scheduleआइतवारबैशाख ५ गते, २०७८

आगामी सत्ता समीकरणः के गर्दैछन् दलहरु ?

फाइल फोटो

 

काठमाडौं, १४ फागुन । संसद पुनःस्थापना गर्ने सर्बोच्च अदालतको फैसलापछि आगामी सत्ता समीकरणका लागि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा जुटेका छन् ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निर्णय गरेको छ । विहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनस्र्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो ।

बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको जानकारी गराउँदै अब के गर्ने भनेर सुझाव मागेका थिए । नेकपा प्रचण्ड नेपाल समूहका नेताहरुले हिजै जनता समाजबादी पार्टीका नेताहरुसँग मिलेर जान प्रस्ताव गरेका छन् ।

सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले जसपाका नेताहरुसँग छलफल गरेका हुन् । छलफलपछि राजपाका नेता राजेन्द्र महतोले आफूहरूका माग पूरा गर्नेसँगै सहकार्य हुने बताए ।

नेकपाको दाहाल-नेपाल समूहले संसदको पहिलो बैठकमै प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएको छ । पार्टी विभाजनबिनै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कुरा अराजनीतिक र अनैतिक हुने कतिपयले टिप्पणी गर्ने गरेका छन् । कुनै पनि कुरामा अगाडि नबढ्दा ओली समूहले नै यत्तिकै देश चलाइरहने दाहाल नेपाल समूहको ठम्याइ छ ।

निर्वाचन आयाेगले विभाजनकाे मान्यता नदिने, ओलीले संसदीय दलकाे बैठक नबोलाउने, संसद पनि नबोलाउने अवस्था सिर्जना गर्ने हो कि भन्ने आशंका कतिपयले व्यक्त गरिरहेका छन् । तर यस्तो नहुने राजनीतिक जानकारहरु बताउँछन् । यदि यसो गरेमा ओलीको निचता मात्र नभएर असक्षमता पनि हुने भएकोले त्यस्तो बाटोमा ओली नहिंड्ने ओली समूहकै नेताहरुको तर्क छ ।

ओलीलाई बहुमत पुर्‍याउन अप्ठेरो पर्दा कांग्रेसले साथ दिने सम्भावना नरहेको र प्रधानमन्त्री पदमा कांग्रेसले नै दावी गर्ने सम्भावना पनि रहेको जानकारहरु बताउँछन् । कांग्रेसले ओलीलाई पनि नसघाउने र दाहाल-नेपाल समूहलाई पनि नसघाउने अवस्थामा विकल्प कांग्रेस नै हुने देखिन्छ ।

यद्यपि कांग्रेसभित्र पाँच वर्ष प्रतिपक्षमा नै बस्नुपर्ने माग पनि जोडले उठिरहेको छ । ठूला दलहरुको खिचातानीको बीचमा चौथो दल जसपाबाट पनि प्रधानमन्त्री हुन सक्ने वा दल बाहिरबाट चुनावी सरकार बन्ने दिशामा पनि मुलुक जान सक्ने अनुमान कतिपय राजनीतिक विश्लेषकहरुले गरिरहेका छन् ।

नेकपाभित्र तिक्तता चुलिएको छ । एकले अर्कोलाई नसघाउने अवस्थामा उनीहरु छन् । यस्तो अवस्थामा ओली समूहले पनि सकेसम्म अविश्वासको प्रस्ताव फेल गराएर आफ्नै कार्यकाल लम्ब्याउने र सम्भव नभए आफ्नो प्रस्तावमा देउवालाई प्रधानमन्त्री बनाउने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay