scheduleसोमवारफाल्गुन २४ गते, २०७७

उइगुरमा चीन जे गर्दैछ, के त्यो साँस्कृतिक नरसंहार हैन ?

सीअन आर रोबर्टस

जनवरी १९, कार्यकाल अन्त्य हुने एक दिनअघि अमेरिकी विदेशमन्त्री माइक पम्पिओले घोषणा गरे, ‘उइगुरका अल्पसंख्यक समूहमाथि चीनका कारबाहीहरू नरसंहार र मानवता विरुद्धका अपराध हुन् ।’ पम्पिओका उत्तराधिकार एन्टोनी ब्लिङ्केन सबै कुरा सुनिसकेपछि पम्पिओको निष्कर्षसँग सहमत भए ।

एक्काइशौं शताब्दिमा नरसंहारको कुरा आफैंमा विचित्रको हो, त्यो पनि त्यस्तो देशमा जसले अमेरिकी घरेलु उपभोगका अधिकांश सामानहरू उत्पादन गर्दछ । यसको शब्दार्थ जेसुकै होस्, चीनले उइगुरमा अपनाएका क्रुरताका प्रमाणहरूले यसलाई अस्वीकार गर्न नसकिने बनाउँछ ।

पश्चिम चीनको सिनजियाङ प्रान्तमा १० लाख बढी उइगुरी र अन्य मुस्लिम समुदायका मानिसलाई अहिले नजरबन्द शिविर, कैद र यातनाकेन्द्रहरूमा राखिएको छ । त्यहाँ उनीहरूलाई मनोवैज्ञानिक दवाब र यातना दिइन्छ । त्यसका अतिरिक्त त्यस्ता संस्था र प्रविधिमार्फत् चिनियाँ सरकारले त्यहाँका आदिवासीहरूलाई कडा निगरानी गर्दछ ।

महिलाहरूलाई अनिच्छित बन्ध्याकरण गरिन्छ । बच्चाहरूलाई परिवारबाट छुट्ट्याएर आवासीय स्कुलहरूमा हुर्काइन्छ । हज्जारौं मानिसलाई आवासीय श्रम योजनाअन्तर्गत् चीनभरिका विभिन्न कारखानाहरूमा पठाइन्छ । मस्जिद र तीर्थस्थलहरू ध्वंश गरिदैछन् । परम्परागत गाउँबस्तीहरूमा बुल्डोजर लगाइँदैछ । उइगुरी भाषालाई दमन गरिँदैछ । यी सबै कुराको उद्देश्य उइगुरी संस्कृतिलाई मेटाउने चिनियाँ राज्यको चाहना हो ।

उइगुर सिनझियान प्रान्तका मुख्य रैथाने समुदाय हुन् । तीमध्ये धेरै मुस्लिम धर्म मान्दछन् । आफ्नै तुर्की भाषा बोल्द्छन । चिनको बहुसंख्यक हान जातिको भन्दा भिन्नै प्रकारको संस्कृति मान्दछन् । चिनियाँ सरकारको तथ्यांकअनुसार सिनझियानमा करिब १ करोड २० लाख उइगुरीहरू छन् । यो संख्या चीनको १ अर्ब ४० करोड जनसंख्यामा बाल्टीमा एक थोपा पानी जस्तो मात्र हो । यति सानो समुदायले अहिले चिनियाँ सुरक्षा संयन्त्रको सम्पूर्ण ध्यान खिचेको छ, जसलाई राजकीय सुरक्षा योजनाभित्र बाँच्न बाध्य पारिएको छ ।

सिनझियानमा चिनियाँ शासनको बर्बर व्यवहार चीनमा राष्ट्रपति सि जिन पिङ र चिनियाँ कम्युनिष्ट पार्टीको बढ्दो अधिनायकवादी शासनको प्रतिबिम्ब मात्र हैन । बरु यो बेइजिङ र उसले अधिनस्थ गरेका भौगोलिक क्षेत्रहरूबीच उपनिवेशिक शासनको निरन्तरता पनि हो । लामो समय अघि यी क्षेत्रहरू अधिनस्थ गरिएका थिए तर न त यिनीहरूलाई आधुनिक चीनसँग सम्मानजनक सहकार्यको अवसर दिइयो न त स्वायत्तता नै ।

सन् १९८० को दशकमा त्यो सम्भावना देखिन्थ्यो कि चीन त्यहाँ कुनै सहनशील अस्थायी सम्झौतामा पुग्ने छ । तर त्यसपछि चीनले अर्कै बाटो रोज्यो । सिनझियान र उइगुर संस्कृतिलाई मेटाउन खोज्यो । बाह्य विश्वले अहिले चीनलाई उइगुर मामिलामा आफ्ना नीतिहरू बदल्न भनिरहेको छ । तर यो त्यस्तो आग्रह हो जो चीनको एक भिन्नै प्रकारको राष्ट्र–राज्यको अवधारणाभन्दा विपरित छ ।

विगत ४ वर्ष यता चीनले उइगुरी जनतासँग गरिरहेको व्यवहार यसअघिका उपनिवेशिक शक्तिको युगमा भएका सांस्कृतिक नरसंहारको पुनरावृत्ति जस्तो लाग्दछ । अमेरिका र अष्ट्रेलियाका आदिवासीहरूले जस्तै उइगुरहरूले सामुहिक कारागार, नजरबन्दी, सांस्कृतिक स्थल, प्रतिक र धरोहरहरूको विनाश, विस्थापन, पारिवारिक विछोट र जबरजस्तीको सामना गर्नु परेको छ । बेइजिङका हालसालैका नीतिहरू उइगुर मातृभूमिका लागि लामो तथा क्रमिक उपनिवेशिकताको परिणति र पराकाष्ठा हो ।

सिनझियान जसलाई उइगुरीहरू आफ्नो मातृभूमि ठान्दछन्, त्यो चीनका लागि नयाँ युद्धमोर्चा थियो । चीनले अठारौं शताब्दिको मध्यतिर छिन वंशको समयमा त्यहाँ विजय हासिल गरेको थियो । उन्नाइसौं शताब्दिको अन्त्यतिर मात्र यसलाई विशाल चीन साम्राज्यको एक प्रान्त स्वीकार गरिएको थियो ।

सन् १९११ मा छिन वंशको पतन भयो । यसले अधिनस्थ गरेको भूभागहरू स्वतः चिनियाँ हान नेताहरूको शासन अन्तर्गत आए । हान नेताहरूले चिनियाँ साम्राज्यको केन्द्रिकृत राज्य शक्तिको मान्यतालाई कायमै राखे । सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता हत्यायो । उसले अधिनस्थ भूभागमाथि नियन्त्रणलाई अझ विस्तार गर्‍यो । सोभियत शासन प्रणालीको सिको गर्दै बेइजिङले त्यसलाई नृजातीय संघीयतामा आधारित सिनझियान उइगुर स्वायत्त प्रदेशको नाम दियो ।

सोभियत कम्युनिष्ट पार्टीको शासनकालमा त्यहाँ जारकालीन उपनिवेशहरूलाई सोभियत गणराज्यको अधिनस्थ स्वायत्त शासनको अधिकार दिइएको थियो । त्यस्ता भूभागले नाम मात्रको भए पनि आत्मनिर्णयको अधिकार पाएका थिए । तर चीनले आफ्ना अधिनस्थ भूभाग भित्री मंगोलिया, सिनझियान र तिब्बतमा त्यति अधिकार पनि दिएन । सोभियत संघका प्रदेशहरूसंग तुलना गर्ने हो भने चीनका स्वायत्त प्रदेशहरूमा विरलै स्वायत्तता हुन्छ । यिनीहरूसँग त्यही नाम मात्रको आत्मनिर्णयको अधिकार पनि हुँदैन । यस्ता समुदायका मान्छेले सरकार र पार्टीमा थोरै ठूला पद र स्थानहरू पाउँछन् ।

सन् १९५९ पछि चिनियाँ कम्युनिष्ट पार्टीले सिनझियानलाई ऐतिहासिकरुपले अभिन्न अंग भन्न थाल्यो । यो नीतिमा चीन अहिले पनि कायम छ । सन् १९६० मा उइगुर स्वायत्त प्रदेशको सरकारलाई असाध्यै थोरै अधिकार मात्र दिइयो । सन् १९५० को अन्त्यतिरै चीनले प्रादेशिक सरकार र पार्टीका ठूला पदहरूबाट उइगुरी रैथानेहरूलाई हटाइसकेको थियो । प्रदेशमा हान जातिको आप्रवासनलाई बेइजिङले प्रोत्साहित गर्‍यो । सन् १९५३ मा सिनझियानमा ६ प्रतिशत मात्र हानहरू थिए, सन् १९८२ मा ३८ प्रतिशत पुगे ।

जनसांख्यिक बदलावको बाबजुद सिनझियानी चिनियाँ शासनबाट किनारामै रहे । अधिकांश बसाइँ आएका हान जातिकाहरू उत्तरी क्षेत्रमा बसोबास गर्दथे । उनीहरू उइगुरी जनसंख्याको केन्द्र दक्षिणका काशगार र खोतानबाट टाढा थिए । माओको सामाजिक–संयन्त्रिकरण अभियानको व्यापकताको बाबजुद सन् १९८० सम्म उइगुरी संस्कृतिको खासै विनाश भएको थिएन । उइगुरीहरूको रुपान्तरणमा माओका प्रयासहरूको प्रभाव सीमित थियो । सिनझियानको फरक सांस्कृतिक, भाषिक र भौतिक पहिचान बाँकी चीनबाट प्रष्टै भिन्न देखिन्थ्यो । विशेषतः दक्षिण क्षेत्रहरू जहाँ रैथाने उइगुरीहरू बाक्लो गरी बस्दथे ।

माओको मृत्युपछि देङ सिआयो पिङ सुधार अवधिमा उइगुरीहरूलाई राम्रा वचन र आश्वासनहरू दिइएका थिए । बेइजिङले आंशिक विउपविनेशीकरण रणनीति अख्तियार गरेको थियो । देङका विश्वासपात्र पार्टी महासचिव हु बाओवाङले सन् १९८२ देखि १९८७ सम्म चीनभरि जस्तै यहाँ पनि उदारीकरणसहितको सुधारलाई फैलाएका थिए । उनले सिनझियान आएका हानहरूलाई आआफ्नो गृहनगर फर्किन र साँस्कृतिक, धार्मिक, राजनीतिक तथा आर्थिक सुधारमा योगदान गर्न आव्हान गरेका थिए ।

सरकारले पुराना बन्द गरिएका मस्जिदहरू खोलिदिएको थियो । केही नयाँ मस्जिदहरू बनाइएका थिए । उइगुरी भाषाको प्रकाशन तथा कलात्मक अभिव्यक्ति बिष्फोट बनेको थियो । हुले चिनियाँ शासन प्रणाली अन्तर्गत प्रदेशको स्वायत्त शासनलाई बढाउन खोजेका थिए । प्रादेशिक सरकार र पार्टीमा स्थानीय समुदायका नेताहरूलाई आउन दिइएको थियो । स्थानीय संघसंस्थाहरूमा उनीहरूको भाषा र संस्कृतिलाई प्रचलनमा आउन दिइएको थियो । हुको लोकतान्त्रिकरण तथा उदारीकरण नीतिभित्र जातीय अल्पसंख्यक समुदायको बृहत् समावेशिता अपेक्षा गरिएको थियो ।

सीअन आर रोबर्टस

हु अझ बढी लोकतान्त्रिक चीन र अझ बढी स्वायत्त उइगुर प्रदेशको पक्षमा थिए । तर, पार्टीभित्रको रुढीवादीहरूले सन् १९८७ मा उनी विरुद्ध विद्रोह गरे । उनीमाथि उदार नीतिलाई बढावा दिएको र देशभरि विद्यार्थी आन्दोलन र प्रदर्शनहरू भड्काउने वातावरण बनाएको आरोप लाग्यो । सन् १९८९ को तेनमियान विद्रोहलाई हुका नीतिहरूको परिणति ठानियो ।

यो घटना उइगुरका लागि दुर्भाग्य सावित भयो । सन् १९९१ मा सोभियत संघको पतनपछि चिनियाँ कम्युनिष्ट पार्टीले जातीय आत्मनिर्णयको अधिकारको नीतिलाई पुनरावलोकन गर्‍यो । उनीहरू सोभियत संघको विघठनको कारण आत्मनिर्णयको अधिकारलाई माने । चीनमा त्यस्तो हुन नदिने दृढसंकल्प गरे । सन् १९९० पछि चिनियाँ कम्युनिष्ट पार्टीले असंख्य तथाकथित पृथकतावाद विरोधी अभियानहरू शुरुवात गर्‍यो, जसले जनअसन्तुष्टि र विद्रोहको सम्भावनालाई सुँघ्दै हिड्ने र दमन गर्ने गर्दथे ।

चीन राज्यले मुस्लिम धार्मिक निष्ठालाई आत्मनिर्णयको अधिकारको सम्भावनाको रुपमा देख्यो । धार्मिक व्यक्तिहरू निशानाको केन्द्र बन्न थाले । यसक्रममा कयौं धर्मनिरपेक्षतावादी लेखक तथा कलाकारहरू समातिए । यो आक्रमक अभियान राज्य–हिंसातिर उदत्त हुँदै गयो । सामुहिक गिरफ्तारी, यातना र दण्डहरू आम बन्न थाले । यदाकदा उइगुरीहरू विरुद्ध हिंसात्मक प्रतिरोध समेत हुन थाल्यो । यति ठूलो रक्तपातपूर्ण दमनका बाबजुद उइगुरमा कुनै पृथकतावादी आन्दोलनको संकेतसम्म थिएन नत उइगुरीहरूको कुनै हिंसात्मक आन्दोलन नै थियो । उइगुरमा पृथकताको कुनै सम्भावना थिएन । सिनझियानलाई अविश्वास गर्नुपर्ने र त्यति धेरे हातहतियार र ठूलो योजनासहित नियन्त्रण गर्नुपर्ने जरुरी नै थिएन ।

अमेरिकी सेप्टेम्बर ११ को आक्रमण र वासिङ्टनको आतंकवाद विरोधी विश्वव्यापी घोषणाले उइगुर विरुद्धको दमनचक्रलाई नयाँ ढंगले आकारित गर्ने अवसर दियो । चीनले त्यहाँका आफ्ना कारबाहीहरूलाई आतंकवादको चिहान खन्नका लागि हो भन्न पायो । विश्वस्तरमा त्यसको विरोध भयो भने उइगुरी मिलिसियाहरूको अल काइदासँग सम्बन्ध छ भन्न पनि भ्यायो ।

सन् २००२ को गृष्ममा वासिङ्टनले अफगानी उइगुरहरूको एउटा सानो समूह इष्ट तुर्किस्तान इस्लामिक आन्दोलनलाई अल काइदासँग गठबन्धनमा रहेको दाबी गर्‍यो । उइगुरीहरू आतंकवादी संगठन सञ्जालमा रहेको चिनियाँ दाबीलाई अमेरिका मान्यता दिएजस्तो भयो । सन् २०२० को नोभेम्बरमामा मात्र अमेरिकी सरकारले त्यो समूहलाई आतंकवादी संगठनको सूचीबाट हटायो । तर त्यतिन्जेलसम्म सिनझियानमा निक्कै ठूलो तबाही भइसकेको थियो ।

आतंकवादी विरोधी अभियानका क्रममा चीनले असन्तुष्ट धार्मिक अल्पसंख्यक र उइगुरीहरूमाथि ठूलो दमनचक्र चलाइसकेको थियो । यसक्रममा उइगुरमा अर्बौ लगानी गरी नयाँ पूर्वाधार र आवास भवनहरू बनाइए, संगसंगै हान जातिको आप्रवासनलाई तीव्र बनाइयो । राष्ट्रपति सीको महत्वाकांक्षी विआरआई योजनापछि सिनझियानमा एक ठूलो बन्दरगाह बनाउने कुरा छ । सिनझियानमा कलकारखानाहरू थपिएका छन् । नयाँ पूर्वाधार विकासको काम तीव्र छ । तर, उइगुरीहरू माथिको दमन र हानहरू आप्रवान झनै तीव्र छ । प्रतिआतंकवादको तारो अहिले पनि उइगुरी मुस्लिमहरू नै छन् र उनीहरू अस्तित्व संकटको अवस्थामा पुगेका छन् ।

गत ४ वर्षमा चिनियाँ अधिकारीहरूको आमनजरबन्दको प्रभाव कम्तीमा रैथानेहरूको एक दशांश जनसंख्यासम्म पुगेको छ । उनीहरू हरदम राज्यको निगरानीमा हुन्छन् । उनीहरूलाई विभिन्न प्रयास र दवाबमार्फत् हानकरण गर्न खोजिंदैछ । श्रम शिविर, अनिवार्य चिनियाँ भाषा, अनिच्छित बन्ध्याकरण, साँस्कृतिक धरोहरहरूको ध्वंश, प्रोपागण्डा आदि अहिले चिनियाँ कम्युनिष्ट पार्टीका सिनझियान रणनीति बनेका छन् । यो रणनीतिको सार– उनीहरूको ‘सम्बन्धलाई फोड, जरा तोड, मौलिकतालाई उखेल’ भन्ने नै हो ।

यो रणनीतिको सार प्रतिआतंकवाद हुँदै हैन, बरु सांस्कृतिक नरसंहार हो । यसले उइगुरी जनताको मौलिक चरित्र र एकतालाई समाप्त पार्नेछ । सिनझियानलाई चिनियाँ व्यापारी साम्राज्यको केन्द्र बनाउँनेछ । चीन चाहन्छ कि सिनझियान छिट्टै अर्को हान जातीय बहुमत भएको प्रान्त बनोस् । यस लक्ष्यका लागि उइगुरी पहिचान र संस्कृतिलाई सबैभन्दा ठूलो जटिलता र अवरोधका रुपमा हेरिने र त्यसलाई मेटाउने प्रयास हुने नै छ ।

चीनले आफ्नो यो बाटो सजिलै बदल्ने छैन । बाइडेन प्रशासनले सम्भवत य अघिको जस्तै मौखिक विरोध गरिरहने छ । अमेरिकी कांग्रेसले सिनझियानमा बाध्यात्मक श्रम निषेध ऐन पारित गरिसकेको छ । यस प्रान्तका उत्पादनको आयात प्रतिबन्ध गर्ने कानुन बन्ने सम्भावना छ । यी प्रावधानहरू मानवीय सकंटको मापनका लागि सामान्य आश्वासन अवश्य हुन तर यसले मात्र बेइजिङलाई रणनीति पुनर्विचार गर्न बाध्य गर्न सक्ने छैन ।

उइगुरमाथि चिनियाँ नीतिहरूलाई परिवर्तन गराउन निक्कै ठूलो अन्तर्राष्ट्रिय समर्थन र आर्थिक दवाब चाहिन्छ । सिनझियान समस्याबारे चीनले सन् २०२० मा नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा एक पत्र लेखेको छ । परिषदका अधिकांश सदस्य राष्ट्रहरू चीनकै पक्षमा मनसाय व्यक्त गरिरहेका छन् । अझ महत्वपूर्ण कुरा परिवर्तन त्यतिखेर मात्र सम्भव हुनेछ जब स्वयं चिनियाँ कम्युनिष्ट पार्टीभित्र परिवर्तन आउँनेछ । अन्तर्राष्ट्रिय दवाबकर्ताहरूले चिनियाँ नेतृत्वलाई त्यस्ता नीतिगत परिवर्तनले सकारात्मक परिणाम ल्याउन आश्वस्त पार्न सक्नुपर्ने छ ।

फोरेन अफेयर्सबाट संक्षेपीकरणसहितको भावानुवाद ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay