scheduleसोमवारफाल्गुन २४ गते, २०७७

बाइडेन प्रशासनले अमेरिकाको महाशक्ति कायम राख्ला कि गुमाउला ?

रोबर्ट कागन

सबै ठूला शक्तिसँग ऐतिहासिक अनुभव, भूगोल, संस्कृति, विश्वास र जनश्रुतिहरूले बनेका आफ्नै गहिरा अन्तर्जनित स्व–धारण हुन्छन् । आज पनि धेरै चिनियाँहरू शताब्दिऔं लामो तिरस्कार अघिको आफ्नो चुनौतिहीन शासन, चमत्कारिक सभ्यता र महानतालाई पुनर्प्राप्ति गर्ने लालसा राख्दछन् । रुसीहरू आफ्नो सोभियत काल सम्झेर नोस्टाल्जिक हुन्छन्, जतिखेर पोल्याण्डदेखि ब्लादिभोस्टकसम्म उनीहरूको शासन र महाशक्ति थियो ।

हेनरी किसिन्जरले एकपटक भनेका थिए कि इरानीहरू अझै पनि आफ्नो नेताको छनौट आफूलाई एक महान राष्ट्र ठानेर वा महान राष्ट्र बन्ने आकांक्षासंग जोडिएर गर्ने गर्दछन् । उनीहरूको स्व–धारणा राष्ट्रको स्वार्थ, त्यसको सुरक्षा, कारबाही र त्यसलाई चाहिने स्रोतहरू हासिल गर्नुपर्ने सम्भावनाबाट आकारित हुन्छ ।

यस्तै स्व–धारणाहरूले राष्ट्र, साम्राज्य र नगर–राज्यहरूलाई अगाडि बढाउँदछन् । अगाडि मात्र बढाउँदैनन्, कहिलेकही विनाश पनि निम्त्याउँछन् । विगत शताब्दिका महाशक्तिहरूको आकांक्षाको नाटक र त्यसको परिणाम उनीहरूको क्षमताभन्दा बढी थियो ।

अमेरिकाको भने यसको ठीक विपरित समस्या छ । विश्व शक्तिको यसको क्षमता यसको स्व–अवधारणाको कारणले विशेष स्थान र विश्वभरिको भूमिकामा विस्तारित छ । यसले नाजीवाद र जापानी साम्राज्यवादको चुनौति समाना गर्नु परेको बेला होस् वा सोभियत साम्यवादको वा अतिवादी इस्लामिक आतंकवादको, यी कुनै घटना विरुद्धको वैश्विक अभियानलाई अमेरिकाले सामान्य ठानेन । जीवनको सामान्य गतिशीलतालाई हानी पनि पुर्‍याएन ।

यहाँसम्म कि इन्टरनेट, लामो दुरीका क्षेप्रास्त्र र अन्तर्निभर विश्व अर्थतन्त्रको युगमा समेत विश्वका विभिन्न आँधीबेरीहरूबाट जोगिदै अमेरिकीहरूले समान्य जीवनको मनोविज्ञानलाई कायम राखे । अमेरिकीहरू कहिल्यै पनि अगलाववादी वा एकांकी भएका छैनन् ।

आपतकालीन अवस्थामा समेत टाढा–टाढासम्म असाधारण प्रयासहरू गर्न अमेरिकीहरूलाई मनाउन सकिन्छ । तर अमेरिकीहरू असाधारण परिस्थितिमा असाधारण प्रतिकार्यहरू गर्न चाहन्छन् । उनीहरू आफूलाई निश्चित प्रकारको विश्वव्यवस्थाका प्राथमिक प्रतिरक्षक मात्र ठान्दैनन् । अमेरिकाले कहिल्यै कुनै अपरिहार्य भूमिकालाई मात्र अँगालेको छैन ।

रोबर्ट कागन

यस्तो सोचको परिणामस्वरुप अमेरिकाले अक्सर खराब खेल खेलिरहेको हुन्छ । अमेरिकाको महादेशीय दृष्टिकोण यदाकदा जंगलीपनको दोसाँधसम्म पुग्ने गर्दछ । भावशून्यता, आतंक र हस्तक्षेपको उपायसम्म पुग्ने गर्दछ । जस्तो कि अमेरिकाले अफगानिस्तान र इरानमा कम खर्चिलो सैन्य कार्वाहीको रणनीति अपनायो, जसले गर्दा ती देश सदावहार युद्धमा फस्न पुगे । यी दुवै घटनामा अमेरिकीहरू ढोकाबाट एउटा खुट्टाभित्र हालेर अर्को बाहिर हुँदै निस्किए, जसले गर्दा परिणाम सोचेजस्तो आएन ।

यस्तो अन्यमनस्क दृष्टिकोणले सहयोगीहरूलाई अल्मल्याएको छ । विरोधीहरूलाई बहकाएको छ । शान्ति, स्थीरता र उदार विश्वको आकांक्षाप्रतिको अमेरिकी भूमिकालाई कमजोर बनाएको छ । अमेरिकादेखि जर्मनीसम्म, सोभियत संघदेखि जापानसम्म, इरानदेखि सर्वियासम्म बीसौं शताब्दिको इतिहास गलत अनुमान र गलत निर्णयद्वारा परिचालित नेताहरूको लासले ढाकिएको छ । एक्काइशौं शताब्दिमा ठीक त्यही ढाँचा अपनाउनु खतरनाक हुन्छ । विशेषतः अमेरिका र चीनले त्यस्तो दुर्भाग्यको पासोबाट बाहिर निस्कने बाटो खोज्नै पर्छ । विशेषतः ट्रम्पको ४ वर्षे शासनकालपछि यी देश सिधा संवादको अवस्था छन् ।

विशेषतः विश्व महाशक्तिहरू आफ्ना इतिहासका गौरवहरूलाई पुनर्प्राप्ति गर्न चाहन्छन् । सीमित अन्तर्राष्ट्रिय भूमिका अमेरिकी इतिहास, अनुभव र मिथबाट उब्जिएको प्राथमिकता हो । राष्ट्रहरूको युवाअवस्थाको निर्दोषिता र कम महत्वाकांक्षा नै अमेरिकी पुनर्प्राप्तिको लालसा हो ।

अमेरिका स्थापित भएका प्रारम्भिक दशकहरूमा यसले महाशक्ति राजतन्त्रात्मक मुलुकहरूसंग कमजोर नयाँ गणतन्त्रका रुपमा संघर्ष गर्नु गरेको थियो । अमेरिकीहरूले उन्नाइशौं शताब्दि स्वार्थ र आत्मशोषण, महादेशीय विजय र दासता विरुद्धको संघर्षमा नै बिताए । तर, बीसौं शताब्दिको प्रारम्भतिर अमेरिका विश्वकै धनी र सम्भावित महाशक्ति बन्यो । तर यसका आफ्ना भिन्नै प्रतिबद्धता र उत्तरदायित्व भने थिएनन् ।

अमेरिकाको उदय एक दयालु विश्व व्यवस्थाको छाहरीमुनी भएको थियो । उसले आफूलाई जोगाउन कसैलाई आक्रमण गर्नु पर्ने वा कसैबाट खतराको अनुभूति गर्नुपर्ने अवस्था थिएन । बेलाइती इतिहासकार जेम्स ब्राइसले सन १८८८ मा अमेरिकाबारे यस्तो लेखेका थिए– ‘युरोपका जाति, विश्वास र संघर्षबाट टाढा, आक्रमणबाट सुरक्षित, जोखिमबाट सुरक्षित, इपिक्युसका देवताहरूले पृथ्वीका दुख्ख र गनगनहरूबाट जोगाएर सुनौलो घरमुनी राखेको ठाउँ, अमेरिका गृष्म ऋतुको समुन्द्रमा तैरिरहेको छ ।’

तर जब विश्वले कोल्टे फेर्‍यो, अमेरिका अचानक आफैं विश्वको केन्द्रमा आइपुग्यो । संयुक्त अधिराज्यले नेतृत्व गरेको युरोप केन्द्रित विश्व व्यवस्था समाप्त भयो । जर्मनीको उदय र ध्वंसले युरोपमा अर्को प्रकारको सन्तुलन बनायो । युरोपेलीहरूले विश्वशक्तिको रुपमा उदित हुने क्षमता गुमाए । बेलायती प्रभुत्व अन्तर्गत अमेरिका र जापानको समानान्तर उदयले अन्ततः बेलायतकै अन्त्यको लागि योगदान गरे ।

युरोप–केन्द्रित विश्व व्यवस्था जब प्रतिस्थापित भयो, भूराजनीतिका नयाँ आयामहरू अगाडि आए र अमेरिकाको नयाँ स्थान कायम भयो । अमेरिका प्यासिफिक र एटलान्टिक– दुवै शक्ति बन्यो । राष्ट्रपति थियोडोर रुजबेल्टका शब्दमा ‘विश्वलाई सन्तुलन गर्ने’ शक्ति बन्यो । विश्वमा यस्तो शक्ति यस अघि कहिल्यै बनेको थिएन । यही शक्तिको आडमा रुजबेल्ट र विन्ड्रो विल्सनले उदार विश्व प्रणालीलाई अघि बढाए । अमेरिकाको शक्ति सामु युरोपका मात्र हैन, विश्वका सबै महाशक्तिहरू कमजोर र फिका हुँदै गए । तर अमेरिका अझै पनि आक्रमक राज्य थिएन ।

पर्ल हारबरमाथिको जापानको आक्रमणले यस्तो स्थितिको अन्त्य गर्‍यो । तर थुप्रै अनुत्तरित प्रश्नहरू पनि सँगसँगै सृजना भए । जापान माथिको आक्रमणलाई अमेरिकीहरू युद्ध हैन, प्रतिरक्षा ठान्दथे । तर शीत युद्धको अबधिमा यो आत्मविश्वास मिथ्या हुँदै गयो । अमेरिकाले कोरिया र भियतनाममा युद्ध गर्यो । अफगानिस्तान र इराकमा युद्ध गर्‍यो ।

विश्वका सयौं स्थानहरूमा अमेरिकी सेनामा टुकडीहरू राखिए । अमेरिकाले आर्थिक, कुटनीतिक संगसंगै राजनीतिक र सैनिक हस्तक्षेपहरू पनि शुरुवात गर्‍यो । यस्ता कदमहरू उदार विश्व व्यवस्था, विश्वशान्ति र आर्थिक संमृद्धिका लागि सहयोगी भएनन ।

शीतयुद्ध कालमा यस्ता कदमलाई अमेरिकीहरूले यसर्थ उचित ठाने कि उनीहरू साम्यवादको भय अनुभूति गर्थे । जापान र कोरिया युद्धले नेटोको स्थापनालाई सम्भव बनायो साथै भियतनाम युद्ध निम्त्यायो । तर जब शीतयुद्धको अन्त्य भयो, अमेरिकी धारणा र वास्तविकता बीच तालमेल देखिएन । अमेरिकाका लागि साम्यवाद त्यति ठूलो जोखिम बनेन जति बन्छ भन्ने ठानिएको थियो । इराक युद्धको औचित्य पुष्टि गर्न जुन तर्कहरू राष्ट्रपति बुसले गरेका थिए, ती पनि पर्याप्त थिएनन् ।

सन् १९९० मा सिनेटर जिन क्रिकप्याट्रिकले महाशक्तिको हैसियतबाट अब ‘सामान्य राज्य’ मा फर्किनु पर्दछ भनेका थिए । यसको अर्थ युद्ध र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भन्दा नागरिक सुरक्षा, रोजगारी, आर्थिक समृद्धि र सामञ्जस्यतापूर्ण उदार लोकतान्त्रिक राज्यमा फर्किनु थियो । तर, जति नै सामान्य बन्ने भने पनि अमेरिकाका त्यति स्वार्थहरू त अवश्य छन् जति एक राष्ट्रका स्वार्थहरू हुन्छन् ।

समस्य के हो भने अमेरिका न विगत शताब्दिमा सामान्य राष्ट्र रह्यो न उसका स्वार्थहरू सामान्य हुन सके । अद्धितीय शक्तिले अद्धितीय भूमिका खोज्ने नै भयो । अमेरिकी चाहनाले मात्र अमेरिका विश्वशक्ति बनेको थिएन, त्यस अघिको महाशक्ति र विश्वव्यवस्था टुटेको कारणले अमेरिकाले त्यो भूमिका गर्नु परेको थियो । अमेरिकासँग अझै एक सामान्य राष्ट्र हुने लालसा नभएको हैन, तर उसको शक्ति र भूराजनीतिक भूमिकाले नै त्यसलाई सीमित हुन दिँदैन ।

अहिले अमेरिका कमजोर भएको छ भन्ने धेरैको बुझाई छ । तर, पृथ्वी त गोलो छ, घुमिरहन्छ । अमेरिका यो घुम्ने गोलोभन्दा बाहिर छैन । त्यो समय सोभियत संघले करिब आधा युरोपलाई नियन्त्रण गथ्र्यो । चीन जापानको भागमा पर्थ्यो । आज सोभियत संघको ठाउँ युरोपियन युनियन र जापानको ठाउँ चीनले लिएको छ । एशियाली देशहरू आफै नयाँ आर्थिक शक्ति बन्दैछन् । यस्तो बेला अमेरिकाको विश्व सन्तुलन गर्ने शक्तिको औचित्य सामान्य राष्ट्रमा फर्किहाल्ने देखिन्न ।

पक्कै ट्रम्पको ४ बर्षे शासनकालमा अमेरिकाको शक्ति र भूमिकाबारे प्रश्न उठेका थिए । ट्रम्पका अधिकांश विश्व नीतिहरू इरादाहीन, उदण्ड र गलत अनुमानमा आधारित थिए । ट्रम्प शासनकालमा अमेरिकाको भूमिकालाई लिएर आशंका उब्जिनु स्वभाविक थियो । चीन उदयको अवधारणालाई ट्रम्प शासनकालमा कमजोरीहरूले पर्याप्त अभिप्रेरित गरेका थिए । ‘चिनियाँ सपना’ को नारा अमेरिकाको अधोगतिको कल्पना विना बन्न सक्ने थिएन । अमेरिका विश्व मामिलाबाट पलायन हुन सक्दछ वा पलायन हुन मिल्दछ भन्ने धारणा त्यस बीचमा बने ।

तर आज समयले के भनिरहेको छ भने अमेरिका विश्व उत्तरदायित्वबाट पलायन हुन सक्दैन । अमेरिका विश्वबाट भागेर कहाँ जाने ? अमेरिकाको भिन्नै धर्ती त छैन । अमेरिकाको शक्ति र सामर्थ्यले भूमिका खोज्ने धर्ती यही हो । अब नेटोजस्ता संगठनले केवल अमेरिका र यसका गठबन्धनहरूको प्रतिरक्षा मात्र गर्ने हैन, उदार विश्वव्यवस्था र यसका स्वार्थहरूलाई नै सेवा गर्न सक्दछ ।

उदार विश्व व्यवस्था कायम राख्न न सजिलो छ न यो कम खर्चिलो छ तर यसको विकल्पभन्दा चाहिँ यही उपयुक्त छ । अमेरिकाले यो ठहर आफ्ना जनतालाई इमान्दारिताका साथ भन्न सक्नु पर्दछ । नेताहरूले अमेरिकी स्वार्थहरूलाई धोका दिइरहेका छन् भन्ने भ्रम र रिस अहिले छ ।

यसको जवाफमा चीनलाई देखाएर मात्र हुँदैन । चीनले सृजना गर्ने जोखिम र भयभन्दा स्वयं उनीहरूले सृजना र स्थापना गरेको विश्वव्यवस्था बढी महत्वपूर्ण हो भनेर आवश्वस्त पार्न पर्दछ । जो बाइडेन र उनको नयाँ प्रशासनको मुख्य उत्तरदायित्व नै यही हो ।

द फोरेन अफेयर्सबाट संक्षेपीकरणसहितको भावानुवाद ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay