scheduleसोमवारफाल्गुन २४ गते, २०७७

‘कोग्ले’ का आँसु, संघर्ष र सपनाहरू

डम्बर खतिवडा

करिब ४ वर्षदेखि प्रशान्त सिंहजीसँग बारम्बार सँगसँगै देख्दा, भेट्दा ‘प्रेम’ मलाई कर्णालीजस्तै लाग्थे । प्रेम अर्थात् ‘कोग्ले’ का लेखक प्रेमबहादुर बोहरा । उनी कोग्लेका लेखक मात्र हैनन्, यथार्थमा आफैं कोग्ले हुन् । कोग्ले किताब मात्र हैन, जीवन र भोगाई हो– करिब ३ हजार जनसंख्या भएको माझफाल गाउँको ।

कर्णाली– बारम्बार सुनिने नाम हो । सुनिने तर बिरलै पुगिने । पढिने तर सायदै बुझिने । कथा बुनिने तर व्यथा अक्सर आत्मसात नहुने । सर्वथा ‘चर्चा’ हुने तर औसत ‘चर्चित’ नहुने । काम गर्नु छ भनेर नाम लिइने तर काम कमै हुने, नाम धेर जपिने ।

कर्णालीलाई यसरी बुझेका छौं हामीले, कर्णालीभन्दा बाहिरका हामी धेरैले– देशको त्यो ठूलो, दुर्गम र विकट भूभाग, जहाँ सबैभन्दा थोरै जनसंख्या बस्छ, ती थोरै पनि सबैभन्दा कमजोर, विपन्न र सुविधाहीन छन् । काठमाण्डौं कमै आउँछन्, कर्णालीबासी । नेपालगञ्ज हुँदै भारतका विभिन्न शहरमा पुग्छन्, रोजगारी खोज्न । देशले आफ्नो हो भनेर दाबी गरेको तर, पर्याप्त प्रेम नदिएको, यथोचित हेरचाह र लगानी नगरेको, शासकीय प्राथमिकताको सूचीमा सबैभन्दा तल भएको क्षेत्र हो कर्णाली ।

एक त विना काम देशदर्शन गर्न सक्ने आर्थिक क्षमता कमै नेपालीको छ । त्यसमध्ये पनि कर्णाली कमैको रोजाइ बन्ला । कमैको गन्तव्य बन्ला । म पनि पुगेको छु कर्णाली– तर साँचो कर्णाली हैन, डुप्लीकेट कर्णाली ।

अहिलेको कर्णाली प्रदेशका पश्चिम रुकुम, जाजरकोट, सल्यान, दैलेख र सुर्खेत पुगेको छु । यी ठाउँ पुग्दा कर्णालीको केही छनक, केही भनक नआउने हैन । अनुमान गर्ने आधार हुन्छ– कर्णाली यस्तो होला, कर्णाली उस्तो होला । तर साँचो कर्णाली त हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पा हुन् । यी कुनै पनि जिल्लामा म अहिलेसम्म पुगेको छैन ।

छिन्चु–जाजरकोट सडकमा गुड्दै गर्दा डोल्पा जाने बाटो लेखिएको एउटा मोड देखिएको थियो । राकम कर्णालीको किनारमा उभिएर कर्णालीको शीरतिर हेरेको थिए, जो हुम्लातिरबाट बग्दै आउँछ । दैलेख दुल्लु संग्राहलयको आँगनबाट परपर क्षितिजमा देखिएका अग्ला पहाडहरूलाई देखाउँदै साथीहरूले भनेका थिए– ऊ त्यो पहाडको अर्कोतिर छ कालीकोट ।

यतिका वर्ष उमेरमा, यतिका देशदेशावरपछि कर्णाली अझै अपरिचित छ मेरा लागि । नाम कन्ठस्थ छ, अन्तर्यको अनुभूति छैन । तर प्रेम विश्वमा नेपाल, नेपालमा कर्णाली, कर्णालीमा डोल्पा र डोल्पामा माझफालको कुरा गर्दछन् । उनी कोग्लेमा माझफालको मात्र हैन, दुनै, जुफाल र लिकुको पनि उत्तिकै कुरा गर्छन् ।

प्रेमलाई एकाध भेटमा बुझ्न सकिँदैन कर्णालीलाई जस्तै । उनको मुखाकृति सधैं शालीन, गम्भीर र अन्तर्मग्न हुन्छ । कम बोल्छन् उनी । हामीसँग बोल्दा डोल्पाली टोन कमै आउँछ । आआफू बोल्दा कसरी बोल्छन्, सुन्न पाएको छैन । प्रशान्तजीसँगै लालामो यात्रामा हिडेका छन् प्रेम यो बीचमा हामीसँगै । लालामो यात्रामा पनि उनी कमै बोल्छन् । नवकिशोर बयमा म ठीक प्रेम जस्तै थिए– ठूला वा जेठा मान्छेहरूसँग कमै बोल्थे ।

प्रेम डोल्पाली ठिटो हो भन्ने भान उनले नभनुन्जेल मैले पाइन । लाग्थ्यो– उनी काठमाण्डौं कै हुन् । जुन दिनदेखि थाहा भयो कि उनी डोल्पाली हुन्– त्यसपछिका भेटमा डोल्पा जानुपर्छ भन्ने गफ गर्न कहिल्यै छुटाएका छैनौं । तर, अहिलेसम्म त्यो दिन आएको छैन ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

प्रेम बारम्बार भन्छन् अचेल– तपाईहरू जतिको मान्छे त कर्णाली, डोल्पा, माझफाल पुग्नु भएको छैन, कसले बुझ्न हाम्रो दुख्ख ? कसले लेख्छ हाम्रो कथा ? कसले देख्छ हाम्रो संघर्ष ? कसले पुस्छ हाम्रो आँसु ?

प्रेमका यस्ता प्रश्नहरूले म कायल हुन्छु । भावुकता बढ्छ मनमा । कहिलेकाहिँ भन्थेँ– जाउँ न त जाउँ ? ल जाउँ ! गर्न त के सकिएला र ? कम्तीमा पुगेर, हेरेर त आउँ !

तर उनी आफैं तुरुन्तै भन्थे– अहिले त हुन्न, उपयुक्त बेला हैन ।

किन ? कर्णाली वा डोल्पा जान कुनै साइत हेर्न पर्छ ?

फेरि प्रेम भन्थे– बाहिरियाहरूलाई डोल्पा लान सोच्नै पर्छ । हिउँदमा औधि जाडो हुन्छ । बर्षामा सिमसिमे पानी, झरी, जुका र चिप्लो बाटोको डर हुन्छ । कि त असोज कार्तिक जाडो बढ्नु अघि कि त चैत्र, वैशाख, जेठ, बर्षात् शुरु हुनु अघि जानु पर्छ ।

मनले भन्थ्यो प्रेमलाई भन्दिउँ– कर्णालीलाई हामी के बुझौंला ? कति भोगौंला ? के कति लेखौंला ? तपाईहरूले भोग्नु भो, तपाईहरू नै लेख्नुस् । तपाईहरू नै हो त्यहाँको नेपाल, कर्णालीलाई साँचो अर्थमा नेपाल तपाईहरूले नै बनाउनु पर्छ ।

नभन्दै प्रेमले कोग्ले लेखे । म्यासेन्जरमा लोकार्पण कार्यक्रममा आइदिन निम्ता गरे । वक्ताको सूचीमा प्रशान्तजीलाई पनि देखेँ । मन थाम्न सकिनँ । भृकुटी मण्डपको किताब मेलाबीच कोग्लेको लोकार्पण कार्यक्रम । कार्यक्रममा टिप्पणीहरू सुनेँ, झनै भावुक भए । छुट दामको किताब किनेर आएँ । पढेँ र झनझनै भावुक भएँ ।

नेपालभित्रको कर्णाली नबुझेजस्तै करिब ४ वर्ष यता देखेको भेटेको डोल्पाली ठिटो प्रेमबहादुर बोहरालाई बुझ्न त के, त्यसको छेउछाउ पनि म पुगेको रहेनछु । यति कलिलो उमेरमै यी ठिटाले कति धेरै जिग्दगी भोगिसेकेका रहेछन् । कति धेरै अनुभव हासिल गरिसकेका रहेछन् । मैले देखेको प्रेम त समुन्द्रमा उठेको लहर जस्तो मात्र रहेछ । आकाशतिर उठेको पानीको लहर हेरेर समुन्द्रको गहिराई, अथाह अन्तर्य र त्यसभित्रका खजानाबारे के नै थाहा हुन सक्दछ ? कति नै पो अनुमान गर्न सकिन्छ ?

पढ्दा पहिलो जिज्ञासा त मलाई यही थियो– कोग्ले शब्दको अर्थ के होला ? मकैको च्याख्लाबाट बनाइने खानाको एक परिकार रहेछ– कोग्लो । जसरी भात खानेलाई भाते, ढिँडो खानेलाई ढिँडे भनिन्छ, त्यस्तै गरी कोग्लो खानेलाई कोग्ले भनिँदोरहेछ । माझफालीहरूलाई दुनै, जुफाल, लिकुआदि डोल्पाका अलिक सम्पन्न गाउँका मान्छेले हेपेर कोग्ले भन्ने रहेछन् । अर्थात् कोग्लो मात्र खान पाउँने गाउँका मान्छे ।

कोग्लो खानु विपन्नताको प्रतीक थियो त्यहाँ । धानको भात खानु सम्पन्नताको । यस्तो प्रचलन पूर्वी पहाडमा थियो मकैको भातलाई कोग्लो भनेको थाहा छैन । तर मकै र कोदो खानु धानभन्दा कम इज्जतको अन्न खाएको मानिन्थ्यो । अझ गहत मात्र खानेहरूलाई ‘गहते’ भनेर हेपेको सुनिन्थ्यो । भोजपुरको दक्षिणी क्षेत्रका सुख्खाग्रस्त गाउँहरूलाई अन्यत्रकाले ‘गहते गाउँ’ भनेर हेपेको बाल्यकालमै सुनेको थिएँ मैले ।

आज शहरमा धान वा चामलको कुनै भिन्न इज्जत छैन । भात खानु इज्जतको कुरा नभएर आम बिषय भइसक्यो । बरु मकै, कोदो र फापरका परिकारहरू महानगरमा अर्गानिक र सम्भ्रान्त खानाका परिकार बनिसके । प्रेमको किताब पढ्दा थाहा हुन्छ कि अझै पनि कर्णालीमा यस्ता अन्न खानुलाई बेइज्जत र लाजको बिषय मानिन्छ । यस्ता अन्नहरू गाउँमा कुहेर जान्छन तर कर्णालीबासीहरू खद्य संस्थानका बिक्री डिपोमा अनुदानको चामल किन्न लाइन लाग्दछन् ।

अझ रमाइलो कुरा त– अझै पनि कर्णालीमा अनुदानको चामलमा ठूलो राजनीति हुन्छ । कस्ले अनुदानको कोटा बढाउने, कसले सोर्सफोर्समा लाइन नै नबसी चमाल दिलाउन सक्ने, कसले दशैतिहारमा चामलको कुपन सहज वितरण गर्ने, भनेर केन्द्रदेखि स्थानीय तहका नेताहरूले ‘पावर’ देखाउँछन् । कर्णालीको यो कथा बाँकी देशका लागि अचम्मको कुरा हैन त ?

प्रेमलाई धेरैले सल्लाह दिएका थिए– किताबको नाम कोग्ले नराख, यो त गाउँकै बेइज्जत हुन्छ । माझफालीहरू कोग्लो खान्छन् भन्ने डोल्पालाई त थाहा थियो, थियो, अब सिंगो देशलाई नै थाहा हुने भयो ! कतिपय स्थानीय गन्नेमान्ने उनीसँग रिसाए रे, किताबको नाम कोग्ले राख्यो, गाउँकै बेइज्जत भनेर ।

कोग्लो शब्दले माझफालको बेइज्जत गर्‍यो, गरेन तर प्रेमको कोग्ले किताबले भने डोल्पाको इज्जत देशभरि पक्कै बढायो । प्रेमले माझफालका कोग्लेहरूको आँसु, संघर्ष र सपना देशभरि बाँडेका छन् आफ्नो किताब मार्फत् ।

किताबमा थुप्रै स्थानीय शब्दहरू आउँछन् । वाक्य र सन्दर्भअनुरुप त्यसको अर्थ अनुमान गर्न सकिन्छ तर यकिन भन्न सकिन्न । जस्तै– मैडा, उजो, बोबो, टाटे, लोप्चा, थाडा, कद्दु आदि । कतिपय स्थानीय संवादलाई पनि उनले जस्ताको त्यस्तै राखेका छन् । वाक्यको अन्त्यमा ‘धौ’ कुन प्रयोजनका लागि प्रयोग हुन्छ, पुरै किताब पढी सक्दा पनि मैले बुझ्न सकिनँ ।

सन् १९८८ मा जन्ममिति बताएका प्रेमको उमेर अहिले नै आत्मकथा लेख्न सायद पर्याप्त हैन । कोग्लेलाई प्रेमको आत्मकथा मान्न सकिन्नँ । यो उनको बाल्यकाल र किशोर वयका सम्झनाहरूको श्रृंखलाबद्ध कथा हो । यो कथामा प्रेम आफ्नो जीवन र अनुभूतिमार्फत् डोल्पाको दुःख उधिन्छन् । डोल्पाका आँसुहरू चुहाउँछन् । ती आँसुहरूले पाठकहरूलाई हृदयदेखि नै छुन्छन् र रुने बनाउँछन् । कोग्ले पढ्दापढ्दै बेलाबेला रोएँ मै पनि ।

तर कोग्लेले आँसु मात्र बाँड्दैन, माझफालीहरूको संघर्षको कथा पनि बताउँछ । प्रेम आफैंले चामलको लाइन बसेका छन् । दुनैबाट चामल बोकेर माझफाल फर्किंदा ओडारमा भोकै बास बसेका छन् । जंगलको बीचमा वन्यजन्तुको भयसँगै रात बिताएका छन् । आक्कलझुकल नेपालगञ्जबाट जुफाल जाने जहाजको टिकटका लागि बारम्बार तड्पिएका छन् ।

धुलोमा कपुरी लेखेका प्रेम झरीले धुलोको क मेटाइ दिँदा रोएका छन् । तर उनको क प्रेम शिक्षाप्रतिको मोहका रुपमा प्रकट हुन्छ । त्यसैले उनलाई लिकु पुर्‍याउँछ । जहाज चढाएर नेपालगञ्ज र नेपालगञ्जबाट बस चडेर पोखरा पुर्‍याउँछ । पोखराबाट काठमाण्डौं पुर्‍याउँछ ।

उनी दुर्गमबासी विद्यार्थीको पीडालाई संघर्षको गाथा बनाउँछन् । उनी भन्छन् कि पर्वतका विद्यार्थीलाई १५ हजारले महिनौंको खर्च पुग्छ पोखरामा हामी डोल्पालीहरूले पोखरा आइपुग्न मात्र १५ हजार खर्च गर्नु पर्दछ । डोल्पालीहरू पैसा नभएर गरिब भएका हैन रहेछन्, पैसाको मूल्य कम हुने ठाउँमा जन्मिएर गरिब भएका रहेछन् । नभन्दै प्रेमले देखाएको यार्सागुम्बाको आम्दानी राम्रै देखिन्छ । प्रेम आफैं यार्सा टिपेर पढाई खर्च जुटाउन लेकाली डाँडाहरूमा हिंडेका छन् ।

यार्साको आम्दानी डोल्पालीहरूको अतिरिक्त आय हो । नियमित आय कृषि र पशुपालनभन्दा अरु देखिन्न फेरि पनि । अन्न नबिक्ने गाउँमा कृषिको आय कति हुँदो हो ? पशुपालनको आय कति हुँदो हो ? सहजै अनुमान गर्न सकिन्छ । तथापि मानिस अझै त्यहाँ अस्तित्वको लागि संघर्ष गरिरहेकै छन् । कुनै दिन कर्णालीसँगै डोल्पा र माझफालको कायाकल्प हुने सपना बुनेकै छन् ।

कोग्ले मार्फत् प्रेमले ती सपनाहरूको माला बुनेका छन् । निक्कै लामो र सुन्दर भविष्यको माला । प्रेमका आँखामा डोल्पा र माझफालको सपना आएर बस्छ । कस्तो कर्णाली चाहन्छन् कर्णालीबासीहरू, कस्तो डोल्पा चाहन्छन् डोल्पालीहरू, कस्तो माझफाल चाहन्छन् कोग्लेहरू, त्यसको रेखाकृति समेत कोर्छन् प्रेमले ।

कताकति उनी डोल्पाको राजनीतिक इतिहासलाई समेत उद्धिन्छन् । २०३२ साल अघि यो जिल्ला थिएन । जुम्लाको तिब्रीकोट र बागलुङको उत्तरपश्चिम क्षेत्र जोडेर बन्यो डोल्पा । पञ्चायतको लामो कालखण्डसम्म यहाँ नरबहादुर बुढाथोकी र मोतीलाल पहाडीको रजगज रह्यो जसलाई डोल्पालीहरू ‘नरे–मती युग’ भन्दा रहेछन् । बुढाथोकी त पछि एमाले पनि भए, एमाले भएर पनि सांसद जिते । यो युगका आफ्नै सीमाहरू थिए । त्यो एक प्रकारको सामन्ती युग थियो, जनआकांक्षाले राजनीतिको केन्द्रभागमा महत्व पाउँदैनथ्यो ।

तर लोकतन्त्र र गणतन्त्रले पनि डोल्पामा राम्रा नेताहरू नजन्माएको गुनासो छ प्रेमको । राजनीतिमा पैसावाल र ठेक्केदारहरूको बोलाबाला भएको गुनासो गर्छन उनी । उनीहरूले डोल्पाको विकासलाई ठीक ढंगले अघि नबढाएको स्थिति चित्रण गर्दछन् । डोल्पामा किताब, उज्यालो र रैथाने खाद्यन्न अभियानको आफैं अभियन्ता हुन उनी । पछिल्लो समय उनी आफैं कर्णाली समाजको नेतृत्व समेत गरिरहेका छन् । एक भिन्नै प्रकारको सामाजिक अभियन्ताको भूमिका र परिचय स्थापित गरेका छन् उनले ।

अझ रोचक कुरा भर्खरै उनी जनता समाजवादी पार्टीको जिल्ला अध्यक्ष समेत भएका छन् । ‘मधेसवादी’ भनिएको दललाई पश्चिमी पहाडको विकट हिमाली जिल्लामा स्थापित गर्ने बेजोडको प्रयत्न गरिरहेका छन् । जसपामार्फत् उनी डोल्पाली राजनीतिमा एक फरक र वैकल्पिक प्रयोग गर्ने प्रयत्न गरिरेहका छन्, जुन किताबमा उल्लेख नभएको पाटो हो ।

कर्णाली नबुझी सिङ्गो नेपाल बुझ्न सकिँदैन । प्रेमको कोग्लेले कर्णालीको डोल्पा बुझ्न निक्कै मद्दत गर्दछ । एक फरक प्रकारको शैली र लेखकीय क्षमता पाइन्छ कोग्लेमा । उनी एक जिज्ञासु विद्यार्थी, भावुक युवा, समर्पित सामाजिक अभियन्ता र नयाँ राजनीतिक कार्यकर्ता मात्र हैन, लेखकका रुपमा पनि सफल हुने पर्याप्त छनक कोग्लेले दिन्छ ।

अन्त्यमा प्रेमको सफल लेखकीय भविष्यको कामना गर्न चाहन्छु । लेखिरहून् उनी । उनको लेखनीमा माझफाल, डोल्पा र कर्णालीका सपनाहरू झनझन तिख्खर हुँदै जाऊन् । हार्दिक शुभकामना !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay