scheduleसोमवारफाल्गुन २४ गते, २०७७

चौकीदार नै चोर बनेपछिको राजनीतिक संकट

अभि गाउँले

शब्दकोषमा परिभाषित व्याख्याले कुनै शब्दको अर्थभाव राख्ला तर त्यो नै त्यसको मर्म हुन सक्दैन र प्रमाणित पनि हुँदैन । अन्योलपूर्ण र सकसपूर्ण स्थितिमा गुज्रिरहेको राजनीतिलाई सुरक्षित अवतरण गराउने असली राजनेताको खोजी भैरहेको बेला नक्कली राजनेताको प्रतिमूर्ती निर्माण गरिएको छ । जो प्रतिगमनको स्वयं कारक र साक्षी छ, उसैलाई राजनेताको पगरी गुथाउने हनुमानहरूको बिगबिगी छ । जसले संविधानलाई कुल्चिएर विधिको शासनको खिल्ली उडाइरहेको छ, त्यसैलाई सभाहल र सडकका पोलहरूमा जबर्जस्त राष्ट्रनायकको उपमा मानिएको छ ।

देशमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको कामचलाउ सरकार छ । सत्तारूढ दल नेकपाको एउटा शक्ति सत्ताको रसास्वादन गरिरहेको छ भने अर्को शक्ति शक्तिहीन र विक्षिप्त अवस्थामा छ । प्रचण्ड-माधव-ओलीहरूको पदको लडाइँ अन्ततः प्रणाली बचाउने अभियानको रूपमा निक्कै नाटकीय ढंगले विषयवस्तु प्रस्तुत भैरहेको छ ।

नेपालको संसदहरण, म्यानमारको सैनिक कू र अमेरिकाको ट्रम्प बहिर्गमनले विश्व राजनीतिमा नयाँ र परिस्कृत सिद्धान्तलाई स्थापित गर्न खोजेको भान हुन्छ । संसारको अस्तित्व नै सत्य र असत्यको निरन्तर द्वन्द्वले बचाएको हुन्छ । सहि र गलत सधैं आपसमा लडिरहेकै हुन्छ । अन्त्यमा सहिलाई गलत र गलतलाई सहि सावित गराउने कुनै भौतिक तागत यो दुनियाँमा छ जस्तो लाग्दैन र त्यसलाई ग्रहण गर्नसक्ने नैतिक सामर्थ्य पनि त्यसमा हुँदैन । तर पनि गलतको पक्षमा भीडको बल र सत्यको पक्ष केही कमजोर जस्तो देखिँदा छट्पटी हुँदोरहेछ ।

बदमास गर्नेलाई बदमासीहरूले नै हो पुरस्कृत गराउने तर असल काम गर्नेलाई दण्डित गर्ने दुस्साहस कसैले नगरेकै जाती हुन्छ । झुटको सहारा लिएर बलमिच्याईंपूर्ण तरिकाले अघि बढिरहेको ओलीतन्त्र एकदिन यसरी समाप्त हुँदैछ कि हामीले चाहेर पनि बचाउन नसक्ने बडो अप्ठेरो परिस्थितिको निर्माण भैराखेको छ ।

अहिले ‘ओली बचाउ’ अभियानमा जुटेका कथित अभियन्ताहरू रानो हराएको मौरीझैं डुलुवा बन्नेछन् । संविधानको बर्बर हत्या गरी लम्किरहेको ओली शासनले नमेटिने पाइलाहरूको रक्तछाप छोडिरहेको छ, आफैं हत्यारा करार बनिसकेको छ ।

तानाशाह शक्तिशाली बन्न जनताले मत दिइरहनु आवश्यक हुँदैन किनकि उसले वंशाणुगत वैधानिकता लिएर आएको हुन्छ । त्यसैको आडमा शासन गर्ने र आफ्नो प्रभुत्व जमाइराख्ने क्रम चलिरहन्छ । अहिले प्रधानमन्त्री ओलीमा त्यही तानाशाहको भूत सवार भएको छ । जनताले आफ्नो व्यवस्था जोगाइराख्न कसैलाई चौकीदार खटाएको हुन्छ तर जो चौकिदार उही चोर बनेपछि स्थिति बिग्रनु त स्वाभाविकै हो । देश र जनता बचाउने हो भने प्रधानमन्त्रीले यो निकृष्टता देखाइरहनु निकै दुर्भाग्यपूर्ण विषय हो । जनताले दिएको बहुमतले बलशाली बनेको प्रधानमन्त्रीले जनताकै व्यवस्थामाथि कुठाराघात गर्नु भनेको अति नै संसयपूर्ण र दु:खद छ । विधि र प्रक्रिया नमान्ने हठी केपी ओलीलाई रथयात्रा गराएर मजाक गर्ने भारदारहरू प्रतिगमनका सारथी हुन् । लोकतन्त्रको घाँटी निमोठ्ने बलिया हातहरू बुढेशकालमा कुजो हुनेछन् । पापले केही समय फलिफाप भए पनि अन्त्य निकै दर्दनाक हुनेछ ।

राजनीतिमा राजनेता जन्मिने एउटा चरण हुन्छ, समय हुन्छ । देशलाई भयावह दुर्घटनाबाट जोगाउन सक्ने र दूरदृष्टि राख्ने राजनीतिज्ञलाई राजनेता भन्ने हो । आफ्नै पार्टीको अनुशासन नमान्ने, आफै सर्वेसर्वा ठान्ने, पार्टीभित्रको आन्तरिक झगडाका कारण देशलाई अनिश्चयको बन्दी बनाउने, सरकारलाई गुटको रूपमा विकास गर्दै लैजाने, राष्ट्रिय एकतालाई बेवास्ता गरेर सानो-सानो झुण्डमा रमाउने, कथाले नमागेका कुराहरू जबर्जस्त लादेर विषयान्तर गराउने, परिस्थितिअनुसार निर्णय लिन नजान्ने/नमान्ने, म भइन भने देशै चल्दैन भनेजस्तो गर्ने, जनतालाई मर्कामा पारेर जग हसाउनेलाई राजनेता मानिदिनुपर्ने ? अलिकति पनि लाज मान्नुपर्ने होइन र ? पात्र मात्र भएर हुन्नं पात्रता पनि आवश्यक पर्छ ।

असल राजनेताले एक युगसम्म हलचल गर्न नसक्ने लोकतान्त्रिक मूल्यमान्यताका नजीरहरू बसालेको हुन्छ । पटकपटक सत्तामा पुगेर पनि झिनामसिना कुराहरूमा टोलाएर बस्ने ‘लालबुझक्कड’हरूलाई व्यावसायिक नेता भन्ने बाहेक अर्को नाम छैन । त्यसैले कस्तोलाई राजनेता मान्ने हो कस्तोलाई लालगद्दार भन्ने कुरामा विवेक प्रयोग गर्न जरुरी छ ।

प्रधानमन्त्री ओलीलाई राजनेताको ताज पहिर्‍याइहँदा संविधानले आँखा रसिलो बनाउँछ । पार्टीभित्रका विधानहरू हल्ला गर्दै विरोध जनाउँछन् । बहुमत दिने औंठाछापहरू चित्कार गर्दछन् । जनताले दुत्कार्नेछन् । अदालतका भित्ताहरू हल्लिन्छन् । यसरी ओलीगमन चुचुरोमा पुग्दैगर्दा राजनेताको प्रमाणपत्र भिराइरहँदा त्यो ओली आफैंलाई भारी हुन्छ । किनभने उनले राजनेताको उपमा प्राप्त गर्ने कुनै बलियो आधार छैन ।

जेलनेल खाएकै कारण कसैलाई राजनेता मान्नैपर्ने बाध्यकारी नियम त पक्कै छैन । त्यसो हुनाले जतिसुकै जटिल परिस्थितिलाई पनि लगाम लगाउने र अन्तिममा त्याग गर्ने हिम्मत कसैको हुन्छ भने त्यही हो राजनेता । साँच्चै भन्नुपर्दा राजनेताले कहिले पनि शक्तिको तुजुक देखाउँदैन । एक युगान्तकारी निर्णय गरेकै कारण पनि जुगौंजुग राजनेताको द्योतकको रूपमा पुजिन्छ । केपी ओली जस्तो देश र जनतालाई बोके जस्तो गरेर भिरभिरै कुद्नेका पछिपछि किन दकुर्ने ? त्यस्तालाई संविधानको बन्द कालकोठरीमा थुनेर किन नभकुर्ने ? अब त सायद ढिला भैसक्यो किनभने असत्यले डाडा नाँघ्न थाल्छ तब सत्यको क्षितिजमा आशाको किरण विलुप्त हुन्छ र फेरि उदय हुन समय लाग्छ । समय हाम्रा लागि अत्यन्तै मूल्यवान् छ । जब समय घर्किएपछि परिस्थिति झन् चर्किंदै जान्छ । परिस्थिति असामान्यतर्फ मोडिन्छ ।

यौटा कटुसत्य यो पनि हो कि पार्टी चलाउन नजान्नेले देश चलाउँछु भन्नु कतिसम्मको ठट्टा हो भन्ने कुरा त छर्लङ्ग छ । देश हामीले बचायौं भनेर कोहीले घमण्ड नगर्दा हुन्छ । देश प्रणालीले बचाएको हो । त्यही प्रणाली जनताले स्थापित गरेको हो । अहिलेको राजनीतिक झगडा जस लिने र ब्याज खानेमै केन्द्रित छ । यदि व्यक्तिगत स्वार्थ र रिसराग छैन भने दलहरू अझै मिल्ने ठाउँ छ, नयाँ राष्ट्रिय सहमति बनाएर समस्या सुल्झाउने उपाय जीवितै छ । तर मिलेर जाने बाटो उनीहरू आफैले भत्काइसके । न मिलेर जान सक्ने न एकले अर्कोलाई निलेर जाँदा परिस्थिति वशमा आउँछ । योभन्दा विकराल र भयानक दुर्घटना राजनीतिमा विरलै आउँछ । यस्तो बेलामा जनता निर्णायक शक्तीको रूपमा अग्रपङ्क्तिमा आउनुपर्ने हो तर जनता रैतिजस्ता निरीह बन्दा झन्झन् पीडा थोपरिएको छ ।

प्रधानमन्त्री ओलीले ढिला नगरीकन जनता र राष्ट्रका नाममा सम्बोधन गर्नुपर्छ । राजनीतिले गलत बाटो लियो, बाह्य चलखेल नाङ्गो रूपमा बढ्यो, देश गृहयुद्धको सन्निकट पुगिसक्यो, यो जटिलतासम्म आइपुग्दा हामी सबै दोषी छौं, जनताले सारै कष्ट भोगे, हामी फेरि एकचोटि अन्तिमपटक मिलौं र संविधानलाई जोगाएर समृद्धिको यात्रा सँगैसँगै गरौं भनेर दृढसंकल्प नगर्ने हो भने न देश रहन्छ, न जनता न त व्यवस्था, सबैको अस्तित्व धरापमा पर्नेछ । देशै नरहे हामी रहन्नौं, जनता नभए त्यो देशै हुन्न र व्यवस्था नै नभए अव्यवस्थित जीवन कसरी जिउने ? एक जनालाई हैन यहाँ साराकासारालाई नोक्सानी पुग्नेवाला छ । अहंकार र दम्भले नभई विवेकले निर्णय लिएर यो संक्रमणकालको निराकरण गर्नु निक्कै असल हुनेछ अन्यथा एकले अर्कोको टाउको फुटाउने र मारकाट गर्नुको अर्को विकल्प रहँदैन ।

अन्त्यमा सरकारले, विपक्षी दलहरूले र जनताले पनि देशमा शान्ति र सु-व्यवस्था चाहेका हुन् भने समय यही हो समस्या पनि यही हो र भोलिको दिन पनि योभन्दा फरक नहोला । आजै अहिल्यै तत्कालै तुरून्त आफ्नो लागि सोचौं, देशका लागि सोचौं । आपसमा मिले सबैको भलो नमिले रगतको खोलो हुनेछ । आज के भैराखेको छ भन्नेभन्दा पनि भोलि के हुँदैछ भन्ने कुरा गम्भीर हो । घटना नकारात्मक हुँदा पनि सकारात्मक नतिजा निकाल्न सकिन्छ भन्ने चिन्तनलाई मनन गरौं । जे आउँछ-जान्छ, जे पर्छ-टर्छ भन्ने मुर्खता कसैले नगरौं । वर्तमान त साक्षी मात्र हो, वर्तमान विगतको भुक्तभोगी हो त्यस्तै भविष्य पनि वर्तमानको भुक्तभोगी ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay