scheduleमगलवार श्रावण १९ गते, २०७८

कसले कस्तो सेटिङ मिलाएको हुन सक्छ ओली र देउवाबीच ?

साझापोष्ट टिप्पणी

काठमाडौं, ४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एकातिर प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई ‘असंवैधानिक’ भनेको छ । कांग्रेसका नेता कार्यकर्ताहरू यसलाई प्रतिगमन भन्दै विरोधसभा तथा जुलुसहरू गरिरहेका छन् । अर्कोतिर कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान भने निर्वाचन छिटो भइदेओस् भन्नेतिर छ ।

सर्वोच्च अदालतको बारेमा बोल्न देउवाले बारम्बार अस्वीकार गरेका छन् । नेपाली कांग्रेसजस्तो स्वतन्त्र न्यायालयको सिद्धान्तमा विश्वास गर्ने लोकतन्त्रवादी शक्तिले सर्वोच्च अदालतको बारेमा टिप्पणी गर्न नमिल्ने उनको तर्क छ । उनीले बारम्बार भन्ने गरेको छन्– सर्वोच्च अदालतले जस्तो निर्णय दिए पनि हामीलाई स्वीकार्य छ । प्रतिनिधिसभा पुनःस्थापना गरे पनि ठीक छ, चुनावमा जानु पर्छ भने पनि ठीक छ ।

अर्कोतिर कांग्रेसकै नेताहरू सभापति शेरबहादुर देउवाको तर्कसँग समहत देखिन्न । वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमन स्वीकार गरेर चुनावमा जान नसकिने बताउने गरेका छन् भने युवा नेता गगन थापाले सर्वोच्च अदालतलाई काममा बाध गर्न नमिले पनि आफ्नो धारणा बोल्न मिल्ने बताउने गरेका छन् । थापाले बीपी कोइरालाको उदाहरण प्रस्तुत गर्दै ‘न्यायालयमै न्याय मर्‍यो भने न्याय अन्यत्र कतै बाँकी नरहने’ बताउने गर्दछन् ।

थापाको विचारमा प्रतिनिधिसभा पुनःस्थापना नभए न्याय मर्दछ । सर्वोच्च अदालतले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्नु पर्दछ भन्ने थापाको आसय देखिन्छ । अन्यथा न्याय मर्नेछ ।

आफ्नै पार्टीका नेताहरूको यस्ता तर्कले सभापति देउवालाई खासै छोएको छैन । यहाँसम्मकी संवैधानिक परिषदमा ओलीले गरेका नियुक्तिहरूमा देउवाले भाग पाएको बुझिन्छ । कुल त्यस्ता नियुक्तिमध्ये १९-२१ जनासम्म देउवा निकटस्थ व्यक्तिहरू हुन सक्ने बताइन्छ । सभामुख अग्निप्रसाद सापकोटाले यस्ता नियुक्तिहरूमा असहमित जनाउँदै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले ‘प्रतिगमन सच्चिएर नयाँ सरकार आउने वित्तिकै ती सबै नियुक्ति खारेज हुने’ सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर देउवा भने टसको मस छैनन् । आखिर देउवामा यस्तो बुझाई र आत्मविश्वास कसरी बनिरहेको छ ।

विश्लेषकहरूका अनुसार यसका दुईवटा कारण हुन सक्दछन् ।

एक– होस्याङ्गे स्वभावका देउवाले ओलीको चाल राम्ररी बुझिरहेका छैनन् । ओलीले दिएका स-साना लोभ र आश्वासनमा नै उनी मख्ख छन् ।

दुई– देउवा त्यति कमजोर दृष्टिकोण भएका मान्छे छैनन् जति ठानिन्छ । देउवालाई कसैले केही भित्री कुरा भनेको छ, त्यो उनी बाहेक अरु कुनै कांग्रेस नेतालाई थाहा छैन । पछिल्लो घटनाक्रमबारे कसैले न कसैले ओली र देउवाबीच कुनै न कुनै प्रकारको साँठगाँठ गराएको हुनु पर्दछ ।

जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका अनुसार ओली र देउवा बीच सेटिङ हुन सक्दछ । यदि त्यस्तो सेटिङ छ भने त्यो सेटिङ के होला ?

अन्तर्राष्ट्रिय शक्तिसम्बन्धको आयामबाट हेर्दा प्रधानमन्त्री केपी ओली शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा फरकफरक पृष्ठभूमिका नेता हुन् । ओली महाकाली सन्धिताकादेखि नै दक्षिणी संस्थापनको नजिक रहेको ठानिन्छ भने देउवा अमेरिकी खेमाको नजिक रहेको ठानिन्छ । देउवा र आरजुको बिहे अमेरिकी राजदूत जुलिया चाङ ब्लकले गराइदिएको कुरा अहिले पनि मान्छेहरू स्मरण गर्दछन् ।

विश्लेषकहरूका अनुसार– २०४६ साल यता भारत र चीन दुवै छिमेकीको बलियो सद्भाव विना बारम्बार प्रधानमन्त्री हुने एक मात्र व्यक्ति देउवा नै हुन् । यसको अर्थ देउवासँग छिमेकी देशहरूका सम्पर्क सुत्रहरू नभएका भने हैनन् । यहाँसम्मकी भारत र चीन दुवै देशका काठमाण्डौंस्थित राजदूतहरूले देउवालाई बारम्बार भेट्ने गरेका छन् ।

ओलीप्रति अरु दल, नागरिक समाज र स्वयं कांग्रेसभित्रका अरु नेताहरू जति आक्रमक देउवा त्यति आक्रमक देखिन्नन् । त्यसको भिन्नै रहस्य हुन सक्दछ ।

भारत र अमेरिकाबीच इन्डोप्यासिफिक स्ट्राटेजी (आइपिएस) निकटतापछि रअ र सिआइएको दक्षिण एसियाली स्वार्थ साझा भएको र त्यही साझा स्वार्थले ओली र देउवालाई निकट ल्याएको हुन सक्ने ठानिन्छ । रअ प्रमुख समान्त गोयलमार्फत् पछिल्लो चरणमा ओलीले दक्षिणसँगको सम्बन्धलाई पुनःस्थापित गरेका थिए ।

देउवासँग त्यही शक्तिले समानान्तर भूमिका गरेको हुन सक्दछ । देउवालाई दुईवटा राजनीति लाभको प्रत्याभूति गरिएको हुनु पर्दछ ।

एक– कम्युनिष्ट पार्टी फुटेको बेला जति सजिलो कांग्रेसलाई चुनाव जित्न अरु बेला हुने छैन । कांग्रेसले यो अवसर उपयोग नगरे फेरि कम्युनिष्ट समूहहरू कुनै बहानामा मिल्न सक्दछन् । कम्युनिष्टहरू साँच्चै मिले भने अझै केही चुनाव कांग्रेसले पर्खनुपर्ने हुन सक्दछ ।

दोस्रो– नेकपा ओली समूहका नेताहरूले सत्ता कुनै हालतमा प्रचण्ड-माधव समूहलाई नदिने बरु कांग्रेसतिर हुत्याई दिने भन्ने गरेका छन् । यसको अर्थ कांग्रेसको एकल बहुमत नआए आगामी चुनावपछि देउवाको नेतृत्वमा कांग्रेस र ओली समूहको संयुक्त सरकार बनाउने आश्वासन देउवालाई दिइएको हुनु पर्दछ ।

यसो गर्दा ती शक्तिहरूलाई चाँहि के फाइदा हुन्छ त ? अमेरिका र भारत दुवै नेपालमा कम्युनिष्ट शक्ति बढेकोमा चिन्तित हुनु पर्दछ । नेपालमा कम्युनिष्टहरू बलियो भए भने राजा महेन्द्रले जस्तै चाइना कार्ड खेल्दछन् भन्ने उनीहरूको बुझाई छ । यसबीचमा नेकपा र ओलीले खेलेका चाइना कार्डले ती शक्तिहरूलाई सशंकित बनाएको छ ।

ज्योतिषले गरेको ७ पटकसम्म प्रधानमन्त्री हुने भबिष्यवाणी देउवाले पत्याउँदै आएका छन् । फेरि एकपटक उनले आफू प्रधानमन्त्री पदको नजिक पुगेको महसुस गरेका छन् । वैशाखमै चुनाव भएर सत्तामा रहेको बेला पार्टी महाधिवेशन गराउँदा पुनश्चः एकपटक पार्टी सभापति जित्ने सम्भावना बढ्दछ । त्यो लाभ लिनका लागि पनि देउवा सर्वोच्च अदालतले चुनावको बाटो खोल्दिओस् भन्ने चाहन्छन् ।

देउवाका लागि प्रतिगमनविरुद्धका सभा र जुलुसहरू चुनावका लागि पार्टीलाई तताउँदै गर्ने काइदा मात्र हो । बरु निर्वाचन आयोगको कारणले निर्धारित मितिमा चुनाव नहोला र ओली सरकारले चुनाव सार्ने अवसर पाउँला भनेर उनी चिन्तित छन् ।

देउवाको अर्को चिन्ता चुनाव भन्दा अगाडि नै नेकपाका फुटेका समूहहरू मिल्ने त हैनन् भन्ने हो । ओली र देउवाबीच सूलह गराउनेहरूले यो सम्भावनालाई पुरै इन्कार गरेका छैनन् । निर्वाचन आयोगले दल विभाजनको कानुनी प्रक्रिया पुरा गर्न ढिलाई गरेको छ । यस कारणले देउवा सशंकित छन् ।

कथमकदाचित प्रतिनिधिसा पुनःस्थापना भए ओलीको पतन हुने तर नेकपा एकीकृत नै रहने सम्भावना छ । देउवा यस्तो नहोस् भन्ने चाहन्छन् । तसर्थ उनको चासो र आक्रोस सर्वोच्च अदालतभन्दा बढी निर्वाचन आयोगतिर देखिन्छ ।

ओली र देउवाबीचको अनुमानित सुलह देउवाको राजनीतिक स्वार्थका दृष्टिकोणले नराम्रो हैन । तर, यसले लोकतन्त्र, संविधानवाद र स्वयं नेपाली कांग्रेसलाई भने कहाँ पुर्‍याउँछ, यसै भन्न सकिन्न ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय