ओली समूहले बुटवलमा २ लाख नागरिक उतार्ने
काठमाडौं, १ फागुन । प्रतिनिधिसभाको विघटनपछि पार्टीभित्रको विवादका बीच आरोपप्रत्यारोप चलिरहेको बेला नेकपाको ओली समूहले आज रुपन्देहीको बुटवलमा आमसभाको आयोजना गर्दैछ ।
सभामा लुम्बिनी प्रदेशका १२ जिल्लाबट गरी २ लाख नागरिक उतार्ने दावी उक्त समूहको छ । मध्यान्ह साढे १२ बजे बुटवल ७ दीपनगरस्थित सिद्ध्श्वरी मैदानमा हुने सभालाई ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत नेताले सम्वोधन गर्ने कार्यक्रम रहेको नेकपा रुपन्देहीका सहसंयोजक तथा केन्द्रीय सदस्य तेजेन्द्र केसीले जानकारी दिए ।
सभाअघि बुटवलका विभिन्न स्थानबाट जुलुश निकाल्ने तयारी भएको छ । राजमार्ग चौराह, गोलपार्क, पश्चिम बुटवल लगायतका बिभिन्न स्थानबाट बिहान ११ बजे सुरु हुने जुलुश मिलनचौक हुँदै सभास्थलमा पुग्ने केसीले बताए ।
पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन प्रस्ताव र राष्ट्रपतिबाट स्वीकृत भएपछि नेकपा व्यवहारिक रूपमा विभाजन भएको छ । तर निर्वाचन आयोगले हालसम्म विभाजनलाई मान्यता नदिए पनि प्रचण्ड–नेपाल समूह र ओली समूह एकअर्काविरूद्ध आरोपप्रत्यारोपमा उत्रिएका छन् । दुवै समूहबीच सभा गर्ने प्रतिस्पर्धा पनि देखिएको छ ।