scheduleमगलवारबैशाख ७ गते, २०७८

निगम सुधारका एकजना सुत्रधारः पाइपलाइनको परियोजना पूरा गरेपछि थानकोटमा चमत्कार

काठमाडौं, १४ फागुन । मिहिनेत गर्नेले हरेक समस्यामा अवसर देख्छ, अल्छीले प्रत्येक अवसरमा समस्या मात्रै देख्छ । हिलोमा कमलको फूल फुल्नु श्रृष्टिको सुन्दरता मात्रै होइन, मानव जातिको लागि एउटा पाठ पनि हो । यस्तो पाठ, जसले समस्याको सामना गर्न र यसबाट राम्रो परिणाम निकाल्ने सदैव प्रेरणा दिन्छ । यसलाई बुझ्ने र पालना गर्ने मान्छे अक्सर सफल पनि हुन्छ ।

सरकारको पूर्ण स्वामित्व भएको नेपाल आयल निगमभित्र केही त्यस्ता व्यक्ति छन्, जसले आफ्नो अगाडि रहेका सबै चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेर परिणाम निकाल्न सफल भएका छन् । प्रदीपकुमार यादव तीनै कर्मशील व्यक्तिमध्येका एक हुन् । हाल आयल निगम अन्तर्गत वाग्मती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख रहेका यादवले निगमले लिएका दूरगामी महत्वका योजनालाई सफल पार्दै गए । अहिले पनि निगम सुधारमा उनको योगदान उत्तिकै छ ।

पेट्रोलियम पदार्थको आयातका लागि भारतमै भर पर्दै आएको नेपालले वर्षौंसम्म ट्यांकरबाट तेल ओसारपसार गर्नुपर्थ्यो । नेपाली ट्यांकर व्यवसायीले भारतमा कति समस्या र पीडा झेल्नुपर्‍यो । चेकजाँच, बोर्डिङ पास लगायतका समस्याले समय र श्रमको निकै खर्च हुन्थो । त्यसमाथि नेपाली ट्यांकर चालकमाथि भारतीय व्यवहार पनि राम्रो हुँदैनथ्यो ।

अहिले नेपाल त्यही डिजेल पाइपलाइबाट आउन थालेको छ । नेपालमा माग हुने डिजेलमध्ये अधिकांश पाइपलाइनबाटै आउँछ । नेपाली सीमा नाकाभन्दा ३६ किलोमिटर वरबाटै त्यस्ता ट्यांकरहरुको लोड अनलोड गर्न सक्छन् । राष्ट्रिय रुपमै महत्वपूर्ण मानिएको यो परियोजनामा स्थलगत रुपमा प्रत्यक्ष नेतृत्व गर्ने व्यक्ति चाहिँ उनै यादव हुन् ।

अहिले पाइपलाइनबाट तेल आउन थालेको डेढ वर्ष बितिसकेको छ । यसबाट राज्यले अर्बौं रुपैयाँ बचत समेत गरिसकेको छ । राज्यले अर्बौं बचत मात्रै गरेको छैन, जनताले समेत इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ सस्तो पाएका छन् । पाइपलाइन परियोजना सम्झिँदै यादव भन्छन्, ‘पाइपलाइनको परियोजना पूरा गर्न निकै चुनौतीपूर्ण थियो । त्यो सफलतापूर्वक सकियो । यस्तो परियोजनामा काम गर्न पाउनु एउटा अवसर र गौरवको कुरा पनि हो, जुन मैले पाएँ ।’

देशकै सबैभन्दा ठूलो अमलेखगञ्ज डिपोको प्रमुख हुन निकै चुनौतीपूर्ण मानिन्छ । भारतबाट हुने आयात व्यवस्थापन मात्रै नभएर आन्तरिक आपूर्ति व्यवस्थापनमा पनि निकै चाप हुने भएकोले यो ठाउँको नेतृत्व गर्नेलाई दिनरात फुर्सद हुँदैन । आपूर्ति व्यवस्थापनमा अलिकति मात्रै समस्या आउँदा पनि देशभर अभावको सिर्जना हुने भएकोले त्यसलाई विशेष ध्यान दिनुपर्थ्यो । त्यसमाथि पाइपलाइन निर्माणमा समय दिनुपर्दा त्यतिबेला कामको निकै नै चाप हुन्थ्यो । तर, यसलाई अवसरकै रुपमा लिएर उनले दिनरात नभनी काम गरेका थिए ।

पाइपलाइन परियोजना पूरा भएपछि उनलाई वाग्मती प्रदेश कार्यालयको प्रमुख बनाएर पठाइयो । यसअन्तर्गत उनले थानकोट डिपोमा बसेर काम गर्नुपथ्र्यो । अमलेखगञ्जको तुलनामा कम चाप हुने भएकोले उनलाई केही समय आराम होस् भनेरै निगम नेतृत्वले यहाँ पठाएको थियो । यहाँ आएको उनी १ वर्ष हुन लाग्यो । तर, छोटो अवधिमै उनले डिपोको मुहार फेरिदिएका छन् । मिहिनेतीलाई अवसरको कमी हुन्न भन्ने उनले यहाँ पनि प्रमाणित गरेर देखाएका छन् ।

थानकोट डिपोमा सुधारको काम

 

यादवलाई निगमले अघिल्लो चैत ७ गते थानकोट डिपोको प्रमुख भएर पठाएको हो । उनी आउँदा यो डिपोमा समस्यै समस्या थियो । इन्धनको लोड अनलोडको काम भइरहेकै थियो । तर, त्यसको व्यवस्थापन निकै जर्जर थियो ।
मुख्य सडकबाट डिपोमा छिर्ने बाटोभरी ट्यांकरको अव्यवस्थित पार्किङ थियो । डिपोमा जाने बाटो धुलाम्मे थियो । ट्यांकरको अव्यवस्थित पार्किङले त्यतिबेला स्थानीयवासी समेत डिपोलाई बोझको रुपमा लिन्थे ।

समस्या पार्किङको मात्रै थिएन । लोड अनलोडको पनि थियो । यादव भन्छन्, ‘अति प्रज्वलनशील पदार्थ भएकोले पेट्रोल डिजेलको ढुवानी दिउँसो मात्रै गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । त्यसैले सकेसम्म ३ बजेभित्रै ट्यांकर छुट्यो भने ५ बजेभित्रै पम्पमा तेल पुग्छ । तर, त्यतिबेला ६ बजेसम्म पनि ट्यांकर छुट्ने नसक्ने अवस्था थियो । त्यसो हुँदा पम्पमा गएर तेल भर्दा रात पर्थ्यो ।’

समस्या त्यतिमात्रै थिएन । डिपोको आन्तरिक सुरक्षाको पनि थियो । दैनिक करिब ६ सय किलोलिटर पेट्रोल र ८ सय किलोलिटर डिजेलको सप्लाई हुने त्यो डिपोलाई सामान्य तारबारले घेरिएको थियो । जुन असाध्यै असुरक्षित मानिन्छ । डिपोमा तेल लिन जानेलाई बैंकमा पैसा तिर्ने, भौचर बुझाउने लगायतका काम गर्न दिनभर लाइन बस्नुपर्ने अवस्था थियो । कार्यालयका कर्मचारीको कार्यकक्ष समेत व्यवस्थित थिएन । ट्यांकर चालक र कर्मचारीका लागि राम्रो ट्वाइलेट र बाथरुपको व्यवस्था पनि थिएन ।

ती सबै समस्यालाई सुधार गर्नु यादवले यहाँको प्रमुख जिम्मेवारी माने । आएको दोस्रो दिनदेखि नै सुधारको कामलाई अघि बढाए । अहिले यी सबैजसो समस्या समाधान भइसकेका छन् । केही कामहरु अघि बढिरहेका छन्, त्यो सकिनेबित्तिकै यहाँको सुधारको काम एक हदले पूरा हुन्छ ।

खासगरी, यहाँ सबैभन्दा ठूलो समस्या रहेको पार्किङलाई व्यवस्थित गरिएको छ । निगमको स्वामित्वमा डिपोकै तल्लोपट्टि रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर ३ सय ट्यांकर अट्नसक्ने पार्किङ बनाइएको छ । पार्किङसँगै व्यवस्थित ट्वाइलेट बाथरुमको व्यवस्था गरिएको छ । यसले गर्दा अव्यवस्थित पार्किङको समस्या हल भएको छ ।

तेलको आपूर्तिमा भइरहको ढिलाई अन्त्य गर्न ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्यालाई बढाएर दोब्बर पुर्याइएको डिपो प्रमुख यादवले बताए । पहिले २ वटा पेट्रोल र २ वटा डिजेल प्वाइन्ट रहेकोमा अहिले २ वटा पेट्रोल र ६ वटा डिजेल प्वाइन्ट रहेको उनको भनाई छ । यादवले भने, ‘अहिले बिहान १० बजेदेखि लोडिङ सुरु हुन्छ । साढे २ देखि ३ बजेसम्म सकिइसक्छ । यसो हुँदा ५ बजेसम्म सम्बन्धित पम्पसम्म पुगेर तेल खन्याइसक्ने अवस्था हुन्छ । राती हुँदैन ।’ भुकम्पपछि क्षतिग्रस्त रहेको एउटा भर्टिकल ट्यांकीको मर्मत पनि उनैले गरेका थिए ।

सुरक्षा थ्रेटको सम्भावनालाई घटाउन यो अवधिमा सो डिपोलाई घेर्ने पक्की पर्खाल बनाइएको छ । यो पर्खाल ३ सय ७० मिटर लम्बाई र ११ फिट अग्लो रहेको उनले बताए । सो पर्खालमाथि सुरक्षाको लागि फलामे काँडेतार लगाइएको छ । उता डिपोको सुरक्षामा खटिने सेनाको आवासका लागि पनि निगमले छुट्टै क्वार्टर बनाउँदैछ । यो बनेपछि बाह्य सुरक्षा जोखिम समेत धेरै हदसम्म कम हुने यादवको विश्वास छ ।

त्यसो त, गेटदेखि मूल सडकसम्मको बाटोलाई निगमले आफ्नै खर्चमा कालोपत्रे गरिदिएको छ । डिपोको गेटनजिक रहेको सार्वजनक बाटो र निगमको बाटोलाई एउटै बनाएर विस्तार गरिएको छ । डिपोदेखि नवनिर्मित पार्किङसम्म जाने भागलाई समेत आफ्नै खर्चमा व्यवस्थित गरिएको निगमले जनाएको छ ।

कार्यालयभित्रको आन्तरिक अवस्था सुधारमा पनि यो अवधिमा निकै प्रगति भएको डिपो प्रमुख यादवले दाबी गरे । संरचना अभावकै कारण पहिले डिपोका अफिसरहरु एउटै कोठामा कोचिएर बस्नुपर्ने अवस्था थियो । अहिले सबैका लागि सहज रुपमा काम गर्नेगरी संरचना बनाइएको छ । सेवाग्राहीले लाइन बस्न नपरोस् भनेर क्यु—मेसिन राखिएको छ । वरपरको वातावरणलाई स्वच्छ राख्न खाली ठाउँमा दुबो र रुख रोप्ने काम समेत गरिएको उनको भनाई छ ।
कति भयो खर्च ?

यी सबै सुधारको काम हुन ६ करोडदेखि ७ करोड रुपैयाँ हाराहारीमा खर्च भएको बताइएको छ । कार्यालय संरचना निर्माण गर्न, बाउन्डिङ वाल लगाउन, पार्किङको क्षेत्रफल पिच गर्न, आवास तथा शौचालय बनाउन यी रकम खर्च गरिएको थियो ।

आफूहरुले थोरै खर्चमा नै धेरै सुधारका काम गर्न सकेको दाबी गर्दै यादवले आफ्नै साधन र स्रोतको प्रयोग गरेकोले यो सम्भव भएको बताए । पार्किङका लागि २०५९ सालमै निगमले किनेको ३९ रोपनी जग्गा भएकोले पनि यो सम्भव भएको हो ।

२०५५ सालमा निर्माण भएको यो डिपो २०५७ सालदेखि सञ्चालनमा आएको हो । सो डिपोमा अहिले १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ । ९ वटा भर्टिकल ट्यांकी र ५ वटा अन्डरग्राउन्ड ट्यांकीमा सो परिमाणमा भण्डारण क्षमता रहको हो । त्यसमध्ये यो डिपोबाट अहिले दैनिक ३ हजार किलोलिटर तेलको खपत हुन्छ ।

यी सबै सुधारका काम गर्न निगमको नेतृत्वले पनि उत्तिकै साथ दिएको यादवको भनाई छ । सबै सुधार तपाइँ आएरै सम्भव भएको हो त ? यादव भन्छन्, ‘बजेट त पहिले पनि थियो । काम चाहिँ भइरहेको थिएन । म आउने बित्तिकै खरिद प्रक्रिया सुरु गरेँ । काम अघि बढेपछि चालु आर्थिक वर्षमा बजेट पनि बढेर आयो । अरु प्राविधिक कामका लागि पनि नेतृत्वबाट निरन्तर सहयोग पाइयो । सबैको सहयोगले नै यो सम्भव भएको हो ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay