प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पुलको शिलालेख तोडफोड
दाङ, १० फागुन । दाङको देउखुरीस्थित राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख एक महिना नबित्दै तोडफोड भएको छ ।
सिसहनिया-महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरण समेत गरेका थिए । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड गरिएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय गढवाले शिलालेख तोडफोड गरेको बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ । शिलालेखमा लेखिएको विवरणमा त्रुटि भएको विषयमा उद्घाटनको दिन महादेवा क्षेत्रका स्थानीयबासिन्दाले सुझाव दिएका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल मंसिर २२ गते शिलान्यास गरेका थिए । झण्डै एक अर्ब रुपैयाँको लागतमा बनेको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।