scheduleसोमवारफाल्गुन २४ गते, २०७७

पूर्वराजा ज्ञानेन्द्रले पनि पठाएका थिए सेनालाई सर्वोच्चमा

काठमाडौं, ११ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भएको भेटले नेपाली राजनीति तरंगित बनिरहेको छ ।

सोमबार दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको हो । प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

क्याभलरीको जग्गा सर्वोच्च अदालतको नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको सर्वोच्च अदालत स्रोतले पनि स्पष्ट पारेको छ । अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालत परिसरको निरीक्षण गरेका थिए र अदालतको परिसर साँघुरो भएको प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री अहिले रक्षामन्त्रीको पनि जिम्मेवारीमा छन् । सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको बेला भएको भेटघाटलाई कतिपयले सामान्य घटनाको रुपमा चित्रण गरेका छन् ।

यो बिषयमा छलफल भएको भनिएपनि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर हेर्दाहेर्दैमा रहेको बेला भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता हत्याएको बेला पनि सेनालाई अदालत खटाइएको नजिर रहेको कतिपयले स्मरण गर्न थालेका छन् ।

राजा ज्ञानेन्द्रको सत्ताले कानुनमन्त्री, निजामती र प्रधानसेनापतिलाई समेत परिचालन गरेर शाही आयोग जोगाउन मेहनत गरेको थियो । यस विषयमा न्यायाधीशसँग संवाद गर्न ज्ञानेन्द्रले सेनालाई नै परिचालन गरेका थिए ।

त्यतिबेला न्यायाधीश रहे पनि पछि प्रधानन्यायाधीश बनेका मीनबहादुर रायमाझीले आफ्नो किताब ‘न्यायपालिकामा चार दशक, मेरा सम्झना’मा यी प्रसंगहरु उल्लेख गरेका छन् ।

रिटको सुनुवाइ गर्न तत्कालीन प्रधानन्यायाधीश दिलीपकुमार पौडेल नेपालबाहिर थिए । उनीबाहेकका वरिष्ठताका क्रमले पाँचजना न्यायाधीश केदारप्रसाद गिरी, रायमाझी, रामनगिना सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठको विशेष इजलास गठन गरिएको थियो । विशेष इजलास गठन भएपछि विशेष इजलासमा २३ भदौ ०६२ देखि २९ मंसिरसम्म १७ दिन सुनुवाइ चलेको थियो ।

यस्तो छ पुस्तकको अंश-

-विशेषतः कानुन तथा न्यायमन्त्री भएकाले होला निरञ्जन थापा र प्रधानसेनापति (प्यारजंग थापा)लाई खास चासो रहेको थियो ।

… मेरो जवाफ ‘संविधान, कानुनबमोजिम हुने हो, सुनुवाइ हुँदै छ, हेरौँ’ भन्नेसम्म हुन्थ्यो । प्रधानसेनापतिले सेनाका बहालवाला र अवकाशप्राप्त अधिकारीहरू मेरो नजिकमा को–को छन्, खोज्नुहुँदो रहेछ । अनि, मकहाँ पठाई के भन्दोरहेछ, बुझ्ने प्रयास गर्नुभएको मैले दुई–चारजनाको कुराबाट बुझिहालेँ ।’

– एक दिन मलाई प्रधानन्यायाधीश पौडेलले आफ्नो च्याम्बरमा बोलाउनुभयो । म गएँ । उहाँले शाही आयोगकै कुरा गर्न थाल्नुभयो, ‘राजाले केही सुधार गर्न खोजिबक्सेको छ । तपाईंको सहयोग चाहिएको छ । तपाईंले सहयोग गर्नुहोस् । तपाईंलाई पनि केही हुन्छ’ भन्नुभयो ।’

– म त आकाशबाट खसेजस्तै भएँ । म जिल्ला अदालतदेखि सर्वोच्च अदालतको न्यायाधीश हुँदासम्म प्रधानन्यायाधीश, न्यायाधीश, आफ्ना साथी कसैको पनि मुद्दा–मामिलामा सिफारिस सुन्नुपरेको थिएन । दिलीपजीमा कसरी यो हिम्मत आयो ? कहीँबाट ज्यादै दबाब पर्‍यो होला भन्ने मनमनै लाग्यो । मैले सबैलाई दिने गरेको उत्तर उहाँलाई पनि दिएँ, ‘म कालोलाई सेतो भन्न सक्तिनँ । मैले मात्र पनि केही गर्ने होइन । बहस हुँदै छ । हेरौँ, के हुन्छ ?’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay