scheduleमगलवारबैशाख ७ गते, २०७८

ओलीतन्त्रसँग निर्णायक संघर्षको प्रश्न

डम्बर खतिवडा

‘ख्यालख्याल मै झेल पर्‍यो’ भन्ने उखान जस्तो देश हेर्दाहेर्दै निक्कै कठिन, जटिल र पेचिलो शक्तिसंघर्षमा आइपुगेको छ । यो संघर्षको एकातिर ओलीतन्त्र र यसको प्रगितमन छ । अर्कोतिर लोकतन्त्र र संविधानवादको रक्षा र विकासको प्रश्न छ ।

यो दुई कित्ताको ध्रुवीकरणमा अब कोही पनि लामो समय तटस्थ बस्न सक्दैन । तटस्थ बस्न मिल्दैन । कि त ओलीतन्त्र र प्रतिगमनको मतियार हुन राजी हुनु पर्दछ कि त त्यसको विरुद्ध सत्तिसालझैं ठिङ्ग उभिएर निर्मम संघर्षमा सामेल हुने साहस गर्न पर्दछ ।

यो संविधानलाई ‘आधा गिलास खाली, आधा गिलास भरी’ मानिएको थियो । संविधान संशोधनमार्फत् संविधान विकासका लागि गर्नुपर्ने थुप्रै कामहरू बाँकी नै थिए । शासकीय स्वरुप, निर्वाचन प्रणाली, बहुसाँस्कृतिकतावादको प्रत्याभूति, प्रादेशिक भाषा व्यवस्थपन, प्रदेशको पुनर्सीमाङ्कन, वित्तिय संघीयता, कर्मचारीतन्त्रको पुनर्गठन, जनलोकपालको व्यवस्था, मूर्त समावेशिता, अनुपातिक आरक्षण र सामाजिक बजार अर्थतन्त्रको निर्माणजस्तै थुप्रै कार्यभारहरू बाँकी थिए । तर, ओलीले त्यही ‘आधा भरिएको’ पनि घोप्ट्याई दिएर ‘गिलास रित्तो’ बनाइदिए ।

ओलीतन्त्रको यो कुकर्मविरुद्ध कसरी लड्ने, ओलीतन्त्रलाई कसरी पराजित गर्ने, लोकतन्त्र र संविधानवादको अवधारणालाई कसरी ठीक ठाउँमा ल्याउने र संविधानको विकास कसरी गर्ने ? यी प्रश्न आज ज्वलन्त भएर अगाडि आएका छन् । तथापि घटना–प्रक्रियाको गम्भीरतालाई बुझ्ने, पर्गेल्ने, सही निष्कर्ष बनाउने र तदनुरुपको पहलकदमी लिने काम अझै पर्याप्त मात्रामा हुन सकिरहेको छैन ।

विश्व राजनीतिका अनुभवहरू हेर्दा लोकतन्त्रभित्र हुने तानाशाहीको उदयले अन्ततः कहालीलाग्दो दुस्परिणाम निम्त्याएको देखिन्छ । यसको सबैभन्दा धेरै चर्चा हुने र अध्ययन गरिएको घटना जर्मनीमा एडोल्फ हिटलरको उदय थियो । हिटलर र ओलीतन्त्रका बीचमा थुप्रै मिल्दाजुल्दा बिशेषताहरू छन् ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

हिटलर सामान्य गरिबबाट उठेका कम शिक्षित राजनीतिज्ञ थिए । यो गुण ओलीसँग मिल्छ । घाइते सैनिक भएको हुँदा उनको शारीरिक अवस्था र स्वास्थ्य कमजोर थियो । यो कुरा पनि ओलीसँग मिल्छ । सैनिक नभए पनि ओली झापा विद्रोहका लडाकु थिए । उनको शारीरिक र स्वास्थ्य अवस्था सधै कमजोर रह्यो ।

हिटलरको चर्चा एक विद्रोहमा जेल परेबापत् बढेको थियो । ओली पनि झापा विद्रोहमा १४ वर्ष जेल परेबापत् राष्ट्रिय राजनीतिमा चर्चामा आए, यो कुरा पनि मिल्छ । हिटलर सामान्य जनस्तरको भाषामा आक्रमक भाषणहरू गर्थे, यो कुरा पनि ओलीसँग मिल्छ । हिटलरको लोकप्रियताको सबैभन्दा महत्वपूर्ण कारण उनको आक्रमण र विरोधीहरूलाई गाली गरिएको भाषण थियो । ओलीको लोकप्रियताको मुख्य कारण पनि त्यस्तै भाषणहरू हुन् ।

हिटलरले जर्मन वर्कर्स पार्टी भन्ने एउटा सानो पार्टीबाट राजनीति शुरुवात गरेका थिए । ओलीले राजनीति शुरुवात गरेको पूर्वकोशी प्रान्तीय कमिटी पनि त्यो बेला सानो पार्टी थियो । हिटलर पछि त्यही पार्टीको नाम फेरेर नाजी पार्टी बनाएका थिए । हिटलरको शक्तिको स्रोत राष्ट्रवाद थियो । त्यो पनि उत्तरी जर्मन क्रिश्चियन आर्यनहरूको मनोविज्ञान र बर्चश्वको भावनामा आधारित । उनी यहुदी, कम्युनिष्ट, लोकतन्त्रवादी र अन्य साना समुदायहरूलाई तीव्र निन्दा, भर्त्सना र गाली गर्थे ।

ओलीको राष्ट्रवाद पनि निश्चित जातीय नश्लवाद र बर्चश्वको भावनामा आधारित छ । उनी आदिवासी/जनजाति, मधेसी, थारु, दलितलगायतका सबै सीमान्तकृत समुदायको आन्दोलनलाई गाली र निन्दा गर्दछन् । झापा विद्रोहमा आफू व्यक्तिहत्यामा सामेल भएर जेल परेकोमा गौरव गर्दछन्, त्यो भन्दा हज्जारौं गुण ठूलो र महत्वपूर्ण टिकापुर जनविद्रोहका बन्दीहरूलाई जेलमा थुनेबापत् उल्टै गौरवान्वित हुन्छन् । हिटलर र ओलीको दुवैको मनोविज्ञान उत्तिकै कुण्ठित र इगोग्रस्त देखिन्छ ।

हिटलर सत्तामा चुनाव जितेर आएका थिए । ओली पनि सत्तामा चुनाव जितेर आएका हुन् । हिटलर र ओलीबीच यस्ता दर्जनौं समानताहरू छन् ।

जर्मनीजस्तो एक सभ्य, सुशासित र शिक्षित देशमा हिटलरजस्तो शासकको उदय किन भयो ? किन उनकै कारणले राजनीतिक द्वन्द्व बढ्दै गयो, अन्ततः त्यो कसरी दोस्रो विश्वयुद्धको कारण बन्यो र करोडौं मानिसले ज्यान गुमाउनु पर्‍यो ? यसबारे विद्धानहरूले अनेक शोधहरू गरेका छन् ।

अमेरिकी राजनीतिशास्त्री जीम पोवेल भन्छन्, ‘कुनै पनि देशको आर्थिक, राजनीतिक, सैनिक र कुटनीतिक संकट पराकाष्ठमा पुग्दा असाधारणा स्थिति उत्पन्न हुन्छ, असाधारण अवस्थामा नागरिकले असामान्य चरित्र भएको मान्छे रोज्दछन्, सामान्यतः त्यस्तो नेतृत्व साधारण र सन्तुलित समाज भएको अवस्थामा कल्पना पनि गरिन्न, पागलपनपूर्ण मानिन्छ । तर असमान्य अवस्थामा पागलपनपूर्ण नेतृत्व नै सही उद्धारकजस्तो प्रतीत हुन्छ ।’

जीम पोवेलको थप निष्कर्ष छ, ‘लोकतान्त्रिक पद्धतिले परिणाम दिन सकेन भने नागरिकमा वितृष्ण बढ्छ र स्वतन्त्रताप्रतिकै मोह घट्न थाल्दछ । लोकतन्त्रले के दियो ? स्वतन्त्रताले के दियो ?’ जस्ता अवाञ्छित प्रश्नहरू जन्मिन थाल्दछन्, ठीक यस्तो अवस्थामा नै फासीवादी तथा नाजीवादी शासकहरूको उदय हुने हो ।

महान वैज्ञानिक अल्बर्ट आइस्टाइन यहुदी थिए । जर्मनीमा हिटलरको उदय भएपछि उनी अमेरिका पलायन हुन बाध्य भए । आइस्टाइनलाई अमेरिकामा पत्रकारहरूले सोधे, ‘तपाईजस्तो महान वैज्ञानिकले हिटलरको उदय हुँदैछ भन्ने थाहा पाउनु भएन, त्यसलाई किन रोक्नु भएन ?’

आइस्टाइनले उत्तर दिएका थिए– ‘हिटलरको उदय हुँदैछ, त्यसले भयानक क्षति गर्ने छ भन्ने अनुमान मलाई थियो तर त्यसलाई रोक्ने ताकत भने मसँग थिएन ।’ जर्मन बुद्धिजीवीहरू नै त्यो बेला हिटलरको विचारबाट भ्रमित भएका थिए । विशेषतः ती जातीय समुदायका विद्वानहरू जो नश्लले उत्तरी जर्मन आर्यन र धर्मले क्रिश्चियन थिए । ओली राष्ट्रवादले पछिल्लो चरणमा पहिरिन खोजेको हिन्दुत्वको कवच यहाँनेर स्मरणीय छ ।

यस सन्दर्भमा मार्टिन हाइडेगरको चर्चा उपयुक्त हुन सक्दछ । हाइडेगर त्यो समयका सर्वाधिक चर्चित र शक्तिशाली विचारक तथा दार्शनिक थिए । हिगेलको ‘परमसत्य’ र नित्सेको ‘शक्तिको चाहना र सुपर म्यान’ को अवधारणालाई हाइडेगरले दार्शनिक जलपको रुपमा प्रयोग गरेका थिए । हाइडेगरले जर्मनीका लागि त्यो ‘सुपर म्यान’ हिटलर नै हो र उसँग ‘निरपेक्ष सत्य’ अन्तर्निहित छ भनेर दार्शनिक तहमा पुष्टि गर्न खाजे ।

हिटलरले हाइडेगरलाई बर्लिन विश्व विद्यालयको उपकुलपति बनाए । उनले सयौं लेखक तथा दार्शनिकहरूको टिम बनाएर हिगेल र नित्सेलाई सही, कार्ल मार्क्स र आइस्टाइनलाई गलत सावित गर्न कयौं बौद्धिक कसरतहरू गरे । हज्जारौं कार्यशाला गरियो, दर्जनौं जर्नलहरू निकालियो । उनीहरूको जोड लोकतन्त्रका विरुद्ध आवश्यकताको सिद्धान्तलाई पुष्टि गर्नु थियो । यहाँसम्म की उनीहरू आइस्टाइनको सापेक्षता सिद्धान्त किन गलत छ भनेर कयौं लेखहरू लेखिरहन्थे ।

जब हिटलरको पतन भयो, सोभियत सेनाले घेरा हाल्दै लगेपछि जब हिटलरले सैन्य ट्रेन्चमा प्रेमिकालाई गोली हाने र अन्ततः आफैंलाई गोली हाने, हाइडेगरले ठूलो पश्चाताप गरेका थिए । उनले भनेका थिए, ‘हिटलरलाई सही सावित गर्न मैले आइस्टाइनलाई गलत देखाउने प्रयत्न गरे र अन्ततः आफैं गलत सावित भएँ ।’

गोयबल्सको प्रचार विधि त्यहीनेरबाट जन्मिएको थियो । सायद गोयबल्सको रणनीति र ओलीको साइबर सेनाको अवधारणा धेरै हदसम्म मिल्दोजुल्दो छ ।

हिटलर चुनावबाट आए । चान्सलर भए । आफूलाई ‘फ्युहरर’ घोषणा गरे, त्यसपछि कहिल्यै चुनाव गराएनन् । तर स्थिति सामान्य भएपछि चुनाव गराउँछु भन्न पनि छोडेनन् । ओलीले गराउँछु भन्नेको चुनाव अनेक कारणले शंकाको घेरामा छ ।

हिटलरको उदय समाजवादी आन्दोलनको एउटा धार ‘वर्कर्स पार्टी’ बाट भएको थियो, ओलीको उदय कम्युनिष्ट आन्दोलनको एउटा धारबाट भयो । तसर्थ, ओलीज्म खेलाँची गर्न मिल्ने चिज हैन, ओलीज्मलाई यथाशीघ्र पराजित नगर्ने हो भने नेपाल ठूलो राजनीतिक द्वन्द्वमा फस्ने छ । कदाचित यो सफल भयो भने ओलीले कम्बोडियाका हुन सेन र रुसका पुटिनले जस्तो लोकतन्त्रको आवरणमा देशलाई निर्वाध र निस्कन्टक तानाशाही शासनतिर लाने निश्चित छ । तसर्थ ओलीतन्त्रलाई पराजित गर्नु आज सबै लोकतन्त्रवादीहरूको आधारभूत कर्तव्य र दायित्व हो ।

तर त्यो काम गर्ने कसरी ? यो प्रश्नमा सबैभन्दा बढी अलमलमा नेपाली कांग्रेस देखिन्छ । ठूलो कम्युनिष्ट पार्टी फुटेको फाइदा हुने भ्रम उसलाई छ । तर ओलीज्म सफल भयो भने सबैभन्दा ठूलो घाटा नेपाली कांग्रसलाई हुनेछ । जहाँ फासीवाद सफल हुन्छ, त्यहाँ सबैभन्दा कमजोर परम्परागत लोकतान्त्रिक शक्ति नै हुन्छन् । उदार लोकतान्त्रिक दलको चरित्र र सीमाभित्र बस्दा कांग्रेसले जुझारु संघर्ष विकास गर्न सक्ने छैन, तसर्थ फासीवादले सबैभन्दा छिटो उदार लोकतान्त्रिक दलको शक्तिलाई नै निल्ने छ ।

कम्युनिष्ट र सोसलिष्ट पार्टीहरूले फासीवाद विरुद्ध जुझारु प्रतिरोध गर्ने क्षमता राख्दछन् । कदाचित ओली सफल भए पनि प्रचण्ड–माधव र जसपालाई त्यतिधेरै घाटा हुँदैन जति कांग्रेसलाई हुन्छ । यो यथार्थ कांग्रेसले बुझ्न जरुरी छ ।

ओलीतन्त्र विरुद्ध संयुक्त जनान्दोलन विकास गर्नु नै यसलाई पराजित गर्ने एक मात्र बाटो हो । अब यस काममा ढिलाई गर्नु हुँदैन । ओली र राजावादीहरू एकातिर होऊन्, ठीकै छ । सम्वर्द्धनवाद प्रकारान्तले यो संघर्षमा फासीवादकै पक्षमा हुन्छ । सम्वर्द्धनवाद दार्शनिक रुपमा हब्स, हिगेल र नित्सेकै दर्शनशास्त्रको राजनीतिक विस्तार हो ।

त्यसले लोकतन्त्र र समाजवादलाई भन्दा फासीवादलाई नै आफ्नो र प्यारो ठान्दछ ।

तर बाँकी सबै शक्तिहरू अर्कोतिर हुनै पर्दछ । विशेषतः लिवरल, सोसलिष्ट र कम्युनिष्टहरूको एकताले नै फासीवादलाई पराजित गर्न सकिन्छ । यो यथार्थलाई बुझ्न कसैले पनि ढिलो नगरौं ।

प्रतिनिधिसभा विघटनदेखि संवैधानिक निकायहरूको गैरसंवैधानिक नियुक्ति, सपथग्रहण र पदस्थापनपछि पनि कांग्रेसको चेत अझै खुलेको छैन भने त्यो दुर्भाग्य हो । त्यसले ओलीतन्त्रलाई अझ बलियो हुने अवाञ्छित अवसर मात्र दिनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay