scheduleसोमवारफाल्गुन २४ गते, २०७७

को होला मोदीको उत्तराधिकारी ?

रामचन्द्र गुहा

वर्ष २०२० मा भारतमा तीन बिषय बिशेष चर्चामा रहे । ती बिषय थिए– कोरोना महामारीले उत्पन्न गरेको जोखिम, अर्थतन्त्रको बिग्रँदो अवस्था र चीनसँगको सीमा विवाद । भारतीय मिडिया, अझ सामान्यतः भन्ने हो भने भारतीय जनता राजनीतिप्रति आशक्त रहने गर्दछन् । तर, सन् २०२० मा स्वास्थ्य, अर्थव्यवस्था र प्रतिरक्षाको सवालले राजनीतिलाई पछि पारे ।

यसका बाबजुद भारतीय राजनीतिमा गत वर्ष निक्कै ठूलो एक बदलाव आयो । यो बदलावले भारतीय गणराज्यको भविष्यमाथि निक्कै गहिरो र विक्षुव्ध गर्ने खालको प्रभाव पार्न सक्दछ । त्यो बिषय हो– भारतको सबैभन्दा महत्वपूर्ण राजनीतिक दलको नेताका रुपमा उत्तरप्रदेशका मुख्यमन्त्रीको उभार ।

सन् २०१९ को अन्त्यतिरसम्म यस्तो लाग्थ्यो कि सन् २०२४ मा यदि भाजपाले लगातार तेस्रो पटक चुनाव जित्यो भने नरेन्द्र मोदीको ठाउँमा केन्द्रीय गृहमन्त्री अमित शाह प्रधानमन्त्री हुनेछन् । शाह करिब दुई दशकदेखि मोदीका नजिकका विश्वासिला सहयोगी हुन् ।

संविधानको धारा ३७० लाई निष्प्रभावी बनाउन र नागरिकता संशोधन विधेयकलाई पारित गराउन अहम् भूमिका निभाएका शाहको स्थिति यस्तो लाग्थ्यो कि उनी आफूलाई आफ्ना नेताको मन्जुरीमै स्पष्ट उत्तराधिकार बनाइरहेका छन् ।

सन् २०२० को प्रारम्भमा पनि सबैको पारम्पारिक ज्ञानले त्यही भनिरहेको थियो– शाह नै मोदीका उत्तराधिकार हुनेछन् । १ वर्षपछि आज हेर्दा स्थिति त्यस्तो लाग्दैन । शाहको ठाउँमा धेरैले योगी आदित्यनाथलाई देख्न थालेका छन् । भाजपाकै कतिपय वरिष्ठ नेताहरू पनि यस्तो सम्भावना स्वीकार गर्दछन् ।

यो कुरा ध्यान दिन जरुरी छ कि हिन्दू–मुस्लिम विवाहविरुद्धको कानुन ल्याउन शिवराज चौहान र बिएस यदियुरप्पाले कसरी उत्तरप्रदेशको अनुशरण गरेका छन् । कुनै समय चौहान र यदियुरप्पालाई बाजपेयी युगका प्रतिक मानिन्थ्यो । उनीहरूलाई मोदी–शाहजस्ता कट्टरपन्थीहरूको तुलनामा नरम र समावेशी सोचका मान्छे मानिन्थ्यो । उनीहरूको राजनीतिक अस्तित्वको आधार उदारता त्यागेर कट्टरतातिरको झुकाव यो कुराको संकेत हुन सक्दछ कि भोलिमा दिनमा उनीहरूले योगी आदित्यनाथको अधिनस्थ रहेर काम गर्नुपर्ने हुन सक्दछ ।

सन् २०१२–१३ मा प्रधानमन्त्री बन्ने आफ्नो महत्वाकांक्षका लागि नरेन्द्र मोदीले ‘गुजरात मोडेल’ सार्वजनिक गरेका थिए । उनको दावी थियो कि उनी यो मोडेल देशभरि लागू गर्ने छन् । मोदीको दावी यो पनि थियो कि यो मोडेलले प्रगतिशील, अग्रगामी आर्थिक तथा सामाजिक दृष्टिकोणको प्रतिनिधित्व गर्दछ ।

उनका आलोचकहरूले त्यतिखेरैदेखि मुस्लिम समुदायलाई किनारीकृत गर्ने र विरोधीहरूप्रति असहिष्णुता अपनाउनेजस्ता मोदीका खराब पक्षलाई रेखांकित गरेका थिए । यी गुजरात मुख्यमन्त्रीका रुपमा मोदीका धमिला पक्ष थिए । योगी आदित्यनाथले अहिलेसम्म युपी मोडेलको दाबी गरेका छैनन्, जसलाई उनी पुरै भारतमा लैजान चाहन्छन् । तर, उनले अहिलेसम्म आफ्नो राज्यमा जेजे गरेका छन्, त्यसका आधारमा यो अनुमान गर्न सकिन्छ कि उनी वास्तविकतामा कसको प्रतिनिधि हुन सक्दछन् ।

मोदी र आदित्यनाथमा उल्लेखनीय समानताहरू छन् । दुवै सत्तावादी राजनीतिक व्यक्तित्वका पाठ्यपुस्तकजस्ता दृष्टान्तहरू हुन् । उनीहरू दुवै आफ्नो वरिपरिका मान्छेहरू माथि, चाहे ती क्याबिनेटका सहयोगी हुन वा विधायक, कर्मचारी हुन वा विशेषज्ञ, प्रेस जगत होस् वा आम नागरिक, आफ्ना विचार थोपर्न चाहन्छन् । दुवै आत्मप्रसंशाको भावनाले ग्रस्त छन् । ती सबै उपलब्धिहरूको चाहे ती वास्तविक हुन् वा काल्पनिक, आफैं मात्र श्रेय लिन चाहन्छन् ।

यसका बावजुद दुईबीच महत्वपूर्ण भिन्नता पनि छ । मोदीको तुलनामा आदित्यनाथ खुलेआम बहुसंख्यकवादी छन् । मोदी बारम्बार यो भन्छन् कि उनी सबैको साथमा छन्, चाहे उसको धार्मिक आस्था जेसुकै होस् । कहिलेकाही उनी मेट्रोमा यात्रा गर्दै मुस्लिमहरूसँग फोटो पनि खिच्छन् ।

आदित्यनाथ यस्ता गोलमाल कुरा गर्दैनन् । उनी आफ्ना शब्द र क्रियाकलापप्रति स्पष्ट छन् । उनका सबै कुराबाट यो झल्किन्छ कि उनी हिन्दू अन्य धार्मिक आस्था विशेषतः मुस्लिमभन्दा श्रेष्ठ हो भन्ने धारणा राख्दछन् ।

मुख्यमन्त्री हुँदा गुजरातमा मोदीले आफ्ना आलोचकलाई दमन गर्न वा चुप राख्न पुलिस र कानुनलाई औजारका रुपमा प्रयोग गरेका थिए । आदित्यनाथ पनि आफ्नो राज्यमा त्यही काम गर्दैछन् । जस्तो कि उत्तरप्रदेशमा नागरिकता ऐन संशोधन विधेयक विरोधी शान्तिपूर्ण प्रदर्शनलाई दमन गर्न योगीले कयौं कार्वाहीहरू गरे ।

रामचन्द्र गुहा

भारतमा मुख्यमन्त्रीहरूले आफ्ना विरोधीलाई दमन गर्न जुन प्रकारले राज्ययन्त्रको प्रयोग गर्दछन्, त्यसमा विगतका अरु मुख्यमन्त्रीको तुलनामा मोदी सबैभन्दा अघि थिए । अहिले आदित्यनाथ त्यसभन्दा पनि अघि भएका छन् । अन्य राज्यमा बसेर काम गर्ने पत्रकार र कमेडियनहरूलाई समेत उत्तरप्रदेशमा एफआइआर दर्ता गराएर योगीले यो पुष्टि गरेका छन् कि उनी मोदीभन्दा पनि बढी कट्टर र सत्तावादी छन् ।

एक वेभसाइट लेखमा यो कुराको बढो राम्रो चित्रण गरिएको छ कि उत्तरप्रदेशमा योगीको उदय कसरी भाजपालाई भारतभरि विकास गर्ने योजनाको एक निर्णायक क्षण हो । योगी मोडेलले खुलेआम विरोधी र मुस्लिमलाई शत्रु करार गर्दछ । आलेखमा यो कुरा प्रष्ट रेखाङ्कित गर्न खोजिएको छ कि कसरी मुख्यमन्त्री कार्यकालको प्रारम्भदेखि नै उनले विरोधी र मुस्लिमहरूलाई निशाना बनाउन थाले ।

आदित्यनाथका चिन्ताहरू उच्च हिन्दु समुदायका चिन्तासँग जोडिएका हुन्छन् । कानुन र पुलिसलाई उनी त्यसैको रक्षाका लागि प्रयोग गर्दछन् । विरोधीलाई निशाना बनाउनु दण्डित गर्नु, कैद गर्नु, खास त्यस्तै घटना पर्‍यो भने मार्नु मराउनुलाई स्वभाविक ठान्दछन् । लेखका अनुसार आदित्यनाथ सरकारले प्रतिशोधका लागि ती सबै सीमाहरू नाघेको छ, जो उनी अघिका भाजपा सरकारहरू गर्न डराउँथे वा हिचकिचाहट मान्थे ।

उत्तरप्रदेशको मुख्यमन्त्री हुनुअघि आदित्यनाथले हिन्दू युवा वाहिनी नामको संगठन बनाएका थिए, जसले आफूलाई हिन्दुत्व र राष्ट्रवादप्रति समर्पित सामाजिक तथा सांस्कृतिक संगठन मान्दथ्यो । यो संगठन संगठित र उग्र थियो । यसले दंगा, हत्या र आगजनी जस्ता आरोपको सामना गर्नु परेको थियो ।

वाहिनीका सदस्यहरू आज पनि आफ्नो नेताप्रति समर्पित छन् । आफ्नो नेताको आदेश पालना गर्न हरदम तयार देखिन्छन् । स्वतन्त्र भारतको इतिहासमा आदित्यनाथ नै एउटा त्यस्ता राजनेता हुन जसले मुख्यमन्त्री बन्नुभन्दा कयौं वर्ष पहिले नै एक निगरानी संगठन बनाउने र संचालन गर्ने गरेका थिए ।

सन् २००१ मा जब मोदी गुजरातको मुख्यमन्त्री बने, राज्यमा पहिलेदेखि नै मजबुत औद्योगिक आधार थियो । फल्दोफुल्दो उद्यमशील संस्कृति थियो । सन् २०१७ मा योगी उत्तरप्रदेशको मुख्यमन्त्री बन्दा त्यस्तो केही थिएन । जनसंख्याको दृष्टिकोणले देशको सबैभन्दा ठूलो प्रदेश आर्थिक तथा सामाजिक दृष्टिकोणले पिछडिएको थियो । तर, आदित्यनाथका नीतिहरूले उत्तरप्रदेशको यो छविलाई बदल्न कुनै भूमिका गरेनन् ।

यी सबै कुरा ती व्यक्तिको बारेमा हो, जो भाजपाको शीर्ष नेता तथा नरेन्द्र मोदीको उत्तराधिकार हुन सक्दछन् । यदि आगामी चुनावमा साँच्चै योगी आदित्यनाथले आफ्नो पार्टीको चुनावी अभियानको नेतृत्व गरे भने मतदातासँग उनले कस्ता ‘अच्छे दिन’ को वचन र प्रतिबद्धता देलान् ?

सन् २०१२–१३ मोदीको दाबी थियो कि उनीले भारतीय युवाहरूका लागि रोजगार, समृद्धि र सुरक्षा दिने छन् । हिन्दू युवावाहिनीका संस्थापकले भारतीय युवाहरूलाई अरु विरोधी धर्मका मान्छेलाई दमन र उत्पीडन गरेको आनन्दबाहेक अरु कुनै कुरा दिन सक्लान् ?

प्रधानमन्त्रीका रुपमा मोदीले विश्वमा थुप्रै भ्रमण गरेका छन् । अरु देशका नेताहरूलाई लोभ्याएका छन् । भलैकी यस्ता भ्रमणहरू सफलता र असफलता मिश्रित छन् । मानौं कि आदित्यनाथ योगी भारतको प्रधानमन्त्री भए, विश्वले उनी र उनको देशबारे कस्तो सोच बनाउँला ?

यदि प्रधानमन्त्री भए भने सायद योगीले बाहिरको कुरामा त्यति ध्यान नै दिने छैनन् । उनको ध्यान भारतभित्रै आफ्नो सत्तालाई मजबुत गर्न केन्द्रित हुनेछ । विशेषतः ती भारतीय माथि जो उनको राजनीतिक, दार्शनिक तथा आध्यात्मिक आस्थाभन्दा बाहिर छन् ।

केही महिना अघिको आफ्नो एक लेखमा मैले विगत र वर्तमानका प्रधानमन्त्रीको कार्यशैलीको तुलना गरेको थिए । मैले त्यस लेखमा भनेको थिए कि मोदीको केन्द्रीकरण र नियन्त्रणको प्रवृतिले सायद इन्दिरा गान्धी पनि स्तब्ध होलिन् । आदित्यनाथ यदि प्रधानमन्त्री भए भने सम्भावना छ कि मोदी समेत स्तब्ध हुनेछन् ।

गुजरात मोडेलको सात वर्षले भारतीय गणतन्त्रको सामाजिक तथा साँस्कृतिक तानाबानामा गहिरो चोट पुर्‍याएको छ, उत्तरप्रदेश मोडलको एक कार्यकालले नै यसलाई नष्ट गर्दिन सक्दछ ।

अमर उजालाबाट ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay