scheduleसोमवारफाल्गुन २४ गते, २०७७

के भाजपा नेपालमा ‘भातृ पार्टी’ बनाउने योजनामा छ ?

साझापोष्ट विश्लेषण

काठमाडौं, ४ फागुन । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले गत शनिबार राज्यको राजधानी शहर अग्रतलामा एक पार्टी कार्यक्रममा बोल्दै गृहमन्त्री अमित शाहले आफूलाई भाजपा पार्टीको विस्तार ‘नेपाल र श्रीलंका’ पनि गर्ने र छिट्टै त्यहाँ पनि भाजपाको सरकार गठन हुने योजना सुनाएको बताए । मुख्यमन्त्री विप्लव देवको यो भनाईको भारतीय मिडियामा व्यापक चर्चा भयो ।

भारतीय मिडियाले यसलाई मुख्यमन्त्री देवको अज्ञानताको रुपमा चित्रण गरे भने विपक्षी दलहरू विशेषतः भारतीय राष्ट्रिय कांग्रेस र भाकपा (मार्क्सवादी) ले देवको भनाई भारतीय विदेश नीतिको खिलाफ रहेको हुँदा नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।

भारत आफैं अंग्रेज उपनिवेशवादविरुद्ध लडेर आएको यसले अन्य देशको सार्वभौमसत्तामा हस्तक्षेप हुने कुनै गतिविधि नगर्ने विपक्षी दलहरूको भनाई थियो ।

मुख्यमन्त्री विप्लव देव हिन्दुवादी राजनीतिक दृष्टिकोणबाट विवादास्पद टिप्पणी गर्ने भाजपा नेताहरू मध्ये पर्दछन् । उनका अभिव्यक्तिहरू बाहिरबाट हेर्दा अज्ञानता र बेकुफीजस्तो लागे पनि भित्रबाट त्यसले भाजपा रणनीतिको अन्तर्यलाई संकेत गर्ने गर्दछन् ।

मुख्यमन्त्री देव त्रिपुरामा २५ वर्ष लामो कम्युनिष्ट सरकार ढालेर सत्तामा आएका हुन् । उनले आसन्न बंगाल विधानसभा निर्वाचनमा तृणमूल कांग्रेसको अन्त्य भई पहिलोपटक भाजपा सरकार गठन हुने सन्दर्भमा यस्तो विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनले गत शनिवार भनेका थिए, ‘आगामी निर्वाचनबाट पश्चिम बंगालमा तृणमूल कांग्रेस विदा हुन्छ । त्यहाँ पनि अब भाजपा सरकार बन्छ । भाजपा अब भारतका सबै प्रदेशमा शक्तिशाली भइसकेको छ । केन्द्रीय गृहमन्त्री अमित शाहजी अब नेपाल र श्रीलंकामा पनि भाजपा विस्तार गर्ने योजनामा हुनुहुन्छ । त्यहाँ पनि छिट्टै भाजपा सरकार बन्छ ।’

विप्लव देवले भाँती पुर्‍याएर भन्न नजानेको भए पनि उनको भनाई बिल्कुल निराधार भने हैन । भाजपाको सिद्धान्त नै परम्परागत शंकराचार्य मतमा आधारित छ । यसले दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका हिन्दू मिथसँग जोडिएका सबै देशहरू विशाल हिन्दू साम्राज्यका अंग मान्दछ ।

कैलाश र मानसरोवर भएको कारणले उत्तरमा तिब्बतलाई समेत भाजपा मतले हिन्दू साम्राज्यको अंग मान्दछ । त्यसका अतिरिक्त भुटान, नेपाल, पाकिस्तान, बंगालादेश, म्यानमार, अफगानिस्तान, श्रीलंका, इन्डोनेशिया, कम्बोडिया र थाइल्याण्डलाई समेत प्राचीन विशाल हिन्दू साम्राज्यका अंग मानिन्छन् ।

जसरी अन्य विचारधाराका पार्टीहरू विश्वव्यापी हुनु सक्दछन् भने हिन्दू विचारधाराका पार्टीहरू पनि विश्वव्यापी रुपमा हुन सक्दछन् भन्ने भाजपाको एक हाँगोको धारणा छ । जस्तै– कम्युनिष्ट पार्टी, लेबर पार्टी, समाजवादी पार्टी, लिवरल डेमोक्र्याटिक पार्टी, ग्रिन पार्टी आदि विचारधाराका पार्टी विश्वका विभिन्न देशमा हुन सक्दछन् भने हिन्दुवादी पार्टी पनि विश्वका विभिन्न देशमा हुन सक्दछ भन्ने अमित शाहको पुरानै धारणा हो ।

आरएसएसमा दोस्रो संघ संरक्षक तथा विचारक गोल्वालकरले यस्तो धारणा राख्दथे भने भारतीय जनसंघ बनेपछि यसका मुख्य सिद्धान्तकार मानिएका दिनदयाल उपाध्यायको धारणा पनि हिन्दूत्व एक विश्व विचारधारा हो भन्ने थियो । उपाध्यायले हिन्दूत्वलाई ‘सम्पूर्ण मानवतावाद’ को अवधारणा अनुरुप विश्व विचारधाराको रुप दिने प्रयास गरेका थिए ।

भाजपामा मोदी–शाह पुस्ता बाजपेयी–आडवानी पुस्ताभन्दा बढी कट्टरपन्थी, चलाख र महत्वाकांक्षी मानिन्छ । उनीहरूले पहिलो चरणमा नेपाल र श्रीलंकामा भाजपाको भातृ पार्टी गठन गर्ने योजना बनाएको हुन सक्दछन् । विप्लव देवले शाहले अन्तरंग बैठकमा भनेका कुरालाई भाजपा कार्यकर्ताको मनोवल उकास्न आफ्नै पाराले अभिव्यक्ति दिएको हुनु पर्दछ ।

नेपाल हिन्दू राज्य नै रहनु पर्दछ भन्ने भाजपाको धारणा रहँदै आएको छ । नेपालको संविधान २०७२ जारी गर्दा बखतको नाकाबन्दी र एस जयशंकरको भ्रमण संघीयता र मधेश आन्दोलनको समर्थनका लागि नभएर मूलतः हिन्दु राज्य कै लागि दवाब दिने थियो भन्ने ठानिन्छ ।

त्यसो हो भने नेपालमा राप्रपा छँदै छ त ? फेरि किन भिन्नै हिन्दूवादी दल चाहिए ? यथार्थमा भाजपाले राप्रपालाई विश्वास गर्दैन । त्यसका दुईवटा कारण छन् । पहिलो कारण– राप्रपाको पञ्चायत र राजतन्त्रसँग जोडिएको विगत र सोही अनुरुपको छवि हो । भाजपाको सिद्धान्त ‘हिन्दू गणराज्य र गणतान्त्रिक लोकतन्त्र’ हो । राजतन्त्र अबको दुनियाँमा सम्भव छैन, हिन्दुत्वलाई राजतन्त्रसँग जोड्ने वित्तिकै त्यो आधुनिक युगको विश्वविचारधारा बन्न सक्दैन भन्ने भाजपा सिद्धान्तकारहरू ठान्दछन् ।

दोस्रो कारण भने– राप्रपामा नेतृत्व संकट हो । भाजपाले पशुपतिशमशेर जबरा र कमल थापालाई खासै विश्वसनीय र प्रभावशाली नेता मान्दैन । सिन्धिया परिवारसँग पारिवारिक सम्बन्ध रहेका पशुपति शमशेर र भाजपामा किनारीकृत हुँदै गएको सिन्धिया परिवारबीच राजनीतिक तालमेल छैन । पशुपति शमशेरकी सासु आमा विजयाराजे सिन्धिया भाजपा समर्थक थिइन् ।

तर उनका छोरा माधवराज सिन्धिया कांग्रेसमा लागे । कांग्रेसमा रहेकै बेला उनको एक हवाईजहाज दुर्घटनामा मृत्यु भयो । माधवराजका छोरा ज्योतिरादित्य सिन्धीया लामो समय कांग्रेसमा रहेर गत वर्ष मात्र भाजपा प्रवेश गरेका छन् । ज्योतिरादित्यलाई अझै भाजपाको कोर टिमका नेताले राम्रो विश्वास गर्दैनन् । नाताले पशुपति शमशेरकी सालीहरू बसुन्धरा राजे सिन्धीया र यशोधरा राजे सिन्धीया भाजपाको राजस्थान राजनीतिबाट किनारीकृत हुँदै गइरहेका छन् ।

कमल थापाको चरित्र अतिमहात्वकांक्षी, अवसरवादी र ढुलमुले भएको ठान्छन भाजपावालाहरू । भाजपाको दृष्टिकोणमा हिन्दुत्वको विचारधारालाई सफल पार्न नैतिक जीवन र जीवन दानको संस्कृति आवश्यक हुन्छ । त्यो ज्ञानेन्द्र शाह र शाह परिवारमा समेत नभएको उनीहरूको ठहर छ । राजस्थानी सिंहहरू भाजपाभन्दा बढी कांग्रेस नजिक छन् ।

पशुपति शमशेरकी कान्छी छोरी देवयानी राणाले कांग्रेस नेता अर्जुन सिंहको परिवारमा बिहे गरेकी छन् भने पारस शाहले विवाह गरेकी हिमानी शाहको माइती परिवार पनि कांग्रेस निकस्थ राजस्थानी सिंह परिवार हो ।

नेपालको हिन्दुवादी र दल शक्तिसँग भाजपाको खासै तालमेल छैन । ज्ञानेन्द्र शाहले उत्तरप्रदेश मुख्यमन्त्री योगी आदित्यनाथमार्फत् भाजपा संस्थापन पक्षसँग निकटको सम्बन्ध बनाउन बारम्बार प्रयास गरे । मोदी–शाह समूह योगी आदित्यनाथलाई भन्दा राजनाथ सिंहलाई मन पराउँछन् ।

योगी क्षत्रीय विष्ट हुन् । मोदी–शाह वैश्य समुदायका हुन् । आदित्य नाथ मोदी–शाहको भित्री इच्छाभन्दा पनि आरएसएसको दबाबमा मुख्यमन्त्री भएका थिए । योगीसँग ज्ञानेन्द्र शाहको सम्बन्धलाई मोदी–शाहले कहिल्यै मन पराएनन र ज्ञानेन्द्र शाहलाई उनीहरूले खासै भाउ पनि दिएनन् ।

तसर्थ नेपालमा राप्रपा वा राजावादीहरू भाजपाको छनौटभित्र छैनन् । उनीहरू राप्रपालाई भाजपासँग विचार मिल्ने समकक्षी पार्टी ठान्दैनन् । राप्रपा बाहेकका अरु दलहरूसँग उनीहरूको वैचारिक निकटता छैन ।

भारतमा आफ्नो मुख्य प्रतिस्पर्धी कांग्रेस भएको हुँदा कांग्रेस ब्राण्डको पार्टीले दक्षिण एसियामा प्रगति गर्न नसकोस् भन्ने भाजपाको भित्री इच्छा हुन्छ । भारतमा युपिए गठबन्धनको सरकार हुँदा नेपाली कांग्रेसको जुनस्तरको अन्तरङ्ग सम्बन्ध थियो, भाजपाको उदयपछि त्यस्तो सम्बन्ध छैन ।

झट्ट हेर्दा जनता समाजवादी पार्टी भारतको निकट छ भन्ने भ्रम नेपालमा छ । तर, विश्लेषकहरूका अनुसार वास्तविकता त्यस्तो छैन । जसपाले हिन्दू राष्ट्रको मुद्दा नबोकेर धर्मनिरपेक्षताको पक्षपोक्षण गरेकोमा उनीहरू बेखुसी छन् । त्यसैगरी समावेशिता, आरक्षण र संघीयता पनि भारतमा भाजपाको भन्दा कांग्रेस र समाजवादी निकट मुद्दाहरू हुन् ।

कम्युनिष्ट विचारलाई त भाजपा सिद्धान्तले दुश्मन विचार मान्दछ । गोल्वालकरले आरएसएसको सिद्धान्त बनाउँदा ३ दुश्मनहरू भनेर ‘क्रिश्चियन, कम्युनिष्ट र मुस्लिम’ लाई किटान गरेका थिए ।

आरएसएसको स्थापना सन् १९२७ मा नागपुरमा भएको थियो । त्यससमेतलाई जोड्दा भाजपाको वास्तविक इतिहास एक सय वर्ष पुग्न अब ६ वर्ष मात्र बाँकी छ । सन् १९९० को दशकबाट मात्र भाजपा एक बलियो राजनीतिक शक्तिका रुपमा स्थापित भएको हो । यस पार्टीले पहिलोपटक सन् २०१४ को चुनावमा मात्र बहुमत हासिल गरेको थियो ।

भाजपा नेतृत्व पङ्क्ति अझै केही चुनाव भाजपाले जित्ने विश्वास गर्दछन् । कांग्रेसले ५४ वर्ष शासन गरेर अर्धशतक इतिहास बनाएजस्तो भारतीय राजनीतिमा सन् २०१४ यता एक भिन्नै युग निर्माण हुने उनीहरूको विश्वास छ । नियालेर हेर्दा भाजपालाई संगठन र फैलावटको आधारमा चुनौति दिन सक्ने दल भारतमा देखिन्न । भारतीय राष्ट्रिय कांग्रेस निक्कै खुम्चिएको छ भने अरु सबैजसो प्रतिस्पर्धी दलहरू प्रादेशिक चरित्रका छन् ।

पहिलोपटक सत्तामा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘छिमेकीलाई पहिलो प्राथमिकता’को नारा लगाएका थिए । तर, उनको यो नीति फेल भयो । सबैजसो छिमेकी देशसँग भारतको सम्बन्ध बिग्रँदै गयो । पाकिस्तानसँग त पुरानो दुश्मनी छँदै थियो, नेपाल, भुटान, श्रीलंका र माल्दिभ्ससँग पनि मोदी शासनकालमा सुमधुर सम्बन्ध बन्न सकेन । बंगलादेशसँगको सम्बन्धमा भने अहिले केही सुधार आएको छ ।

यस्तो अवस्थामा नेपालमा भाजपा र भाजपा सरकारसँग विश्वासिलो सम्बन्ध बनाएर जाने दल कुन हुन सक्दछ भन्ने कुरामा भाजपा भ्रमित छ । उनीहरूले संविधान निर्माणका बखत र त्यसपछि पनि हिन्दुराज्यको मुद्दा बोकी दिन सबैजसो दलहरूलाई भित्रभित्रै आग्रह गरे । तर कुनै पनि दल औपचारिक रुपमा राजी भएनन् । कांग्रेस महामन्त्री शशांक कोइरालाले केही समय त्यो प्रयास गरे पनि अन्ततः आफैं पछि हटे ।

नाकाबन्दी बेलाको समस्या र चाइना कार्डको कारण भाजपा ओली सरकारसँग पनि सन्तुष्ट छैन । महाकाली सन्धिको समयमा ओलीले त्यहाँका गुप्तचर संस्थाहरूसँग जुन सम्बन्ध निर्माण गरेका थिए, युपिए गठबन्धन सत्ताबाट बाहिरिएसंगै त्यो सम्बन्ध कमजोर भएको थियो ।

रअका प्रमुख सामन्त गोयलको गत भ्रमणपछि त्यो सम्बन्ध पुनश्चः जोडिएको छ । नेकपाको विभाजनपछि आएको चीनको उच्चस्तरीय टोलीलाई ओलीले खासै महत्व दिएनन् । यसले गोयलसँगको भेटपछि ओलीको पुरानो सम्बन्ध पुनः जोडिएको सहज अनुमान गर्न सकिन्छ । त्यसपछि नरवाणे, श्रृंगला र चौथाइवालले छोटो अवधिमै नेपाल भ्रमणसँगै ओलीसँग गोप्य भेट गरे ।

स्रोतका अनुसार यी सबै भेटमा ओली गोप्य बैठकहरू एक्लाएक्लै गरेका थिए । ओलीको भित्री सम्पर्क सुत्र, सम्झौता र योजनाबारे यहाँसम्म कि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई समेत खासै सूचना र जानकारी नदिइएको उच्चस्रोतको दावी छ ।

पछिल्लोपटक नेपाल आएका डा. विजय चौथाइवाला मोदीका निकटस्थ हुन् । युपिए गठबन्धन बाहिरिएपछि टुटेको ओलीको अन्तरङ्ग सम्बन्ध गोयलले पुनः जोडी दिएको र चौथाइवालले त्यसलाई ‘फिनिसिङ’ गरेको हुन सक्ने ठानिन्छ ।

त्रिपुरा मुख्यमन्त्री विप्लव देवले अमित शाहलाई उद्धृत गर्दै भनेको भनाईका दुईवटा अर्थ हुन सक्दछन् । एक– नेपालमा ओलीसँगको सम्बन्ध पुनश्चः ठीकठाक भइसकेको छ । नेकपाको ओली समूहले नै भविष्यमा भाजपाको भातृपार्टीको जस्तो काम गर्नेछ ।

भाजपा नेपालमा आफू निकटको विचार र एजेण्डा बोक्ने कुनै नयाँ दल बनाउने र त्यसलाई सहयोग गर्ने मनस्थितिमा छ । कतिपयले ओली सरकारका मन्त्री हृदयेश त्रिपाठीले बनाउन चाहेको नयाँ दललाई भाजपाको सम्भावित भातृ पार्टी हुन सक्ने अनुमान पनि गरेका छन् ।

मुख्यमन्त्रीजस्तो महत्वपूर्ण पदमा रहेको व्यक्तिले भाजपाका मुख्य रणनीतिकार मानिएका केन्द्रीय गृहमन्त्री अमित शाहलाई जोडेर दिएको अभिव्यक्ति अकारण नहुन सक्दछ । जे होस्, भौगोलिक अवस्थितिका कारण पनि धर्म र पार्टीको नाममा भारतीय हस्तक्षेप सधैं निन्दनीय छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay