्यसलाई तत्काल सच्याउनका निम्ति दुई बुँदे निर्णय गर्दै प्रेस विज्ञप्ति जारी गरेको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को प्रादेशिक समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरी विधान विपरीत नयाँ सदस्यता वितरण, नवीकरण र थप घट गर्ने काम गरेकोले त्यसलाई अविलम्ब सच्याउन माग गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले जानकारी गराएका छन् । उनी भन्छन्, ‘नेपाल पत्रकार महासंघ प्रादेशिक समिति- २ को अगामी फागुन १ गते वीरगन्जमा हुने दोस्रो अधिवेशन अगावै नयाँ सदस्यता वितरण र नवीकरणको सन्दर्भमा देखिएका समस्याहरुको समाधान नभए अधिवेशनमा हाम्रो सहभागिता रहन सक्दैन ।’

प्रादेशिक समिति- २ का उपाध्यक्ष केसी लामिछाने, महासचिव किरण कर्ण, सचिव आरएन विश्वास, मधेसी पत्रकार समाज प्रदेश नं. २ का अध्यक्ष बिरेन्द्र रमन लगायत सात जिल्लाका शाखा अध्यक्षहरुले जारी गरेको प्रेस विज्ञप्ति नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झालाई बुझाएका छन् । केन्द्रीय सदस्य अवधेश झाले प्रेस विज्ञप्ति बुझ्दै भने, ‘नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को प्रादेशिक समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरी विधान विपरीत नयाँ सदस्यता वितरण, नवीकरण र थप घट गर्ने लगायतका समस्याहरुको चाँडो भन्दा चाँडो समाधान हुने मलाई विश्वास छ ।’

गत बिहीबार मधेसी पत्रकार समाज सर्लाही शाखाले पनि प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ प्रादेशिक समिति- २ ले नयाँ सदस्यता वितरण र नवीकरणको सन्दर्भमा गरेको निर्णय त्रुटिपूर्ण रहेको ठहर गरेको थियो । मधेसी पत्रकार समाज सर्लाही शाखाका अध्यक्ष राम गोविन्द यादवले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ प्रादेशिक समिति- २ ले गरेको त्रुटिपूर्ण निर्णय तत्काल सच्याउन उनले माग गरेका थिए ।

बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय इन्द्रदेव यादव र अवधेश झा, प्रादेशिक समिती- २ का उपाध्यक्ष केसी लामिछाने, महासचिव किरण कर्ण, सचिव आरएन विश्वास, मधेसी पत्रकार समाज प्रदेश नं. २ का अध्यक्ष बिरेन्द्र रमन लगायत सात जिल्लाका शाखा अध्यक्षहरु उपस्थिति रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय