भागरथी हत्याका आरोपी भट्ट सार्वजनिक
काठमाडौ, ५ फागुन । भागरथी भट्टको बलत्कार तथा हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । भट्टले घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलत्कार प्रयास गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए ।
सुवेदीले भने, ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायतक अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ ।’
भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी थिइन् । उनको शव भोलिपल्ट खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।
प्रहरीले शंकाको घेरामा राखेको ती युवक भागरथीको बलात्कार तथा हत्या आरोपी पक्राउ गर्न गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए । विद्यालयबाट फर्कने क्रममा भागरथीलाई बलात्कार र हत्या गरेको ती युवकले स्वीकारिसकेको प्रहरीले जनाएको छ ।