स्पेनिस लालिगा: अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो
काठमाडौं, १० फागुन । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई क्याडिजले १-१ को बराबरीमा रोकेको हो ।
बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी तथा क्याडिजका एलेक्स फर्नान्डेजले गोल गरेका थिए । दुवै गोल पेनाल्टीमार्फत भएका थिए ।
खेलको ३२औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई जीतबाट वञ्चित गराए ।
बराबरीपछि तेस्रो स्थानको बार्सिलोनाको ४७ अंक पुगेको छ । शीर्षस्थानको एट्लेटिकोको ५५ र दोस्रो स्थानको रियलको ५२ अंक छ । १४औं स्थानको क्याडिजको २५ अंक छ । बार्सिलोनाले रियलभन्दा १ खेल कम खेलेको छ ।