हरिहर–सावित्री स्मृति पुरस्कार नेपालीलाई
काठमाडौं, ९ फागुन । नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ साहित्यकार राजेश्वर नेपालीलाई हरिहर–सावित्री स्मृति पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको अपराजिता फाउण्डेशनद्वारा आयोजित कार्यक्रमका बीच उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा त्रिवि केन्द्रीय हिन्दी विभागका प्रमुख डा सञ्जिता वर्माले उनलाई रु पाँच हजारसहित सम्मानपत्र प्रदान गरिन् । सो अवसरमा उनले भनिन्, ‘वरिष्ठ पत्रकार तथा साहित्यकार नेपालीको लामो हिन्दी पत्रकारिता तथा हिन्दी सेवाको लागि फाउण्डेशनले हरिहर–सावित्री स्मृति पुरस्कार प्रदान गरेको छ, उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
पुरस्कृत व्यक्तित्व नेपालीले आफूले पत्रकारिता र साहित्य साधनाका लागि विसं २०४३ देखि अहिलेसम्म दर्जनौँ पुरस्कारबाट पुरस्कृत तथा पाँच दर्जनभन्दा बढी संस्थाबाट सम्मानित भए तापनि फाउण्डेशनले आज पुरस्कृत गरेकामा सम्वद्ध सबैलाई धन्यवाद दिए । उनले भने, ‘यसले मलाई अझ निर्भिक पत्रकारिता र साहित्य साधनामा थप ऊर्जा प्रदान गर्नेछ ।’
वरिष्ठ साहित्यकार चन्द्रशेखर राय चमनले नेपालीको ६ दशकको दीर्घ पत्रकारिता तथा साहित्य साधना सबैका लागि प्रेरणाप्रद रहेको बताउँदै फाउण्डेशनले पुरस्कार प्रदान गरेर प्रशंसनीय काम गरेको बताए ।
नेपाल पत्रकार महासङ्घ धनुषाका सचिव पुरन साह, नेपाल प्रेस युनियनका पूर्वजिल्ला अध्यक्ष कमल साह, नेपाल हिन्दी प्रतिष्ठानका वरिष्ठ सदस्य जनकनन्दनी शरण, राजनन्दनप्रसाद साह, कैलाश प्रसादलगायतले साहित्यकार नेपालीले पत्रकारिता र साहित्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे ।