scheduleबुधवारबैशाख ८ गते, २०७८

हिमालयले बारम्बार चेतावनी दिइरहेको छ तर, बुझ्ने कसले ?

जयसिंह रावत

जुन २०१३ मा केदारनाथको भयङ्कर विपत्तिको घाउ अझै राम्ररी पुरिएको थिएन, यही फेब्रुअरी ७ तारिखको बिहान हिमालय फेरि एकपटक रिसायो । शरदकालमा सामान्यतः सबै नदी, हिमनदी र यसमा आधारित हिमाली नदीहरूको जलप्रवाह जाडोले संकुचन भएको हुन्छ, तिनमा यति ठूलो बाढी आउनु आफैंमा विस्मयकारी घटना हो ।

जाडोयाममा हिमनदीहरूको पग्लिने दर र गति कम हुन्छ । यस्तो बेला हिमाली नदीहरू मृतप्राय देखिन्छन । गर्मी शुरु हुने वित्तिकै नदीहरूमा नयाँ जीवनको सञ्चार शुरुवात हुन्छ । तर चमोलीमा यस्तो कडा जाडोमा पनि नीति भन्ज्याङका धौलीगंगा र ऋषिगंगा विकराल भए आए । अलकनन्दाका यी सहायक नदीहरूको यस्तो विनाशकारी रौद्र रुप आफैंमा एउटा ठूलो चेतावनी हो ।

प्रकृतिको यो विकराल रुपलाई अझै पनि हामी हिमालयलाई चोट पुर्‍याउने वा त्यसलाई नाङो पार्ने कार्य विरुद्धको चेतावनी मान्न तयार छैनौं भने त्यो ठूलो मानवीय भूल हुनेछ । प्रख्यात पर्यावरणविद चन्डीप्रसाद भट्टले एकपटक हैन, कयौंपटक यो संवेदनशील उच्च हिमाली क्षेत्रमा ठूला निर्माण कार्यप्रति ध्यानाकर्षण गर्दै आएका छन् ।

उनले खासगरी धौलीगंगाको हिउँबाढीले बर्बाद भएको तपोवन–विष्णुगाड जलविद्युत परियोजनाप्रति सचेत गराउँदै आएका थिए । सन् २०१९मा उत्तराखण्ड हाइकोर्टले रेणी गाउँका ग्रामिण बासिन्दाहरूको गुनासोमा निर्माणाधिन ऋषिगङ्गा जल विद्युत परियोजनाको निर्माणसंग सम्बन्धित पर्यावरणीय लापरवाहीप्रति राज्य सरकारको ध्यानाकर्षण गराएको थियो । यस परियोजनाका संरचनाले हिउँबाढीको विभिषिकालाई कयौं गुणा बढाई दिएका छन् ।

मानव कल्याणका लागि विकास निश्चय नै आवश्यक छ । तर विकासमा योजना बनाउँदा योजनाकारहरूले त्यो क्षेत्रको इतिहास र भूगोलको जानकारी र पर्यावरणीय प्रणालीको संवेदनशिलतालाई पनि ध्यान दिनुपर्दछ ।

जयसिंह रावत

हिमनदीमा आफ्नै विशेषता हुन्छन । यस्ता नदी पानीका हैन, हिउँका नदी हुन् । यी नदी बगिरहेका हुन्छन् तर बगेको देखिन्न । जब हिउँका प्रवाहशील टुक्राहरू विशालकाय चट्टानहरूसँग ठोकिएर हिमपहिरो बन्न पुग्दछ, उसको बाटोमा आउने जसकसैको नामनिशान त्यसले मेटाईदिन्छ ।

फेब्रुअरी ७ को बिहान भएको धौलीगङ्गा र ऋषिगङ्गाको बाढी त्यही हिउँपहिरोको परिणाम हो । जबकी यसलाई हिउनदी फुटेको अर्थमा लिन खोजिएको छ ।

हिमालयमा कुनै एक महासागरमा जतिनै पानी हिउँका रुपमा जम्मा भएको छ । हिमालयको वातावरणमा हिउँनदी र हिउँपहिरोको प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । यसको असर निकटवर्ती मानव बस्तीहरूमा पर्दछ । अलकनन्दा नदीको जलाधार क्षेत्रमा यस्तो घटना पहिलोपटक भएको हैन ।

ऋषिगङ्गा तथा धौलीगङ्गा परियोजनाभन्दा पहिले नै अलकनन्दामा बनेको बिष्णुप्रयाग परियोजनाको लामबगड ब्यारेज हिउँपहिरोकै कारण क्षतिग्रस्त भएको थियो । सन् २००८ मा हेमकुन्डमा हिउँपहिरो झरेको कारण १४ शिख तीर्थयात्री मारिएका थिए । सन् १९५७ मा यही धौलीगङ्गाको सहायक नदी द्रोणागिरीमा हिउँपहिरोको कारण करिब ३ किमी लामो हिमताल बनेको थियो । तर लाग्छ, हामीले विगतबाट कुनै शिक्षा लिएनौं ।

अलकानन्दाको जलाधार क्षेत्रमा तीव्र वेग भएका ओरालो बग्ने धारिला नदीनालाहरूले अस्तीको घटना अघि नै ठूला उपद्रोहरू मच्चाइसकेको थियो ।

सन् १८६८ मा चमोली गढवालको सीमान्त क्षेत्रमा झिन्झी गाउँको नजिक भएको भूस्खलनले विरही नदीमा गोडियार नामको ताल बनेको थियो । यो ताल फुटेको कारणले अलकनन्दा किनारमा ठूलो तबाही भएको थियो । ७३ जानाले ज्यान गुमाएका थिए ।

सन् १८९३ मा गौणा गाउँको नजिक एउटा ठूलो चट्टान फुटेर बिरही नदीमा झरेको कारण नदीमा फेरि अर्को ताल बनेको थियो । यो ताललाई गौणा ताल भनिन्थ्यो । यो ताल ४ किमी लामो र ७०० मिटर चौंडा थियो । सन् १८९४ मा जब यो ताल फुट्यो गढवालको प्राचीन राजधानी श्रीनगरको आधाभाग बगाएको थियो ।

सन् १९३० मा बद्रीनाथ नजिक फेरि अलकानन्दा अवरुद्ध भयो । त्यतिखेर नदीमा पानीको सतह ९ मिटरसम्म माथि आएको थियो । सन् १९६८ मा रेणी गाउँ नजिक बनेको ताल सन् १९७० को जुलाई २० मा फुट्यो । यसबाट अलकानन्दा नदीमा जुन बाढी आयो, त्यसले हरिद्वारसम्म तबाही मच्चाएको थियो ।

यही बाढीपछि सन् १९७३ मा यही रेणी गाउँकी गौरा देवीले ‘चिप्को आन्दोलन’ शुरुवात गरेकी थिइन्, जसले विश्वलाई नै हल्लाइदियो ।

हिमाली नदीहरू जति वेगवान हुन्छन, उत्तिनै उत्श्रृंखल पनि हुन्छन् । जब यिनीहरूको मिजास बिग्रन्छ गत आइतवार धौलीगङ्गा नदीमा आएको बाढी जस्तै हुन्छ । नदीको वेग उसको बग्ने जमिनको ओरालोपनमा आधारित हुन्छ ।

हरिद्वारभन्दा मुनि गङ्गाको वेग कम हुन्छ किनकी त्यहाँदेखि जमिनको ओरालोपन पनि कम हुन्छ । पहाडमा गङ्गाकै स्रोत नदी भागिरथीको औसत धार ४२ मिटर प्रतिकिमी छ । यसको अर्थ यो हो कि यो नदी प्रति एक किलोमिटरमा ४२ मिटर ओरालो बग्दछ ।

अलकनन्दाको ओरालोपन यसको भन्दा धेरै ४८ मिटर प्रतिकिमी छ । जबकी धौलीगङ्गाको ओरालोपन ७५ मिटर प्रतिकिमी मानिन्छ । यसै गरी नन्दाकिनीको ६७ मिटर र मन्दाकिनीको ६६ मिटर प्रतिकिमी मानिएको छ ।

यसबाट प्रष्ट हुन्छ कि धौलीगङ्गा सबैभन्दा धेरै ओरालोपन भएको नदी हो, स्वभाविक रुपले यो सबैभन्दा धेरै वेगवान छ । तसर्थ यससँग जोडिएका जोखिमहरू पनि धेरै छन् ।

हिमालयमा यसप्रकारका त्रासदीहरूको लामो इतिहास छ । तर, ध्यान दिन योग्य कुरा के छ भने यस्ता उपद्रोहरूको आवृत्ति बढ्दो छ । सन् २०१० को अगस्टमा लेह जिल्लामा आएको बाढीमा २५५ जना मरेका थिए । त्यहाँ २ वर्षभित्रै सन् २०१२ सेप्टेम्बरमा अर्को ठूलो बाढी आयो र त्यो क्षेत्रलाई नै नर्क जस्तो बनाइदियो ।

सन् १९७८ को मार्चमा लाहौलमा भएको हिउँपहिरोले ३० जनाको ज्यान गएको थियो । सन् १९७९ को अर्को एक हिउँ पहिरोले २३७ जना मरेका थिए ।

सन् २००० को अगस्ट १ मा सतलज नदीमा आएको बाढीले १५० भन्दा बढी मरेका थिए । त्यो बेला सतलज नदीको जलसतह ६० फुटसम्म माथि आएको थियो । सन् २००५ को जुन २६ को बाढीमा सतलज नदीको जलप्रवाह १५ मिटर माथिसम्म उठेको थियो ।

सन् १९९५ मा मात्र हिमाञ्चलमा मात्र यस्ता आपदाबाट ११४ र १९९७ मा २२३ जनाको ज्यान गएको थियो ।

अन्तरिक्ष उपयोग केन्द्र अहमदावादको एक प्रतिवेदनको अनुसार हिमाली क्षेत्रमा करिब २५ प्रतिशत बन क्षेत्र छ । तर यो घट्न थालेको छ । विगत दुई दशक यता हिमाली क्षेत्रमा मान्छेको भीड बढ्दो छ ।

विकासको नाममा थुप्रै परियोजना बन्दैछन् । पर्यटन र तीर्थाटनको नाममा मानिससँगै सवारी साधनहरूको अनियन्त्रित भीड बढ्दो छ । हिमालय क्षेत्रमा आउने संकटहरू यस्ता कारणले पनि बढेका छन् ।

(गत आइतबार अलकनन्दा नदीको सहायक नदी धौलीगङ्गामा भएको चमोली दुर्घटनाको क्षतिको अन्तिम तथ्यांक प्राप्त भइसकेको छैन । त्यसमा केही नेपाली समेत परेको समाचार छ । लेखक जयसिंह रावत उत्तराखण्डकै पर्यावरणीय विज्ञ हुन् । उनको यो आलेख सत्यहिन्दी डटकमबाट अनुवाद गरिएको हो- सम्पादक)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay