scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

प्रिमियर लिग: न्युकासलले साउथह्याम्पटनलाई हरायो, बर्नली र ब्राइटनको बराबरी

काठमाडौं, २५ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा न्युकासल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित भएपनि न्युकासलले साउथह्याम्पटनलाई ३-२ ले हराएको हो ।

न्युकासलको जीतमा मिगुएल अलमिरोनले २ तथा जो विल्लकले १ गोल गरेका थिए । साउथह्याम्पटनका ताकुमी मिनामिनो र जेम्स वार्ड प्रावजले १-१ गोल गरे ।

खेलको १६औं मिनेटमा विल्लकको गोलमार्फत घरेलु टोलीले खेलमा अग्रता लिएको थियो । २६औं मिनेटमा अलमिरोनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा मिनामिनोले गोल फर्काएपछि खेल २-१ को अवस्थामा अघि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा अलमिरोनले व्यक्तिगत दोस्रो गोल गरेपछि न्युकासलले ३-१ को अग्रता बनायो ।

दोस्रो हाफको ४८औं मिनेटमा वार्ड प्रावजले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा फर्काउने संकेत गरे । ५०औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । जेफ हेन्ड‌रिक दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।

यसको फाइदा उठाउँदै साउथह्याम्पटन थप गोल गरेर खेलमा फर्कन प्रयासरत थियो । यद्यपि त्यसपछि थप गोल निस्कन सकेन र न्युकासल ३-२ ले विजयी रह्यो ।

जीतपछि न्युकासल २३ खेलबाट २५ अंक जोड्दै अंकतालिकाको १६औं स्थानमा उक्लिएको छ भने पराजित साउथह्याम्पटन २२ खेलबाट २९ अंकसहित १२औं स्थानमा रहेको छ ।

बर्नली र ब्राइटनले अंक बाँडे

शनिबार राति नै भएको अर्को खेलमा बर्नली र ब्राइटनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बर्नलीका जोहान बर्ग गडमन्डसनले गोल गरेका थिए भने ब्राइटनका लेविस डन्कले गोल गरेका थिए ।

बराबरीपछि २२ खेलबाट २३ अंक भएको बर्नली अंकतालिकाको १७औं स्थानमा रहेको छ भने २३ खेलबाट २५ अंक जोडेको ब्राइटन १५औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय