scheduleसोमवारफाल्गुन २४ गते, २०७७

प्रतिगमनविरुद्ध जनसंघर्षको चरणमा वैकल्पिक शक्ति निर्माणको प्रश्न

डम्बर खतिवडा

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ‘पुष ५ गते’ को कदमपछि राष्ट्रिय राजनीतिले एक अनपेक्षित मोड लियो तर, यो मोड अकल्पनीय थिएन । त्यस अघि नै ओली ‘व्यक्ति’ बाट ‘प्रवृति’ बनिसकेका थिए । ओलिज्म एक विकृत तथा विसंगत राजनीतिक धारका रुपमा चुनौति बनेर सबैका सामु आएको थियो । राष्ट्र, जनता र विपक्षी शक्तिहरूले त्यसको सामना गर्नु नै थियो ।

पुष ५ गते अघि र पछिमा फरक कति मात्र हो भने त्यसअघि कतिपय राजनीतिक शक्तिहरू ओलीज्मबारे अन्यौलमा थिए, भ्रमित थिए । ५ गतेपछि उनीहरूका आँखा खुलेको छ तर पुरै हैन अर्ध मात्र ।

वैकल्पिक शक्ति र त्यसको मुख्य केन्द्रका रुपमा जनता समाजवादी पार्टी (जसपा) ओलीज्मबारे भ्रमित थिएन । अलिअलि भएको भ्रम ओली सरकारबाट तत्कालीन समाजवादी बहिर्गमित भएसँगै टुटिसकेको थियो । विशेषतः दुई शक्तिहरू भ्रमित थिए । नेकपाभित्रको ओलीइतर खेमा जसलाई अहिले प्रचण्ड–माधव समूह भनिंदैछ । अर्को नेपाली कांग्रेसको देउवा खेमा । यी दुवै समूह अहिले पनि पछिल्लो राजनीतिक स्थितिबारे प्रष्ट हुन सकेका छैनन् ।

हरेक नकारात्मकभित्र सकारात्मक परिवर्तनको सम्भावना लुकेको हुन्छ भने जस्तै ओली प्रतिगमनका केही सकारात्मक पाटो पनि छन् । जसरी नारायणहिटी हत्याकाण्ड र राजा ज्ञानेन्द्र शाहको कुले २४० वर्ष लामो राजतन्त्रको अन्त्य हुने र गणतन्त्र स्थापित हुने वातावरण बनायो, त्यसरी नै नेकपाको ओली–विद्या समूहको ‘कू’ ले कम्युनिष्ट शक्तिप्रति जनतामा गडेर बसेको विश्वास खण्डित भएको छ । वैकल्पिक विचार र शक्तिको स्थापनाका लागि यो एक ऐतिहासिक अवसर बन्न सक्दछ ।

ओली प्रतिगमनपछि थुप्रै राजनीतिक प्रश्नहरू सतहमा आएका छन् । यिनीहरूलाई पर्गेल्ने र राजनीतिक उपयोग गर्ने दायित्व समेत वैकल्पिक शक्ति निर्माण गर्न चाहनेहरूको भागमा परेको छ ।

पहिलो– कम्युनिष्ट शक्ति नागरिक सार्वभौमसत्ता, लोकतन्त्र र संविधानवादप्रति निष्ठावान र प्रतिबद्ध शक्ति हैन भन्ने कुरा फेरि एकपटक पुष्टि भएको छ । कम्युनिष्टहरूको विश्व विरासत एकदलीय अधिनायकवाद र सर्वहारा अधिनायकत्वसँग जोडिएकै थियो । २०१७ सालमा कम्युनिष्ट पार्टीको एक समूह डा. केशरजंग रायमाझीको समूहले पञ्चायतलाई समर्थन गरेकै हो । त्यसपछि पनि बेलाबेला कम्युनिष्ट समूहहरूको लोकतान्त्रिक निष्ठाबारे प्रश्न उठेको थियो ।

यसपटक नेकपाको ओली–विद्या गुटले नागरिक सार्वभौमसत्ता, लोकतन्त्र र संविधानवादविरुद्ध हदैसम्मको निर्मम र निर्लज्ज प्रहार गरेको छ । अझ आश्चर्यजनक कुरा के छ भने लोकतन्त्रमाथि यति ठूलो प्रहार र आक्रमण हुँदा कम्युनिष्ट कार्यकर्ताको एउटा ठूलो पंक्ति ओली गुटकै पछि ताली पिटेर हिंडेको छ । अर्को एउटा ठूलो पङ्क्ति चुनाव चिन्ह जसले पाउँछ, उतै लाग्ने भनेर ‘प्राविधिक पक्ष’ लाई प्रमुख बनाएर ‘राजनीतिक पक्ष’ लाई गौण मारिहेको छ ।

उनीहरूले ओली प्रतिगमनलाई लोकतन्त्र, प्रणाली र पद्धतिमाथिको संकट ठानिरहेका छैनन्, केवल पार्टी फुट मानेका छन् र कुन गुटमा लाग्ने भन्ने प्रश्न मात्र आकर्षित गरेका छन् । यसले के प्रष्ट हुन्छ भने कम्युनिष्ट शिक्षा, ज्ञान र चेतनास्तरबाट लोकतन्त्रको रक्षा र विकास सम्भव छैन । विश्व ट्रयाक रेकर्डले पनि उनीहरू लोकतन्त्रप्रति निष्ठावान छैनन् भने नेपाल मै पनि उनीहरूले ‘लोकतन्त्रको हत्यारा’ को भूमिका जुनकुनै बेला गर्न सक्ने रहेछन् ।

दोस्रो– लोकतन्त्रको सवालमा कसैसँग सम्झौता नगर्ने भनिएको नेपाली कांग्रेसको लोकतान्त्रिक चेतना भुत्ते र बोधो भइसकेको रहेछ । विशेषतः यसको संस्थापन पक्ष देउवा खेमाले लोकतन्त्रको हत्यारा बनेको नेकपाको ओली गुटसँग अवाञ्छित आन्तरिक साँठगाँठ गरेको छ । हिजो ज्ञानेन्द्र शाहको प्रतिगमनको समयमा पनि देउवाले दरबारसँग यस्तै अवाञ्छित साँठगाँठ गरेका थिए । तर त्यसको अन्तिम परिणाम लोकतन्त्रका लागि घातक बनेको थियो ।

आज ओली–देउवा आन्तरिक साँठगाँठले लोकतन्त्रलाई अर्को घातक स्थितिमा पुर्‍याउने निश्चित छ । गणपुरक संख्या नपुगेको संवैधानिक परिषदको असंवैधानिक बैठकबाट जहाँ प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष २ जना मात्र थिए, सभामुख र प्रधानन्यायधीशले समेत अस्वीकार गरेको बैठकको निर्णय स्वीकार गरेर, देउवा निकटस्थ मान्छेहरूको ठूलो संख्याले सपथ खाएको छ । यो कदम कुनै चानचुने गल्ती हैन, ओली प्रतिगमनको मतियार बन्नु सरह हो ।

यसले के पुष्टि गर्दछ भने नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने नैतिक आधार गुमाएको छ । नैतिक आधार गुमाएको शक्तिले नागरिक सार्वभौमसत्ता, लोकतन्त्र र संविधानवादको पक्षमा सम्झौताहीन संघर्ष गर्न सक्दैन । जसले लोकतन्त्रको रक्षा नै गर्न सक्दैन, त्यसले लोकतन्त्रको विकास गर्ने, लोकतन्त्रलाई सभ्य, सुसंस्कृत र उन्नत बनाउने आशा गर्ने ठाउँ नै हुँदैन ।

कांग्रेस नेतृत्वको एउटा ठूलै हिस्साले अहिले पनि दक्षिणपन्थी रुझान राख्दछ । देउवा इतर खेमाका भनिएका महामन्त्री शशांक कोइरालाको राजनीतिक लाइनमा पनि भर गर्न सकिन्न । उनी कहिल्यै हिन्दु राज्य कुरा उठाइरहेका हुन्छन भने कहिले संयुक्त जनान्दोलनको विपक्षमा हुन्छन् ।

तेस्रो– नेकपाको प्रचण्ड–माधव खेमाले ओली प्रतिगमनको विरोध त गरेका छ, त्यतिसम्म राम्रै कुरा हो तर लोकतन्त्रको बहुआयामिक विकास र समाजका रुपान्तरणकारी एजेण्डाको भने विपक्षमा छ । हिजो ओलीज्मले जनतालाई व्यापक रुपमा सताउन थाल्दा, विपक्षी दलहरूप्रति प्रतिशोधको रणनीति लिँदा, यसका दोस्रो पुस्ताका मणीहरू भनिएका घनश्याम भुसाल, योगश भट्टराई, वर्षमान पुन ओलीतन्त्रको कारिन्दा हुन राजी थिए । मन्त्रीपदका लागि ओलीतन्त्रसँग सतिजान राजी थिए ।

दल विभाजन सहजिकरण अध्यादेश आउँदा ‘यो नेकपा लक्षित हैन, अर्कै पार्टीलाई फोड्न हो’ भनेर खुशीयाली मनाइरहेका थिए । यी घटनाबाट यो पङ्क्तिको अवसरवाद प्रष्ट हुन्छ ।

यो पङ्क्तिका मूल नेता प्रचण्ड– माधवले समेत ओेलीतन्त्रका ३ वर्षमा कहिल्यै सैद्धान्तिक, वैचारिक र एजेणडागत बिषय उठाएनन् । केवल मन्त्री, राजदुत र अन्य राजनीतिक नियुक्तिमा आफ्ना मान्छे नियुक्ति गराउने बाहेक ओलीसँग उनीरुका अरु कुनै माग थिएनन् । आज पनि उनीहरू ओलीको नाममा गुनासो गर्ने, सराप्ने, रुने, चिच्याउने, बतुराउने बाहेक कुनै रचनात्मक बहस गरिरहेका छैनन् ।

शासकीय स्वरुप र निर्वाचन प्रणालीको बहसमा यो समूह कहिल्यै प्रवेश गर्दैन । पहिचानसहितको संघीयता, प्रदेश पुनर्सीमाङ्कन र वित्तिय संघीयताको बिषयमा यो समूह मुख खोल्दैन । संविधान जारी गर्दा बखत सम्वोधन हुन नसकेका मधेशी, जनजाति/थारु महिला, मुस्लिम दलित लगायतका सीमान्तकृत समुदायका माग पुरा गर्न संविधान संशोधन गर्ने पक्षमा एक शब्द चुहाउँदैन ।

अन्यायपूर्ण जेलमा राखिएका माननीय रेशम चौधरीको रिहाईका लागि बोल्ने आँट यो समूहसंग छैन । भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि संरचनागत सुधार र जनलोकपालको पक्षमा चुँ गर्दैन । प्रादेशिक भाषा व्यवस्थापन र भाषिक/साँस्कृतिक अधिकारको पक्षमा उभिने हेउ राख्दैन । यस्ता दर्जनौ मुद्दाहरू छन्, जसबारे यो समूहले शुतुरमुर्गले जस्तै टाउँको लुकाएर बसेको छ ।

यो समूह ओली समूह जत्तिकै अवसरवादी छ । तर अहिले लोकतन्त्र र संविधानवादको मुद्दालाई ओली समूहसँगको प्रतिशोधका लागि बोकेर हिंडेको छ । कतिन्जेल बोक्छ, टुंगो छैन । कुनै नाटकीय पार्टी एकताका नाममा यस समूहले ओली समूहसँग कुम जोर्न, अग्रगमनका यावत मुद्दालाई सडकमै अलपत्र छोड्न बेर छैन । कथित ‘कम्युनिष्ट एकता’ का नाममा यो समूहले अन्ततः सत्ता र शक्तिकै बाटो रोज्न र जनसरोकारका क्रान्तिकारी सवाललाई असरल्ल छोड्न सक्दछ ।

यी परिदृष्यहरूले परम्परागत राजनीतिक शक्तिहरूको वैचारिक सोचको सीमा र नैतिक स्खलन प्रष्ट पार्दछन् । केवल आर्थिक क्रान्तिको युगको सुशासन, विकास र समृद्धिको नेतृत्व गर्न मात्र हैन, अग्रगमनका यावत राजनीतिक, सामाजिक तथा साँस्कृतिक मुद्दालाई बोक्न र अघि बढाउन समेत नेपालमा वैकल्पिक शक्ति अपरिहार्य भएको तथ्य ओली प्रतिगमनले झनै उजागर गर्दिएको छ ।

र यो कुरा पनि उत्तिकै प्रष्ट छ कि अहिलेको चरणमा वैकल्पिक नेतृत्व, विचार र शक्ति सबै जसपामा केन्द्रिकरण भएको छ । तसर्थ जसपाका चुनौति र अवसरहरू समेत ओली प्रतिगमनले बढाएको छ । जसपाका नेता/कार्यकर्ताहरूले हिजोको भन्दा सयौं गुणा बढी दुख्ख र मेहनत गर्नु पर्ने बेला आएको छ । नागरिक सार्वभौमसत्ता, लोकतन्त्र र संविधानवादको पक्षमा अन्यौलरहित र सम्झौताहीन ढङ्गले ठिङ्ग उभिएको एक मात्र राजनीतिक शक्ति र दल अहिले जसपा बनेको छ । इतिहासले दिएको यो दायित्व पुरा गर्नु अहिले जसपाको प्रथम कर्तव्य हो । यो चुनौतिको पाटो हो ।

यसको अवसरको पाटो पनि छ । कुनै पनि राजनीतिक शक्तिको विकास संघर्षकै मैदानमा हुने हो । त्यस्तो संघर्ष गर्ने वस्तुगत आधार जसपाका लागि ओलीतन्त्रले सृजना गर्दिएको छ । जसपा र ओलीतन्त्र अहिले मुख्य दुई विपरित वैचारिक केन्द्र बनेका छन् ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

ओलीतन्त्र लोकतन्त्र र संविधानवादको विरुद्धमा छ । जसपा लोकतन्त्र र संविधानवादको पक्षमा छ । ओलीतन्त्र संघीयता, समावेशिता, सकारात्मक विभेद र सीमान्तकृत समुदायलाई उपलब्ध गराउन शुरु मात्र गरिएको आरक्षणको विरुद्धमा छ । जसपा संघीयता, समावेशिता, सकारात्मक विभेद र आरक्षणको पक्षमा छ । ओलीतन्त्र विृकत/विसंगत संसदीय प्रणालीका पक्षमा छ । जसपा शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्ने पक्षमा छ । ओलीतन्त्र आसेपासे पुँजीवादको पक्षमा छ । जसपा समाजवादी बजार अर्थतन्त्रको पक्षमा छ । ओलीतन्त्र भ्रष्टाचार र कमिसनतन्त्रमा चुर्लुम्म डुबेको छ । जसपा भ्रष्टाचार निवारणका लागि संचरनागत तथा नीतिगत सुधार र जनलोकपालको पक्षमा छ ।

यी सबै मुद्दामा ओलीतन्त्र र जसपाबीच आमनेसामनेको संघर्ष छ । अरु कुनै पार्टीका बीचमा पनि यो स्तरको वैचारिक, सैद्धान्तिक र एजेण्डागत संघर्ष छैन । यो जसपाका नेता कार्यकर्ताका लागि ठूलो अवसरको कुरा हो । ठूलो गौरवको कुरा हो ।

यतिखेर जसपा क्रान्ति, अग्रगमन, सुशासन, विकास र संमृद्धिको साँचो संवाहक शक्ति हो । ओलीतन्त्र र प्रतिगमन विरुद्ध सम्झौताहीन संघर्ष गर्न टाउकोमा कात्रो बाँधेर मैदानमा उत्रेको शक्ति हो । यस्तो शक्तिको कार्यकर्ता, यस्तो विचार र आन्दोलनको अभियन्ता हुन पाउनु त्यो ठूलो अवसर र गौरवको कुरा अरु के हुन सक्दछ ?

यही संघर्षका बीचमा हामी वैकल्पिक विचारको अधिकतम् प्रचार र प्रशिक्षण गर्न सक्ने छौं । यही संघर्षका बीचमा हामीले आफूलाई चुम्बकीय शक्तिका रुपमा स्थापित गर्न सक्ने छौं । यही सघर्षका बीचमा संविधान निर्माणका बखत थाँती बसेका एजेण्डा सम्बोधन गर्ने जनमत निर्माण गर्न सक्ने छौं ।

वैकल्पिक विचार र शक्ति स्थापित गर्नका लागि अहिले वस्तुगत आधार तयार भएको छ । यो वस्तुगत आधारलाई आत्मगत उपयोग गर्न सक्ने कि नसक्ने, त्यो वैकल्पिक विचार अभियानका अभियन्ताहरूको क्षमताको प्रश्न हो ।
भाग्यमा छ भन्दैमा डोकोमा दूध दोएर हुँदैन । दूध दुने ढुंग्रो उत्तिकै ठूलो र बलियो हुनु पर्दछ । त्यो भनेको संगठन, संगठन र फेरि पनि संगठन हो । समायोजनका जटिलता र ससाना स्वार्थहरूमा जसपा अब धेरै अल्झिन हुँदैन । समायोजनका बेलामा व्यक्तिगत महत्वाकांक्षा, असान्दर्भिक अडान र समूहगत पूर्वांग्रह राखेर ढिलो गर्नु हुँदैन । त्यसो भए त्यो डोकोमा दूध दोए जस्तो हुनेछ । अवसर फेरि उम्केर जानेछ ।

संगठन र आन्दोलनका बीचमा दोहोरो सम्बन्ध हुन्छ । संगठनले आन्दोलन मात्र गर्दैन, आन्दोलनले संगठनलाई समेत बढाउँछ । अहिले संगठनमार्फत् आन्दोलनभन्दा पनि आन्दोलनमार्फत् संगठन गर्ने बेला हो । यस्तो बेला संगठनभित्रको झमेला आन्दोलनका लागि बाधक बन्यो भने त्यो आत्मघाती कदम हुनेछ ।

राष्ट्रियस्तरमा सबै ढुलमुले र अवसरवादी शक्तिलाई ‘संयुक्त जनान्दोलन’ मा ल्याउने, ओलीतन्त्र र प्रतिगमन विरुद्धको संघर्षलाई निर्णायक बनाउने भूमिका समेत जसपाले गर्नुछ । अर्कोतिर ओलीतन्त्रले जसपाभित्र अविश्वास, फुट, विभाजन ल्याउन राज्यशक्तिको दुरुपयोग गरिरहेको छ ।

ओलीतन्त्रको मुख्य दुश्मान नै अहिले जसपा हो । ओलीतन्त्रले यहाँभित्र हिजैदेखि खेल्ने व्यापक प्रयास गरेको थियो । यहाँसम्म कि पार्टीलाई विभाजित गर्ने षडयन्त्रमूलक दुस्प्रयास गरेको पनि सबैलाई थाहै छ । अहिले ओली गुटका मानिस यो काममा झनै कम्मर कसेर लागेका छन् । उनीहरूले साइबर सेनामार्फत् गोयबल्स शैलीको दुस्प्रचार गरिरहेकै छन् ।

जसपापङ्क्तिले ओलीतन्त्रलाई यो प्रष्ट सन्देश दिन जरुरी छ कि तिम्रा यावत दुस्प्रयासहरू फेरि एकपटक असफल हुनेछन् । खेर जाने छन् । जसरी हिजो बैशाख ८ गतेको सेरोफेरोमा असफल भएका थिए । पद र पैसाले एकाध मान्छे किन्न नसकिने हैन, तर सबै मान्छे पद र पैसाका लागि जन्मिएका हुन् भन्ने भ्रम ओलीतन्त्रले नराखोस् ।

ओली प्रतिगमन विरुद्धको जनसंघर्षको चरण एकातिर हाम्रो ऐतिहासिक राष्ट्रिय कार्यभार हो भने अर्कोतिर वैकल्पिक शक्ति र विचारलाई स्थापित गर्ने अवसर पनि हो । यो यथार्थलाई सबैले आत्मसात गर्न जरुरी छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay