scheduleबुधवारबैशाख ८ गते, २०७८

म्यानमारी ‘सैनिक कू’ पछि अमेरिका र चीनको भूमिका कस्तो हुनु पर्ला ?

किशोर महबुवानी

समाजशास्त्री म्याक्स वेबरको एक प्रसिद्ध भनाई थियो- ‘यो सत्य हैन कि असलले असल र खराबले खराबलाई मात्र अनुशरण गर्दछ, तर सत्य यसको ठीक विपरित हुन्छ । जो कोही यदि यो कुरा बुझ्न असमर्थ हुन्छ, ऊ राजनीतिक शिशु हो ।’

म्यानमारले यो भनाईको प्रासंगिकतालाई पुष्टि गर्दिएको छ । पश्चिमा नेताहरूको ‘असल नियत’ ले म्यानमारी सैनिक कूको ‘खराबी’ लाई सहजीकरण गर्दिएको छ । पश्चिमाहरूको आन सान सुकीप्रतिको अगलाव र अस्वीकृतिले त्यहाँका जर्नेलहरूलाई कू गर्न साहस दियो । अझै त्यहाँको असल कुरा सैनिक कूको खराबीबाट अभिव्यक्त हुन सक्दछ ।

जस्तो कि- वेइजिङ र वासिङटनको नयाँ बाइडेन प्रशासनबीच विवेकसम्मत भूराजनीतिक सहकार्य चुपचाप शुरुवात हुन सक्दछ । के यो कुरा अकल्पनीय छ ? चीनले म्यानमारमा एक अलगथलग सैनिक शासनलाई ठाउँ किन छोड्छ जो आखिर उसैमा निर्भर छ ?

यसको सरल उत्तर– एक अलगथलग म्यानमार जसले आशियानमा विभाजनको मोड ल्याउँछ, चीनका लागि भूराजनीतिक सम्पति भने हैन । विभाजित आशियानले बेइजिङका प्रतिस्पर्धीहरूका लागि अवसरहरू सृजना गर्दछ । बेइजिङ अल्पकालिन कुरा कम र दीर्घकालिन कुरा बढी सोच्दछ । तसर्थ म्यानमारलाई आशियानमा सँगै राख्नु आफ्नो हितमा छ भन्ने चीनले राम्ररी बुझ्दछ । तसर्थ चीनले म्यानमारको सैनिक कू उल्टाउने आशियानको प्रयासलाई मौन समर्थन गर्दछ ।

हो, त्यहाँ व्यापार–बन्दी हुन सक्दछ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा सिंगापुर राजदुतका रुपमा २ वर्ष काम गर्दा मैले ५ स्थायी सदस्य यहाँसम्म कि अमेरिका र चीन बीच दैनिक जसो व्यापारबन्दीको समस्या देखेको थिए । इराक आक्रमणपछि जर्ज डब्लु बुसलाई त्यहाँ लगाइएको संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको प्रतिबन्ध हटाउन चीनको सहयोग चाहिएको थियो । बेइजिङले मान्यो । त्यसपछि बुस प्रशासनले ताइवानमा स्वतन्त्रताको झुकाव राख्ने चेन सुई बियान प्रशासनलाई निचोर्न थाल्यो ।

यसमा कुनै आश्चर्य छ ? भाग्यवश ठूला शक्ति राष्ट्रहरूबीच व्यापारबन्दी एक पुरानो खेल हो । अझ इमान्दार भएर भन्नु पर्दा, यो खेल उनीहरू सार्वजनिक निगरानी बाहिर टेबुलमुनिबाटै खेल्न मन पराउँछन् । के यस्ता सम्झौताहरू नैतिक हुन ? यो कुरा त म्याक्स वेबरलाई नै सोध्नु पर्दछ । यदि वेबरको तरिकाले उत्तर दिने हो भने सैनिक कूले म्यानमारलाई भूराजनीतिक ब्यापारबन्दीबाट बाहिर निकाल्न मद्दत गर्दछ भने त्यसलाई नैतिक नै मान्नु पर्दछ ।

यदि बेइजिङ, वासिङटन र आशियान राजधानीहरूको मौन र बलियो सहकार्यले म्यानमारको सैनिक कू उल्टियो भने यस कुराको बलियो पुष्टि हुने छ कि अब एशियामा सैनिक शासनको युग समाप्त भयो । तर यसका लागि अशियान सरकारहरू मात्र पर्याप्त छैनन् ।

किशोर महबुवानी

वास्तवमा आशियानमा १० देशहरूभित्र राजनीतिक शासनको दायरा आश्चर्यजनक छ । तर पनि सरकारमाथि नागरिक नियन्त्रणको प्रवृति भने निर्विवाद छ । इन्डोनेशियाले समेत इस्लामिक विश्वमा लचिलो लोकतन्त्रको सफल प्रदर्शन गरिरहेको छ ।

दक्षिणपूर्वी एशियामा सफल हुन अमेरिकाले समेत यहाँको मान्यता र अभ्याससँग आरामदायी सहकार्य गर्नु पर्ने हुन्छ । यस्तो कुरा पहिले पनि भएको छ । सन् १९७८ मा भियतनामद्वारा कम्बोडियामाथि आक्रमण र शीतयुद्धको अवस्थामा रेगन प्रशासनले बुद्धिमत्तापूर्ण ढंगले आशियानलाई नेतृत्वको अवसर दिएको थियो ।

जब मलाई ३५ वर्षको कलिलो उमेरमा सन् १९८४ मा संयुक्त राष्ट्र संघ पठाइएको थियो, मेरा अमेरिकी समकक्षी एक किम्बदन्ती–राजदुत भेरनोन वाल्टर्स थिए । उनी त्यतिखर ६७ वर्षका थिए । उनले एकपटक मसँग भेट गर्न चाहे । मैले उनलाई बोलाउन भने । तर उनले मेरै अफिसमा आउने जिद्धी गरे । त्यो उमेरका बाबजुद उनको यस्तो विनम्रताले उनले धेरै साथीहरू कमाएका थिए ।

आशियान मापदण्डको लचिलोपनलाई बुझ्न अमेरिकनहरूले एक महत्वपूर्ण ऐतिहासिक तथ्यलाई संझिनु पर्ने हुन्छ । जब सन् १९७५ मा अमेरिकाले अपमानपूर्ण ढंगले भियतनाम छोड्यो, दक्षिणपूर्र्वी एशियाली देशहरूमा उसको आधिपत्यको समेत अन्त्य जस्तै भयो । त्यसको साटो उनीहरूले संसारकै दोस्रो ठूलो क्षेत्रीय सहयोग संगठन शुरुवात गरे जसलाई पछाडिबाट अमेरिकाको मौन सहयोग थियो ।

अहिलेको यो हाम्रो नयाँ युगमा, एशियाली शताब्दिको गति बढ्दै जाँदा यहाँका समस्याहरूको गाँठो समाधान गर्न एशियाली विधिहरू नै नै बढी उत्तम हुन्छन् । पश्चिमी देशहरूमा घरेलु राजनीतिक दबाबले सार्वजनिक महाअडानहरू खडा हुन्छन् ।

यही कारण थियो कि पश्चिमले आन सान सु कीको आलोचना गरेको थियो । एशियामा अझै पनि शान्त कुटनीतिले काम गर्दछ । यद्यपि वर्तमान म्यानमारी सैनिक कूको प्रक्रिया उल्टो छ तर हामीले यो बिर्सन हुन्न कि यस अघिको यहाँको सैनिक शासन कम गाह्रो वा अप्ठ्यारो थिएन ।

समयक्रममा सयौं आशियान बैठकहरूमा भाग लिने क्रममा सैनिक नेतृत्वले टेबलमा सहभागी भएका अन्य समकक्षीहरूको मौन अभिव्यक्तिबाट यो सन्देश बुझ्यो कि यदि म्यानमार बाँकी एशियासँग जोडिन र सफल हुन चाहन्छ भने उसले आफूलाई खुल्ला गर्नै पर्छ ।

अहिले पनि वाइडन प्रशासनले गर्न सक्ने भनेको त्यही हो । उसले बेइजिङ र आशियान राजधानीहरू, यहाँसम्मकी नयाँ दिल्ली र टोकियोमार्फत् समेत म्यानमारी सैनिक शासनलाई शान्त कुटनीतिमार्फत् निरन्तर यो सन्देश पुर्‍याउनु पर्दछ कि यो सैनिक कू र शासनको जमाना हैन ।

यहाँ मैले मुख्य शब्द कुटनीतिलाई बनाएको छु । कुटनीतिको सार के हो ? कसैले यसबारे राम्रो वर्णन गर्या छन् । कुटनीतिबारे भनाई छ- ‘कुटनीति यस्तो कला हो, जसमा कुनै व्यक्तिले कसैलाई नरक जान भन्यो भने पनि त्यो व्यक्ति खुशीले रमाउँदै नरकको यात्रा गरोस् ।’

निश्चय नै चीन लगायत म्यानमारका सबै छिमेकी देशहरूबीच लगभग विश्वव्यापी सहमति छ कि यहाँको सैनिक शासन नरकमा जानु पर्दछ । तर चुनौति के हो भने म्यानमारको सैनिक शासनलाई फेस-सेभसहित द्वन्द्वको चंगुलबाट निस्कन सकिने शान्त र सम्मनजनक सन्देश निरन्तर दिइरहन आवश्यक छ ।

यहाँनेर वासिङटन सामु एक आमूल प्रस्ताव राख्न सकिन्छ । इन्डोनेशिया कसरी विस्तारै सैनिक शासनबाट संक्रमण गर्यो तर म्यानमारले किन सकेन र फेरि पछाडि फर्कियो भन्ने कुरा सोच्न योग्य हुन्छ । यसको एउटा मुख्य कारण सुहार्तोको तानाशाही शासनमा बखत पनि इन्डोनेशियाका सैन्य अधिकारीहरूलाई अमेरिकी सैन्य स्टाफ कलेजको प्रशिक्षण दिइएको थियो ।

जब इन्डोनेशियाको इतिहास लेखिने छ, निश्चय नै सन् २००४–२०१४ बीचका पूर्व राष्ट्रत सुसिलो बामबाम युधोयुनोलाई ठूलो जस दिइने छ । सुहार्तो मातहतको जर्नेल हुँदाहुँदै पनि उनले किन लोकतन्त्रलाई समर्थन गरे ?

यसको उत्तर त्यही हो कि उनी अमेरिकी आर्मी कमाण्ड र स्टाफ कलेजबाट प्रशिक्षित थिए । त्यहाँ उनले अमेरिकी लोकतन्त्रका महत्वपूर्ण मूल्य सैनिक शक्ति सधै नागरिक शक्तिको नियन्त्रणमा हुनु पर्दद्ध भन्ने सिके । यदि यो दृष्टान्त मान्ने हो भने म्यानमारको पनि प्रष्ट समाधान छ- वासिङटनले युवा म्यानमारी सैन्य अफिसरहरूलाई अमेरिकी सैन्य स्टाफ कलेजबाट प्रशिक्षण दिन सक्दछ । के यो असम्भव छ ?

वासिङटनले फेरि एकपटक म्याक्स वेबरको भनाईलाई पुनस्मरण गर्नु पर्दछ । सार्वजनिक रुपमा केवल म्यानमारी सैनिक शासनलाई भर्त्सना गर्नु भन्दा उपयुक्त र राजनीतिक प्रोत्साहनको कुरा यो हुन्छ कि उसले अमेरिकाको परम्परागत ज्ञान प्रणालीभन्दा बाहिर गएर म्यानमारी सैनिक नेतृत्वसँग कुराकानी गर्नु पर्दछ, उसलाई अगलावमा जान दिनु हुँदैन ।

यदि वाइडन प्रशासन शान्त र मौन कुटनीतिबाट म्यानमारी सैनिक शासनलाई सहज बनाउन सफल भयो भने उसका कुटनीतिक प्रयासहरू एशियामा सफल हुने देखाउनेछ । यसले एशियामा नयाँ र दीगो अमेरिकी संलग्नताको बाटो खोल्ने छ । यो बाटो बढी प्रभावकारी र बुद्धिमानीपूर्ण हुन सक्दछ । यस्तो कुटनीति अलिक कमजोर जस्तो देखिने तर महत्वपूर्ण कुन्जी हो ।

(महुबानी सिंगापुर एशिया अनुसन्धान केन्द्रका प्रतिष्ठित विज्ञ हुन । उनको यो आलेख साउथ चाइना मोर्निङ पोष्टबाट भावानुवाद गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay